• १४ असोज २०८१, सोमबार

सडक सञ्चालनमा आएपछि बिरामीलाई सहज

blog

छायाँनाथ रारा नगरपालिकाको वडा नं– ४ मा पर्ने वुकाखोलामा डोजरले अवरुद्ध सडक खुलाउने प्रयास गर्दै । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण  ऐडी
मुगु, असोज १४ गते ।
 गमगढी–बालै सडक झण्डै २ महिनापछि सञ्चालनमा आएको छ ।  गत असारको पहिलो साता परेको भारी वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

छायाँनाथ रारा नगरपालिकाको पहलमा डोजर लगाएर सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सुचारु भएको हो ।

लामो समयसम्म सडक बन्द हुँदा छायाँनाथ रारा नगरपालिका वडा नं–४ ,६ र ७ का स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र जिल्ला अस्पताल गमगढीमा बिरामीलाई  आउजाउ गर्न निकै कठिनाइ भएको थियो ।

सडक खुलेपछि दैनिक झण्डै एक दर्जनौँ चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी सदरमुकाम आउजाउ गर्न थालेका छन् । सडक खुलेपछि बिरामीलाई बालै गाउँ बाट–गमगढी आउजाउ गर्न सहज भएको कोटिला गाउँका स्थानीय खुम्मबहादुर ऐडीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गत असार पहिलो हप्तामा अबिरल वर्षातका कारणले बालै–गमगढी  लोकमार्गमा गएको पहिरो र ढुङ्गाले अवरोध भएपछि उपचारका लागि बिरामीलाई जिल्ला अस्पताल गमगढीमा लैजान असहज भएको थियो, अहिले सडक खुलेपछि आउजाउमा  सहज भएको छ ।’’

बालै–गमगढी लोगमार्ग खुलेपछि ‘अब खाद्यवस्तु लैजान सजिलो भएको छ,’ बालै गाउँमा  व्यवसाय गर्दै आएका कृष्ण भामले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँको कृषि उपज पनि सदरमुकाम र जिल्ला बाहिर जान थालेको छ ।’’ उहाँका अनुसार सडक खुलेपछि सुर्खेत र नेपालगन्जका व्यापारी बालै बगरका विभिन्न गाउँमा आएर सिमी, कोदो, फापरलगायत स्थानीय उत्पादन खरिद गर्न थालेका छन् ।

करिब २ महिनासम्म सडक अवरुद्ध हुँदा बालै गाउँको आसपासका विकास निर्माणमा प्रयोग हुने गैर स्थानीय सामग्रीहरू  सिमेन्ट, फलामको रड, पाइपलगायत निर्माणका सामग्री ढुवानी गर्न समस्या भएको थियो । सडक सञ्चालनमा लाएगत्तै वडा नं– ६ को विकास–निर्माणको काम सुचारु भएको स्थानीय दानबहादुर रावलले बताउनुभयो ।

झण्डै दुई दिन डोजर लगाएर पहिरोले तहसनहस बनेको गमगढी–बालै सडक खुलाउन सफल भएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताउनुभयो ।

भामले गमगढी–बालै सडकखण्ड स्तरोन्नति गरी कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारसँग आफूले हतै सम्म पहल गरिरहेको जानकारी दिनुभयो ।