पङ्क्तिकार जीवनमा धेरै कार्यक्रममा सहभागी भयो । कतिपय स्मरणमा छैनन् भने केही कायक्रम पुराना भए पनि सम्झना भने अझै ताजा छन् । यसै क्रममा हरेक वर्ष सेप्टेम्बर महिना लागेसँगै सन् २०१४ को एउटा कार्यक्रम मेरो मस्तिष्कमा आउने गर्छ । उक्त कार्यक्रम विश्व मुटु दिवसको सन्दर्भमा आयोजित मुटु शिविर थियो । जसको उद्घाटन समारोहमा म पनि अतिथि वक्ताका रूपमा आमन्त्रित थिएँ ।
राजधानीको महाराजगन्जस्थित खुला स्थानमा गरिएको सो कार्यक्रममा नेपालका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि डा. लिन अङ, प्रसिद्ध मुटुरोग चिकित्सक डा. अरुण सायमि, पल्मोनोलोजिस्ट डा. अर्जुन कार्की र लोकप्रिय अभिनेता हरिवंश आचार्यलगायतका प्रतिष्ठित व्यक्तिसँगै म पनि मञ्चमा थिएँ ।
विशिष्ठ व्यक्तिसँगै मञ्चमा बसेकाले त्यो कार्यक्रम मेरो मस्तिष्कमा बसेको होइन । नेपालको सबैभन्दा ठुलो निःशुल्क मुटु शिविर र मुटु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम भएकाले त्यो स्मरणमा रहेको हो । कार्यक्रमले लक्ष्य प्राप्त गर्नेमा मलाई केही संशय थियो । किनकि त्यहाँ काठमाडौँ उपत्यकाका पाँच हजारभन्दा बढी युवाको स्वास्थ्य अवस्था स्क्रिनिङ गर्ने लक्ष्य राखिएको थियो । स्वास्थ्य जाँचसँगै शहरी क्षेत्रमा बसोबास गर्ने युवामा मुटु रोगको जोखिमका कारणबारे बृहत् अध्ययन गर्ने पनि उद्देश्य थियो ।
मञ्चमा बस्दै गर्दा आफैँले आफैँलाई प्रश्न गरेको थिएँ, “व्यक्तिगत तवरबाट के यो सम्भव छ ?” मेरो आशङ्का चिर्दै नतिजा आएको हुँदा एक दशकपछि पनि मलाई त्यो कार्यक्रमको झझल्को आइरहन्छ । साथै एक दशक पछाडि सो कार्यक्रमका बारेमा लेख्नुको मुख्य कारण एउटा युवा डाक्टरको असाधारण समर्पणलाई प्रतिबिम्बित गर्नु पनि हो । जसले सो कार्यक्रम आयोजना गर्नु केही समयअघि आफ्नो अध्ययन पूरा गरेका थिए ।
मैले उनलाई पहिलो पटक सन् २०१२ मा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भेटेको थिएँ । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले मेरो आफ्नो स्वास्थ्य समस्याका बारेमा परामर्श गर्न उनीसँग परिचय गराइदिनुभएको थियो । त्यसयता नेपालको राजदूत हुनुका साथै अन्य कारणले म विभिन्न देश पुगेँ, केही समय विदेशमा पनि बसें । तथापि, उनको उपचार र सल्लाहलाई मैले निरन्तर पालना गर्दै आएको छु । अर्थात् म उनको नियमित बिरामी हुँ ।
डाक्टर र बिरामीका रूपमा हाम्रो सम्बन्ध बर्सौं लामो छ । मैले यो लेख एउटा बिरामीले डाक्टरको बारेमा भन्दा पनि उक्त मुटु शिविरलाई नजिकबाट सूक्ष्म अवलोकन गरेको हुँदा त्यसैमा आधारित रहेर लेख्दै छु । त्यो शिविर आयोजना गर्ने व्यक्ति डा. ओममूर्ति अनिल हुनुहुन्छ । मैले उहाँका बारेमा प्रशंसा गरिरहनु पर्दैन, नेपालमा मुटुको स्वास्थ्य चेतना जगाउन क्रियाशील प्रमुख अभियान्ताका रूपमा चिनिनुहुन्छ ।
११ दिनसम्म चलेको उक्त मुटु शिविरको उद्घाटनका दिन मात्रै होइन । म प्रायः हरेक दिन शिविर सञ्चालन भइरहेको स्थानमा पुग्थेँ । म त्यहाँ सक्रिय रूपमा केही योगदान दिन होइन उत्साही मेरो डाक्टरलाई नैतिक समर्थन प्रदान गर्न जान्थेँ । उहाँले देखेका कैयौँ सपना र गहिरो समर्पण भावले मलाई उत्प्रेरित गरेको थियो । साथै उहाँसँगै क्रियाशील कैयौँ युवाको अथक प्रतिबद्धता, जोस र समाजप्रतिको निःस्वार्थ समर्पणले मलाई आकर्षित गरेको थियो । पछिल्लो समय यस्ता वास्तविक समाजसेवा दुर्लभ भएको छ । हिजोआज सामाजिक सञ्जालमा देखिने गतिविधिका अगाडि प्रशंसाको खोजी नगरी गरिने त्यस्ता काम असामान्य जस्तै लाग्छ ।
अपेक्षाभन्दा बढी लाभान्वित
मलाई अझै सम्झना छ, डा. ओम मूर्तिले पाँच हजार जनाको स्क्रिनिङ गर्ने आफ्नो महत्वाकाङ्क्षी योजना सुनाउँदै गर्दा मलाई पत्यार लागेको थिएन । त्यति बेला मैले उहाँलाई निराश बनाउन चाहँदैनथेँ । त्यसैले मैले उहाँलाई केही भनिनँ । मलाई आशङ्का थियो । ‘व्यक्तिगत तवरबाट के यो सम्भव छ ?’
