• १४ असोज २०८१, सोमबार

कालीगण्डकी लोकमार्ग मर्मतमा समस्या

blog

उत्तर चीनदेखि दक्षिण भारत जोड्ने सडकको रुपमा रहेको कालीगण्डकी लोकमार्गको पर्वत खण्ड । तस्बिरः गणेश पौडेल-गोरखापत्र

गणेश पौडेल

पर्वत, असोज १४ गते । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको काम सम्पन्न भएको खण्डको जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालमा सूचीकरण हुन नसक्दा सडक विभागले मर्मत लगायतको काम गर्न पाएको छैन । 

पर्वत खण्डको २९ किलोमिटर सडकमा कालोपत्रे भई सम्पन्न भएको एक वर्ष भइसकेको छ । कुन निकायले रेखदेख गर्ने भन्ने स्पष्ट नहुँदा सडक मर्मत तथा रेखदेखमा समस्या भएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय इन्जिनियर सुरेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार बीचमा पर्ने २ वट पुल निर्माणाधीन रहेका भए पनि सेतीबेणीदेखि फलेबास ढिकसम्मको सबै खण्ड कालोपत्रे सम्पन्न भइसकेको छ । 

‘कालोपत्रे भईसकेको खण्डलाई राष्ट्रिय राजमार्गमा सूचीकरण नगर्दा कुन निकायले मर्मत र रेखदेख गर्ने भन्ने समस्या भएको छ,’ उहाँले भन्नुभयो, सम्पन्न भइसकेका खण्डमा पहिरो खसेको पन्छाउने काममा समेत समस्या भएको कार्यालयले जनाएको छ । 

करिडोरको मिर्मिदेखि अर्मादीसम्म ५३ किलोमिटर सडकको काम धमाधम भइरहेको गौतमले बताउनुभयो । यसमध्ये पर्वत खण्डमा ४३ किलोमिटर सडक पर्छ । कार्यालयका अनुसार फलेवास–अर्मादी सडक खण्डको १४ किलोमिटर भने निर्माण कम्पनीको लापरवाहीका कारण समयसमा काम नहुँदा कालोपत्रेको काम अगाडी बढाउन सकिएको छैन । उक्त खण्डमा समयमा काम नहुँदा कालोपत्रेको कामको टेण्डर  आह्वान गर्न समस्या भएको बताइएको छ । 

विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्नेमा काम नसकिएपछि थप गरिएको समय समेत २०८१ असोज मसान्तसम्म रहेको कार्यालयले जनाएको छ । नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ को लागतमा यो खण्डको सबै काम सक्ने गरि काम भइरहेको इन्जिनियर गौतमको भनाइ छ । निर्माण जिम्मा पाएको सूर्य कन्ट्रक्सनले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाल लगायतको काम गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । ‘यो खण्डको सबै काम सम्पन्न भएमा मिर्मिदेखि पर्वतको अर्मादीसम्म स्तरोन्नति भई गाडी सहजै चल्न सक्ने हुन्छ’ इन्जिनियर गौतमले भन्नुभयो ।  

उहाँका अनुसार स्याङ्जाको मिर्मिदेखि पर्वतको सेतीबेणीसम्मको १० किलोमिटर सडक पनि कालोपत्रेको चरणमा रहेको छ । कात्तिकसम्ममा ३ किलोमिटर कालोपत्रे गर्ने र बाँकी ७ किलोमिटर सडक यस आर्थिक वर्षमा कालोपत्रे गरिसक्ने इन्जिनियर गौतमाले बताउनुभयो । पर्वतको लाइफलाइनको रुपमा रहेको यो सडकले दक्षिणको सेतीबेणीदेखि उत्तरको वारीबेनीसम्म जोड्नेछ । सेतीबेणीदेखि वारीबेनीसम्म ७० किलोमिटरभन्दा बढी सडक पर्वत जिल्लामा पर्छ । जसमध्ये सेतीबेणी–अर्मादी ४३ किलोमिटर सडक कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले निर्माण गरिरहेको छ । 

अर्मादीदेखि मालढुङ्गा ४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गमा पर्छ भने मालढुङ्गा बेनी सडक १३ किलोमिटर सडक मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले निर्माण गरिरहेको  छ ।