• १४ असोज २०८१, सोमबार

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

blog

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा बैठकबारे जानकारी दिनुहुँदै ।

काठमडौँ, असोज १४ गते । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उहाँविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराउनुभएको हो ।

यसैगरी, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध पनि एक-एक वटा उजुरी परेको समितिले जनाएको छ ।

यही असोज ३ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रस्तावित राउत र नेपाली राजदूतका लागि प्रस्तावितद्वय लम्साल र यादवविरुद्ध उजुरी दिन समितिले १० दिने सूचना जारी गरेको थियो ।

ज्येष्ठ सदस्य राणाले भन्नुभयो, ‘‘समितिको २०८१ असोज ३ गतेको निर्णय अनुसार नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएको प्रकाशमान सिंह राउत एवम् बेल्जियम र अस्ट्रेलियाका लागि नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका क्रमशः सेवा लम्साल र चित्रलेखा यादवलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी वा सूचना दिन सूचना जारी गरिएकोमा उक्त मिति र समय भित्र प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध ६ वटा र प्रस्तावित राजदूतविरुद्ध दुई वटा उजुरी प्राप्त हुन आएको ब्यहोरा बैठक समक्ष जानकारी गराउँदछु ।’’

समितिले प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदूतद्वय लम्साल र यादवविरुद्धको उजुरीमाथि छानबिन गरी सुनुवाइ कार्य गर्नुपर्नेछ । समितिको अर्को बैठक असोज १५ गते मङ्गलबार अपराह्न २ बजेका लागि बोलाइएको छ ।