• १४ असोज २०८१, सोमबार

‘शैक्षिक विकासमा कलेजको भूमिका अब्बल’

blog

बागमती प्रदेशका भौतिक विकासमन्त्री अमनकुमार मास्केलाई मायाको चिनो प्रदान गर्नुहुँदै कलेज सञ्चालक समितिका अध्यक्ष चित्रवरध्वज थापा । तस्बिर : एनआर कलेज

काठमाडौँ, असोज १४ गते । बागमती प्रदेशका भौतिक विकासमन्त्री अमनकुमार मास्केले एन.आर. कलेजले शैक्षिक क्षेत्रको विकासमा अब्बल भूमिका निर्वाह गरेको उल्लेख गर्दै राजनीतिभन्दा माथि उठेर कार्य सम्पन्न गर्न सबैसँग आग्रह गर्नुभयो । 

सोमबार काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ११ मा रहेको एन. आर. कलेजले आयाेजना गरेकाे पहिलाे कलेज सभालाई सम्बोधन गर्नुहुँदै उहाँले आधुनिक र व्यावहारिक शिक्षा आजको आवश्यकता हो भन्नुभयो । 

सबैको साझा गन्तव्य समृद्धि नै हो भन्दै मन्त्री मास्केले हालैको अविरल वर्षापछि आएको बाढी पहिरोले बागमती प्रदेशमा धेरै सडक, पुल, भौतिक संरचना, जनधनको क्षति भएको बताउनुभयो । 

तारकेश्वर नगरपालिकाका पूर्व प्रमुख तथा कलेज सञ्चालक समितिका सदस्य रामेश्वर बोहराले कलेजका अझै भौतिक संरचना, व्यवस्थापन र शैक्षिक गुणस्तरको विकासमा जोड दिनुपर्छ भन्नुभयो । 

क्याम्पस प्रमुख एवम् कलेज सञ्चालक समितिका सदस्य सचिव राजीप धितालले सामुदायिक कलेज भएकाले सहुलियत शुल्कमा आधुनिक शिक्षा दिइएको र प्रविधिमैत्री शिक्षा प्राथमिकतामा रहेको बताउनु भयो । 

उहाँले स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीमा एमबीएस र स्नातक तहमा बीबीएस, बीएड र बीएमा कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो । कलेज आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ । 


संस्थापक क्याम्पस प्रमुख धनलाल महर्जनले नेपाल राष्ट्रिय माविको संरक्षकत्वमा कलेज स्थापना भएको स्मरण गर्दै उल्लेख्य मात्रामा विद्यार्थीको सङ्ख्या बढेको खुसी प्रकट गर्नुभयो । 

कलेजका प्राज्ञिक प्रमुख प्राध्यापक श्यामकृष्ण विष्टले कलेजको भौतिक, शैक्षिक, व्यवस्थापकीय र विद्यार्थीका समस्या समाधान गर्न कलेज सभा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

कलेज  सञ्चालक समितिका अध्यक्ष चित्रवरध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख उमेश सेढाइले शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान गर्नुभएका सबै अग्रजप्रति सम्मान प्रकट गर्नुभयो ।

सोही सभाले  कलेजकाे नयाँ सञ्चालक समितिको चयन पनि गरेको छ । 


समितिमा अध्यक्ष चित्रवरध्वज थापा, सदस्यहरुमा रामेश्वर बोहरा, केशव खड्का क्षेत्री, रामभक्त सिग्देल, अभिमन्युराज बस्नेत, डा. प्रलाद कुमार थापा, धनलाल महर्जन र रत्ना राणा रहनुभएको जानकारी कलेज प्रशासनले दिएको छ ।