• १४ असोज २०८१, सोमबार

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

blog

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्यलगायत । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
देउखुरी, असौज १४ गते । 
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारू लगायत स्थानीय तहका प्रमुख/उपप्रमुखहरूको सहभागिता थियो ।

बालबालिकाहरूमा विभिन्न सरुवा रोग विरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाईटिस, जापानी इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाविरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको भागेश्वर गाउँविकास समितिबाट पूर्णखोप घोषणा गरी सुरु गरिएको थियो ।