• १४ असोज २०८१, सोमबार

जुम्लाका तातोपानीसहित छ पालिका साक्षर घोषणा

blog

जिल्लाको हिमा गाउँपालिका साक्षर घोषणा । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, असोज १४ गते । जुम्लाका ६ वटा गाउँपालिका साक्षर घोषणा गरिएका छन् । जुम्लाको हिमा गाउँपालिका, चन्दननाथ नगरपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिका साक्षर घोषणा गरिएका हुन् । 

सोमवार तातोपानी गाउँपालिका घोषणासँगै जिल्लाका ६ वटा पालिका घोषणा भएका हुन् । गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सुर्खेत जुम्ला उच्च अदालत इजलास जुम्लाका मुख्य न्यायाधीस गोकर्ण डाँगीले गाउँपालिका साक्षरता घोषणा गर्नुभयो । 

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा मुख्य न्यायधीस डाँगी, न्यायाधीश कैलाश गुरुङ, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश मल्ल सहित शिक्षा क्षेत्रका अगुवा, शिक्षक विद्यार्थी, सञ्चारकर्मी सहित सरोकारवाला निकायको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । 

गाउँपालिकाले गरेको सर्भे तथा विभिन्न सूचकका आधारमा ९५.७७ प्रतिशत मानिसहरू साक्षर भएका छन् । साक्षरता घोषणामा प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा १५ देखि ६० वर्ष उमेरका सबै पालिकावासीलाई साक्षरताको अवसर प्रदान गरी साक्षरता घोषणा गरिएको छ। उहाँका अनुसार सबै वडामा गणक पठाई तथ्याङ्क सङ्कलन गरिएको थियो ।  

यसैगरी तातोपानी गाउँपालिकामा ९७.७७ प्रतिशत सहित कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिञ्जामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर सहित पालिका घोषणा गरिएका छन् । 

जिल्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षर नगर घोषणा गर्नुभएको छ । मन्त्री भण्डारीले शुक्रबार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेरै कनकासुन्दरीलाई घोषणा गर्नुभएको छ । यस्तै पातारासी गाउँपालिका कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले साक्षर पालिका घोषणा गर्नुभएको छ । हिमा गाउँपालिकालाई कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा र सिञ्जा गाउँपालिकालाई अध्यक्ष पूर्णप्रसाद धितालले साक्षर घोषणा गर्नुभएको छ । 

साक्षर घोषणमा तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन् । कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन रोकायाले कुल १३ हजार ६ सय २५ जनसङ्ख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर रहेको जानकारी दिनुभयो । 

यता पातारासी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अविराज उपाध्यायले १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसङ्ख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएको जानकारी दिनुभयो ।  

चन्दनाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले कुल २१ हजार ३६ जनसङ्ख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर रहेको बताउनुभयो । उहाँका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसङ्ख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३ सय ८० जनामात्रै भेटिएका थिए । उनीहरूलाई साक्षर बनाएसँगै नगरपालिका साक्षर घोषणायोग्य मानिएको हो ।

जुम्लाको सिञ्जा गाउँपालिकाले कुल जनसङ्ख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ । शिक्षा शाखा प्रमुख शङ्कर धितालले जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रूपमा सङ्कलन गरिएको तथ्याङ्कले साक्षर गाउँपालिका घोषणायोग्य देखिएपछि गाउँपालिका नै साक्षर घोषणा गर्न सम्भव भएको बताउनुभयो । 

सिञ्जामा हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा भएपछि पालिका साक्षर घोषणा गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । जिल्लाको हिमा गाउँपालिको कुल जनसङ्ख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन्। हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसङ्ख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन् ।  गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शिक्षक, सामाजिक परिचालक र कर्मचारीहरू साक्षर नागरिकको तथ्याङ्क सङ्कलनका लागि गाउँकाबस्तीमै पुगेका जानकारी दिनुभयो । 

तिला र गुठिचौर बाँकी 

जिल्लाका ६ गाउँपालिका साक्षर घोषणा भएपछि तिला र गुठिचौर गाउँपालिका साक्षर घोषणाका लागि तयार गरिरहेका छन् । जिल्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले साक्षरपालिका घोषणका लागि प्राथमिकता दिइरहेको बताउनुभयो । तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया अनुसार तिला गाउँपालिका पनि साक्षर घोषणा गाउँपालिकाका लागि तयारी भइरहेको जानकारी दिनुभयो । जिल्लाको तिला र गुठिचौर घोषणा पछि जिल्ला घोषणाका लागि तयारी गरिने जिल्ला समन्वय समितिका समन्वय प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।