• १४ असोज २०८१, सोमबार

बाढी प्रभावित परिवारलाई राहत हस्तान्तरण

blog

मध्यविन्दु २ सेरीका बाढी प्रभावितलाइ राहत वितरण गरिँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असोज १४ गते । वर्षा रोकिएसँगै नारायणी नदीमा पानीको बहाव बिस्तारै घट्न थालेको छ । वर्षासँगै आएको बाढीका कारण नवलपुरमा छ सय ४१ घर डुबानमा परेका छन् । नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका हुन् । जिल्लाका विभिन्न स्थानमा गरी यो सङ्ख्यामा घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।

पानीको बहाव घटेसँगै बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । मध्यविन्दु नगरपालिका मध्यविन्दु नगरपालिका –२, सितापुर र सेरीका दुई सय बाढी प्रभावित परिवारलाई राहतस्वरुप सामग्री वितरण गरिएको हो । केही दिन परेको अविरल वर्षाका कारण मध्यविन्दु नगरपालिकामा करिब चार सय ५० घरपरिवार डुबानमा परेका थिए । 

मध्यविन्दुकै वडा नम्बर –६ भडराका दुई सय घर र वडा नम्बर–१५ ,का १८ घर डुबानमा परेको छ । जसमध्ये अतिप्रभावित परिवारलाई सेभ द चिल्ड्रेनको सहयोगमा मध्यविन्दु नगरपालिका, जागृति बाल सरोकार नेपालको संयुक्त सहयोगमा राहत प्रदान गरेको छ ।

प्रभावितलाई सेल्टर किट, हाइजिन किट, डिगनिटी किट, साबुन, झुल, खानेपानी शुद्धीकरण गर्ने फिल्टर लगायतका गैरखाद्य सामग्री दिइएको छ । सुत्केरी महिलाका लागि छुट्टै किसिमका सामग्री वितरण गरिएको सेभ द चिल्ड्रेनका संयोजक देवेन्द्र आचार्यले बताउनुभयो । यो सँगै बाढी प्रभावित क्षेत्रहरूमा त्रिपाल, कम्मल, खाद्यान्न, लत्ताकपडा, र औषधी वितरण भइरहेको छ । स्थानीय प्रशासनले पनि बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण गर्दै आवश्यक सहयोग पुर्‍याइरहेको छ ।

नगरप्रमुख भीमलाल अधिकारीले पालिकामा बाढी प्रभावितलाई अति आवश्यक पर्ने सामग्री वितरण गरेको बताउनुभयो । प्रभावितलाई गाँस, बास र कपासको आवश्यकतालाई हेरी नगरपालिका र विभिन्न संस्था मार्फत राहत वितरण सुरु गरिएको बताउनुभयो । थोरै भए पनि घाउमा मलमपट्टी लगाउन नगरपालिका जुटेको बताउनु भयो । नगरपालिकाका कर्मचारीले समेत एक दिनको तलब प्रभावितलाई सहयोग गरेको बताउनुभयो । 

अति प्रभावितलाई पहिलो प्राथमिकता दिएपनि सबैलाई वितरण गर्ने उहाँको भनाइ छ । नगरपालिकाले घुम्ती शिविर समेत सञ्चालन गरेको बताउनुभयो ।

उहाँले मध्यविन्दु नगरपालिकामा सबै पालिका भन्दा बढी कृषि लगायत अन्य क्षेत्रमा क्षति पुगेको बताउनुभयो । यहाँका स्थानीयलाई विभिन्न तवरबाट सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि पशुचौपाय र कृषिमा क्षति पुगेकाले यकिन तथ्याकं निकाल्न नसकेको बताउनुभयो ।