• १४ असोज २०८१, सोमबार

हात्तीपाइले रोग उन्मूलनका लागि कैलालीमा सर्वेक्षण सुरु

blog

कैलालीको घोडाघोडीमा सोमबार जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलाई हात्तीपाइले रोगको सर्वेक्षणको बारेमा जानकारी गराउँदै आरटीआईका प्रतिनिधि । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली) असोज १४ गते । कैलालीमा हात्तीपाइले रोग उन्मूलनका लागि लामो समय नियमित हात्तीपाइले रोगको औषधी सेवन कार्यक्रम लागु भएको छ । औषधी  सेवनको प्रभावकारीताका लागि राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धी आइडिया ईम्प्याक्ट आईआईएस आईको सर्वेक्षण सुरु गरिएको हो । 

लगातार नौ पटकसम्म औषधी सेवन कार्यक्रम लागु हुँदा पनि कैलाली जिल्ला हात्तेपाईले रोग उन्मूलन जिल्ला हुन नसकेपछि तीन प्रकारको औषधी दुई वर्षसम्म थप सेवन कार्यक्रम लागु भएको थियो । ११ वर्षसम्म नियमित औषधी सेवन कार्यक्रम लागु गर्दा समेत रोगको भाइरस देखिन थालेपछि यो वर्ष औषधी सेवनको प्रभावकारिता परीक्षणका लागि हात्तीपाइले रोगको सर्वेक्षण सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख गौरी जोशीले बताउनुभयो । उहाँले कैलालीको १३ वटा पालिकालाई दुई भागमा विभाजन गरी पालिकाका सम्भावित वडाहरूबाट नमुना सर्वेक्षण गरिने बताउनुभयो । 

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा र कैलाली जनस्वास्थ्य कार्यालयको आयोजनामा विभिन्न पालिकामा सर्वेक्षण कार्य सुरु गरिएको हो ।

घोडाघोडी नगरपालिकामा सोमबार वडा नम्बर १, २, ४, ६, ८ र १० वडामा जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूलाई सर्वेक्षणबारे जानकारी दिइएको छ । सर्वेक्षण कार्यक्रमको जिम्मा पाएको आरटीआईका सरोज महासेठले कैलाली जिल्लाबाट छ हजार तीनसय जना बिस वर्षभन्दा माथिका मानिसको रगत परीक्षणबाट हात्तीपाइले रोगको सर्वेक्षण गरिने बताउनुभयो । उहाँले तोकिएका वडामा परीक्षणका क्रममा दिउँसोमा हात्तीपाइले रोगका भाइरस भेटिएमा राती पुनः परीक्षण गरिने समेत बताउनुभयो ।

६४ जिल्लामा हात्तेपाईले रोग निवारण कार्यक्रम लागू भए पनि यो सर्वेक्षण पाँच जिल्लामा सुरु गरिएको छ । धेरै जिल्लामा हात्तीपाइले रोग उन्मुलन भएको जनाउँदै कैलाली जनस्वास्थ्य प्रमुख जोशीले बाँकै, बर्दिया, कैलाली लगायत हात्तीपाइले रोगका भाइरस भेटिएका जिल्लामा सर्वेक्षण सुरु भएको जानकारी दिनुभयो ।

हात्तीपाइले रोग सन् २०३० सम्म उन्मुलन अथवा निवारण गर्ने लक्ष्यका साथ विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपालमा निवारण कार्यक्रम लागू भएका छन् । घोडाघोडी नगर अस्पतालका डाक्टर होमनाथ आचार्यले क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेर परजीवी शरीरमा प्रवेश गरेपछि रोग लाग्ने बताउनुभयो । अण्डाशय, खुट्टा, स्तन सुन्निने  रोगका लक्षण हुन् । 

घोडाघोडी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कैलाशकुमार रावतले भन्नुभयो, ‘‘सबैले ६ पटक सम्म नियमित औषधी सेवन गरेमा हात्तीपाइले रोग निवारण हुन्छ । सबैले नियमित औषधी सेवन नगर्दा औषधी सेवन कार्यक्रम ११ वर्षसम्म चलाउँदा पनि हात्तीपाइलेका बिरामी भेटिने गरेका छन् ।’’

तोकिएको मापदण्डका आधारमा गरिएको सर्वेक्षणबाट हात्तीपाइलेका बिरामी भेटिएमा थप औषधी सेवनका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।