• ८ पुस २०८१, सोमबार

विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

blog

वर्षापछि बागमती नदीमा आएको बाढीले डुबानमा परेको काठमाडौँको त्रिपुरेश्वरस्थित बम्सिघाट क्षेत्र। तस्बिर: नवीन पौडेल/रासस

काठमाडौँ, असोज १४ गते । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिराेमा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपदबाट सोमबार अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कअनुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । बाढीपहिराेका घटनामा परी काठमाडौँमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ । विपद्का घटनाबाट काठमाडौँमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन् ।

बागमती प्रदेशका काभ्रेपलान्चोकमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा सात-सात, धादिङमा चार, सिन्धुलीमा दुई तथा नुवाकोट र रामेछापमा एक-एक जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकमा चार र सिन्धुपाल्चोकमा एक जना बेपत्ता भएका छन् । काभ्रेपलान्चोकमा ५२, सिन्धुपाल्चोकमा चार र मकवानपुरमा एक जना घाइते भएका छन् ।

काभ्रेपलान्चोकमा सबैभन्दा बढी एक हजार घरमा क्षति पुगेको छ । यस्तै, सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा पाँच घर क्षतिग्रस्त भएको छ । कोशीको पाँचथरमा छ, सोलुखुम्बुमा पाँच, धनकुटा र झापामा तीन/तीन, सुनसरी र इलाममा दुई÷दुई, तेह्रथुम र ओखलढुङ्गामा एक/एक, मधेसको महोत्तरीमा दुई र रौतहटमा एक तथा लुम्बिनीको रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।

बाढीपहिरोबाट २०४ को मृत्यु

विपद्का घटनामा परी देशभर दुई सय चार जनाको मृत्यु भएको भने ८९ जना घाइते भएका छन् । अझै ३३ जना हराइरहेका छन् । कोशीमा २३, मधेशमा तीन, उपत्यकामा ८२, बागमतीमा ९४ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बाढीपहिराेबाट मुलुकभर एक हजार सात सय ८३ घर र १९ वटा पुलमा क्षति पुगेको छ । पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ ।

यस्तै विभिन्न जिल्लामा पाँचवटा पक्की पुल सात वटा झोलुङ्गे र अन्य किसिमका चार गरी १९ वटा पुल र उदयपुरको एउटा रिसोर्ट बाढीले बगाएको छ । विपद् प्रभावित तीन हजार चार सय एक जनाको हालसम्म उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ । रासस