• १४ असोज २०८१, सोमबार

मोरङमा तीन जनाको शव फेला

blog

फाइल तस्बिर ।

हरि कोइराला 

उर्लाबारी, असोज १४ गते । मोरङको कानेपोखरी, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकामा सोमबार तीन जनाको शव भेटिएको छ । 

मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीकाअनुसार वृद्धसहित दुई पुरुष र एक जना महिलाको शव भेटिएको हो । विराटनगरको सिंघीया खोलामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छैन भने कानेपोखरी र ग्रामथानमा मृत भेटिएका दुवै पुरुषको पहिचान खुलिसकेको छ ।

कानेपोखरी–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा एक जना वृद्ध पुरुषको शव फेला परेको हो । पथरीशनिश्चरे–८ का ७५ वर्षीय लाखबहादुर राईलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर बाहिर निकालेका थिए । 

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले सोमबार  दिउँसो १ बजेतिर राईलाई स्थानीयले बाहिर निकालेको  बताउनुभयो । प्रहरीका अनुसार खोलाबाट बाहिर निकाल्दा राईको  मृत्यु भइसकेको  थियो । 

छोरीको घरमा आएका राई पाँच  दिनदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो  । छोरीको घरबाट खाना खाएर घर फर्किने क्रममा राईलाई डाँस खोलाले बगाएको हो । राईको शवलाई प्रहरीले पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाइएको छ ।

ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत घर नजिकैको पैनीमा मृत फेला पर्नु भएको छ। आइतबार घरबाट माछा मार्न निस्किनु भएका भगतको शव खोजी गर्ने क्रममा घर देखि दुई सय मिटर दक्षिणमा भेटिएको हो । 

भगतको शव पानीमा डुबिरहेको अवस्थामा  फेला परेको मोरङ प्रहरीका  डिएसपी जोशीले बताउनुभयो । भगतको शव पोस्टमार्टमका लागि  कोशी अस्पताल विराटनगर पठाइएको छ ।

यस्तै विराटनगरमा  सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा एक जना महिलाको शव भेटिएको छ । हाटखोलामा शव भेटिएकी अन्दाजी ३० वर्षीया महिलाको पहिचान खुलेको छैन ।

खोलाले बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाबाट शव बाहिर निकालेका थिए । उक्त शव पनि पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ।