• १४ असोज २०८१, सोमबार

अनुदान बीउको धान नफलेपछि.....

blog

भीरकोट नगरपालिका वडा नं–७ को बलमाटामा लगाइएको धान । तस्बिर: अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, असोज १४ गते । नगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको उन्नत जातको ‘सावा मन्सुली सब १’ मा धानमा फल नलागेपछि खेती थन्काउने बेलामा किसानहरू मारमा परेका छन् । 

भीरकोट नगरपालिका वडा नं–७ को बलमाटा, मजुवा र झापाकोटको फाँटमा लगाइएको धानमा फल नलागेपछि किसानहरू चिन्तित बनेका हुन । पुरानो र परम्परागत धानको बीउ लगाइरहेका किसानले नगरपालिकाले अनुदानमा उन्नत जातको ‘सावा मन्सुली सब १’ बीउ दिएप्छि हौसिएर किसानहरूले लगाएका थिए । 

यहाँका कृषकहरू सालिकराम अर्याल, खडानन्द अर्याल, शिवप्रसाद रेग्मी, नारायण अर्याल, मुक्ति अर्याल, चूडामणि अर्याललगायतले चार सय किलोभन्दा बढी नगरपालिकाले अनुदानमा दिएको उन्नत जातको धानको बीउ लगाउनुभएको थियो । 

कृषक श्यामप्रसाद अर्यालले खेतमा लगाएको धान फुलेर बाला हाल्दै गर्दा धान डढेर बोटसमेत मर्दै गएको र यो रोग सिङ्गै फाँटमा फैलिँदै गएपछि अन्य किसानसमेत मारमा परेको बताउनुभयो । यहाँ ३२ रुपियाँ ५० पैसामा प्रतिकिलो धानको बीउ अनुदानमा खरिद गरी खेतमा लगाइएको हो । 

आफूहरूले यसअघि हाइब्रिड जातको धान प्रयोग गर्ने गरेको तर नगरपालिकाले स्थानीय स्तरमै उत्पादन गरिएको उन्नत जातको ‘सावा मन्सुली सब १’ धान लगाउन भनेपछि लगाएको अर्यालले बताउनुभयो । 

यो धान लगाउँदा थन्काउने बेलामा रित्तो हुनुपरेको बताउँदै अर्यालले नगरपालिकाले उचित क्षतिपूर्ति नदिए आफूहरू आन्दोलनमा जाने बताउनुभयो । 

धानमा फल नलाग्ने, गवारो किरा लागेर फुलेको फूलसमेत नष्ट हुने, धानको बोट डढेर मर्दै जाने जस्ता समस्या देखिएपछि किसानहरूले कृषि प्राविधिकहरूलाई धानबाली भएकै खेतमा बोलाएका थिए । 

भीरकोट नगरपालिका कृषि शाखामा कार्यरत कृषि प्राविधिक मदन केसीले खेतमा लगाइएको धानबालीमा रोग देखिएको र सोको परीक्षण तथा उपचारका लागि आफूले धानको बाला र बोटसहित माटो कृषि प्रयोगशाला पोखरामा पठाएको बताउनुभयो । परीक्षण नतिजापश्चात् सोही अनुसारको तयारी थाल्ने केसीले बताउनुभयो । 

अनुदानको बीउमा धान नफलेपछि भीरकोट नगरपालिका, कृषि ज्ञान केन्द्र स्याङ्जा र प्रदेशमा समेत किसानहरूले भने उचित राहतको व्यवस्था गर्न अनुरोध गरेका छन् । 

तराई, भित्री मधेसमा लगाउने धानको जात लगाइएको र समुद्र सतहभन्दा पाँच सय मिटरमा लगाउनुपर्नेमा आठ सय मिटरमा लगाउँदा समस्या भएको कृषि ज्ञान केन्द्र प्रमुख विनोद हमालले बताउनुभयो । 

धानमा नाइट्रोजन भएको मल धेरै प्रयोग हुँदा रोग बढेको बताउँदै हमालले बिमा नहुँदा क्षतिपूर्ति दिन नसकिएको बताउनुभयो ।