• १४ असोज २०८१, सोमबार

झ्याप्ले खोलामा सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

blog

काठमाडौँ भित्रिदै सवारी साधन । तस्बिर : रासस

काठमाडौँ, असोज १४ गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरूसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो । उहाँले सोमबार दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

“आजदेखि काठमाडौँ उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरिने छन्”, उहाँले भन्नुभयो, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।”

आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढीपहिरो, डुबान तथा विपदमा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराउनुभएको थियो ।

“आज साँझसम्म काभ्रेपलान्चोकको बिपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्छ”, प्रवक्ता तिवारीले भन्नुभयो, “अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार गरिरहेको छ ।”

प्रवक्ता तिवारीले मौसम पूर्ण रूपमा सामान्य बनिसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गर्नुभएको छ । “अवरुद्ध सडक खुल्ने र खुलाउने क्रम  जारी छ”, उहाँले भन्नुभयो, “अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।”

अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ । “रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ”, प्रवक्ता तिवारीले भन्नुभयो, “घाइतेहरूको उद्धार र उपचार निःशुल्क भइरहेको छ ।” रासस