• १४ असोज २०८१, सोमबार

मधेश प्रदेशमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

blog

जनकपुरधाम, असोज १४ गते । मधेश प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई–दुई तथा सप्तरी र सर्लाहीका एक–एकजना रहेका छन् ।

बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन् । मधेशका आठ जिल्लामा बाढीबाट ५६ लाखको क्षति भएको छ ।

बाढीबाट नौ पशुचौपाया समेत मरेका छन् । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दिबास नगरपालिका–११ का २१ वर्षीय मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई हाल राजविराज नगरपालिका–८ मा बस्दैआएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका–३  लक्ष्मीपुरका  १२ वर्षीय अङ्कित ठाकुर रहेका छन् । 

यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । पर्सामा एक बालिका बेपत्ता   भएकी छिन् । आठ जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीनजना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिनुभयो ।

बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । आजदेखि प्रदेशको जनजीवन सामान्य हुँदै गएको छ । रासस