• १४ असोज २०८१, सोमबार

स्थानीय तहमा उद्यमशीलता चार सय उद्योग खारेज

blog

ललित बसेल

सुर्खेत, असोज १४ गते । कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा चार सयभन्दा बढी उद्योग खारेज भएका छन् ।  आव २०८०/८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइको हाराहारीमा उद्योग खारेज भएका हुन् । 

कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार कर्णालीका १० वटा जिल्लामा गरी गत आवमा ४१० वटा उद्योग खारेज भएका छन् । सबैभन्दा धेरै प्रदेश राजधानी सुर्खेतका १६६ वटा खारेज भएका छन् । त्यसपछि जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटका समान २८/२८, रुकुमपश्चिमका २२, हुम्लाका सात, मुगुका छ वटा उद्योग खारेज भएको निर्देशनालयले जनाएको छ । डोल्पामा कुनै पनि खारेज नभएको जनाइएको छ ।

सो आवमा एक हजार ७९५ वटा उद्योग नयाँ दर्ता भएका छन् भने दुई हजार ५५ वटा उद्योग नवीकरण भएका छन् । सुर्खेतमा नयाँ ६७१ वटा र नवीकरण ९२१ वटा भएका छन् । यसपछि जुम्लामा नयाँ २०४ वटा र नवीकरण २३७ वटा भएका छन् । दैलेखमा १५६ वटा नयाँ र १५६ वटा उद्योग नवीकरण भएका छन् । 

त्यसै गरी सल्यानमा नयाँ उद्योग १३२ र नवीकरण २३६, जाजरकोटमा नयाँ १५३ र नवीकरण ८३, रुकुमपश्चिममा नयाँ एक सय र नवीकरण ७४ वटा उद्योग भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै मुगुमा नयाँ उद्योग दर्ता १११ वटा र नवीकरण ५१ वटा, कालीकोटमा नयाँ उद्योग दर्ता १२२ वटा र नवीकरण १३१ वटा, डोल्पामा नयाँ उद्योग दर्ता ९३ वटा र नवीकरण ७९ वटा र हुम्लामा नयाँ दर्ता ५३ वटा र नवीकरण ८७ वटा भएका छन् । 

निर्देशनालयका सूचना अधिकृत एवं प्रशासकीय थिरबहादुर श्रेष्ठले खारेज हुनेमा धेरै जसो होटेल, रेस्टुरेन्ट, कृषि फार्मजस्ता साना उद्योग रहेको जानकारी दिनुभयो । पुरानो उद्योग खारेज नगरेपछि अर्को उद्योग खोल्न नपाइने र धेरै जरिबानामा परिने भएकाले साना लगानीमा सञ्चालन गरिएका उद्योग धमाधम खारेज गर्ने गरिएको उहाँले बताउनुभयो । 

कर्णालीमा ठुला उद्योग स्थापना तथा दर्ता भएका छैनन् । निर्देशनालयलाई पाँच करोड रुपियाँसम्म पुँजी भएका उद्योग दर्ता तथा नवीकरण गर्ने अधिकार छ । विद्युत्को समस्या, कच्चा पदार्थको अभाव, महँगो जमिन र लगानीका कारण ठुला उद्योग स्थापना हुन कठिन छ । सूचना अधिकारी श्रेष्ठले साना लगानीका उद्योग खारेज गर्ने क्रम चलिरहेकाले साना उद्योग र उद्योगीलाई बचाउनुपर्ने बताउनुभयो । कर्णालीमा आव २०७९/८० मा प्रदेशभर तीन हजार ८४० नयाँ उद्योग दर्ता भएका थिए भने तीन हजार ५८३ वटा उद्योग नवीकरण भएका थिए ।