• १४ असोज २०८१, सोमबार

भ्रमणको पूर्ण विवरणसहित

यस्तो रह्यो प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण

blog

काठमाडौँ, असोज १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको १० दिने अमेरिका भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किनु भएको छ । उहाँको भ्रमण समग्ररुपमा सफल भएको बताइएको छ । 

प्रधानमन्त्री ओली असोज ४ गते नेपाली टोलीको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यहाँ जानु भएको थियो । उहाँ सोमबार स्वदेश फर्किनुभयो । 

प्रधानमन्त्री ओलीले १० गते बिहीबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुभएको थियो । महासभाको यस वर्षको बहस ‘कोही पनि पछाडि नछोडिने: वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको थियो । 

महासचिव गुटेरेससँग भेट


प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गर्नुभयो । सो अवसरमा प्रम ओलीले नेपालले जलवायु परिवर्तनमा न्याय पाउनुपर्ने भन्दै पहलका लागि आग्रह गर्नुभएको थियो । साथै अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्न नेपालले योगदान गरिरहेको र नेपाली सेनालाई राष्ट्रसंघको उच्चतम पद उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । 

प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि धन्यवाद दिनुभएको थियो । नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’ को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी पनि गराउनु भएको थियो । सो संवादमा सहभागी हुन उहाँले महासचिव गुटेरेसलाई निमन्त्रणा पनि दिनुभयो । 

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालका हिमालहरू पग्लिने र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।  

समिट अफ दि फ्यूचरको अध्यक्षता


प्रधानमन्त्री ओलीले असोज ६ गते राष्ट्रसंघको मुख्यालयमा आयोजित समिट आफ दि फ्यूचरको अन्तरक्रियात्मक सत्रको अध्यक्षता गर्नुभयो । सोपछि उहाँले ट्रस्टी काउन्सिलमा आयोजित छलफल सत्रको पनि अध्यक्षता गर्नुभयो । सो सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सदस्यले धारणा राखेका थिए । 

प्रधानमन्त्री र कुबेतका राजकुमारबिच भेट


प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार एवम् प्रधानमन्त्री शेख सवाह अल खलेद अल हमाद अल मुबारक अल सवाहबिच भेट वार्ता गर्नुभयो । उहाँहरूबिच राष्ट्रसंघका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्यूयोर्कमा भेटवार्ता भएको थियो । नेपाल र कुवेतको आपसी सम्बन्ध तथा सहयोग आदान–प्रदान विषयमा केन्द्रित भएर छलफल भएको थियो । 

प्रधानमन्त्री ओली र भुटानी प्रधानमन्त्रीबिच भेट


प्रधानमन्त्री ओलीले भुटानी प्रधानमन्त्री दासो छिरिङ तोग्बेबिच असोज ७ गते भेटवार्ता भयो । उहाँहरूबिच राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्यूयोर्कमा भेटवार्ता भएको थियो । 

भेटमा दुई देशबिचको सम्बन्ध विस्तारबारेमा केन्द्रित भएर छलफल भएको थियो । साथै दुई देशबिच दुई पक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुरा भएको थियो । प्रधानमन्त्री तोग्बेले गौतमबुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको बताउनुभएको थियो ।

मानवअधिकार उच्चायुक्त भोल्करसँग भेट


प्रधानमन्त्री ओली र मानवअधिकार उच्चायुक्तका भोल्कर टर्कबिच सोमबार नै भेट भएको थियो । भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापाको सहभागिता थियो । भेटमा मानवअधिकारको अवस्था बारेमा छलफल भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेट


प्रधानमन्त्री ओलीको भारतीय समकक्षी नरेन्द्र मोदीसँग असोज ७ गते नै शिष्टाचार भेट भएको थियो । भेट सकारात्मक र सोहाद्रपूर्ण भएको थियो । प्रधानमन्त्री मोदी चाँडै नेपालको भ्रमणमा आउने बताउनुभएको थियो । 

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रमका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापाको सहभागिता थियो । त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री लगायतको सहभागिता थियो ।

लिड फ्रि फ्युचर कार्यक्रममा सम्बोधन


प्रधानमन्त्री ओलीले असोज ८ गते युएसआइडी र युनिसेफद्वारा आयोजित लिड फ्रि फ्यूचर : पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट कार्यक्रमलाई सम्बोधन गर्नुभयो । सो कार्यक्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनका पत्नी डा. जिल वाइडेनले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रम ओली र फिनल्याण्डका राष्ट्रपतिबिच भेट


प्रधानमन्त्री ओलीले असोज ९ गते फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टवबिच भेटवार्ता गर्नुभयो । उहाँहरूबिच दुई देशबिचको सम्बन्ध विषयमा छलफल भएको थियो । भेटमा प्रम ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापाको समेत सहभागिता थियो । 

राष्ट्रपति जो बाइडेनसँग भेट

यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


प्रधानमन्त्री ओलीले ९ गते अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शिष्टाचार भेट गर्नुभएको थियो । सोही दिन प्रधानमन्त्री ओली जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । सँगै प्रथम महिला राधिका शाक्यको पनि सहभागिता थियो । 

प्रधानमन्त्री र लाओसका प्रमसिफानदोनबिच भेट


प्रधानमन्त्री ओली र जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबिच १० गते भेटवार्ता भयो । भेटमा दुई देशबिचको सम्बन्ध विस्तार तथा सहयोग आदान–प्रदानका विषयमा छलफल भएको थियो । 

प्रमको ओलीको महासभालाई सम्बोधन


प्रधानमन्त्री ओलीले ७९ औँ महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो । सो क्रममा प्रम ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको थियो । 

उहाँले कसैलाई पछाडि नपारी वर्तमान र भावीपुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आव्हान गर्नुभएको थियो । नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराउनुभएको थियो । 

शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । सो कार्यक्रममा प्रम ओलीले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबिचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताउनुभएको थियो । साथै जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गर्नुभएको थियो ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय 


Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।