त्यति बेलासम्म स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा देशव्यापी रूपमा गरिएको अध्ययनमा पनि करिब चार हजार जनाको मात्रै स्व्रिmनिङ गरिएको थियो । कुनै बाह्य सहयोगबिना एउटा व्यक्तिले पाँच हजार मानिसको स्क्रिनिङ गर्ने लक्ष्य राख्नु निकै महत्वाकाङ्क्षी थियो तर मलगायत धेरैलाई अचम्मित गर्दै ११ दिनसम्म चलेको स्वास्थ्य शिविरमा पाँच हजार छ सयभन्दा बढी मानिसको निःशुल्क मुटु जाँच भयो । जुन अपेक्षाभन्दा धेरै थियो । साथै राष्ट्रिय कीर्तिमान पनि भयो ।
शिविरमा सुगर र कोस्ट्रोल, इसिजीलगायतको जाँच तथा मुटु रोगसम्बन्धी स्वास्थ्य परामर्शसहितको पूर्ण स्वास्थ्य मूल्याङ्कन गरिएको थियो । मलाई १० वर्षअघिको सबै विवरण याद नहुन सक्छ । मलाई के प्रस्ट थाहा छ भने त्यहाँ सामान्य चेक जाँचभन्दा धेरै नै जाँच गर्ने र परामर्शसहित व्यक्तिको ‘हेल्थ हिस्ट्री’ लिइएको थियो ।
मेरो जानकारीमा भए अनुसार चिकित्सा सेवालाई व्यवस्थित र महत्वपूर्ण अनुसन्धानलाई जोडेर हेर्दा त्यो नेपालमा अहिलेसम्मको सबैभन्दा ठुलो मुटु रोग अनुसन्धान परियोजनामध्ये एक थियो । साथै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले समेत अनुसन्धान गर्न उहाँलाई अनुमति दिएको थियो ।
व्यापक जनसहभागिता र स्वास्थ्य सन्देश
प्रायः बेवास्ता गरिने तर सबैभन्दा महत्वपूर्ण पक्ष यस कार्यक्रममा जनसहभागिता व्यापक थियो । कार्यक्रममा मुटु जाँच गर्ने मात्रै नभई मुटु रोगबाट बच्न जनचेतना जगाउनु मुख्य उद्देश्य थियो । त्यति बेलाको जनसहभागिताले मलाई धेरै दिनसम्म सोच्न बाध्य बनायो । अहिलेको जस्तो सामाजिक सञ्जाल लोकप्रिय थिएन । यद्यपि, राष्ट्रिय सञ्चार माध्यमबाट शिविरले निकै चर्चा पायो । अखबार, रेडियो, टिभी र अनलाइन मिडिया सबैले सन्देश फैलाउन मद्दत गरे । मुटुको स्वास्थ्य प्रवर्धन गर्ने मुख्य उद्देश्यबमोजिम देशभरका मानिससमक्ष त्यो सन्देश पुगेको थियो ।
स्वयंसेवकको अथक प्रयास
शिविर सञ्चालन भएको ११ दिन र शिविर सुरु हुनु अघि र पछिका कैयौँ दिनसम्म स्वयंसेवकले अथक परिश्रम गरेका थिए । शिविर सञ्चालन भएका दिन दैनिक दुई सयभन्दा बढी स्वयंसेवकले सहभागीहरूको स्वास्थ्य जाँच गर्ने सामान्य क्लिनिकल कार्यका अलावा डेटा सङ्कलन, विश्लेषणका साथै भिड व्यवस्थापन जस्ता महत्वपूर्ण कार्य गर्न खटिएका थिए । अझ केही स्वयंसेवक शिविरको पूर्वतयारी र शिविर सकिएपछि सहभागीको रिपोर्ट व्यवस्थापनका निम्ति हप्तौँसम्म खटिएको जानकारी पनि मैले पाएको थिएँ । यस्ता काममा कयौं दिन खटिन सक्ने प्रतिबद्ध स्वयंसेवक पाउनु नै ठुलो कुरा हो । अधिकांश स्वयंसेवक चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी थिए । मेरो विचारमा आफ्नो करिअरलाई फर्केर हेर्दा, उनीहरूमध्ये धेरैले यस्तो निःस्वार्थ कार्यमा आफू सहभागी हुन पाएकोमा गर्व गर्न सक्छन् ।
मैले यो लेख लेख्दै गर्दा त्यति बेला परिचय भएका सबै स्वयंसेवकको नाम सम्झिन सकिन । जब उनीहरूले यो लेख पढ्ने छन्, त्यसपछि उनीहरूले आफू सो अभियानको एउटा हिस्सा भएकोमा गर्व महसुस गर्ने छन् भन्ने मेरो विश्वास छ । तथापि, उनीहरूमध्ये डा. रणधीरसागर यादव र डा. सचित कोइराला जो अहिले अमेरिका र नेपालमा रेसिडेन्सी प्रोग्राम गर्दै हुनुहुन्छ । उहाँहरूले मेडिकल विद्यार्थीहरूको समूहलाई नेतृत्व गरेको मलाई सम्झना छ । त्यस्तै सन्तोष रौनियारले प्यारामेडिक टोलीको व्यवस्थापन गर्नुभएको थियो । केदार दुवाडी र श्रीधर खनालले फार्मास्युटिकल टोलीलाई सङ्गठित गर्नुका साथै अन्य धेरैले महत्वपूर्ण कार्यमा भूमिका खेल्नुभएको थियो ।
डा. ओममूर्तिकी श्रीमती मनिषाले नर्सहरूको नेतृत्व गर्दै श्रीमान्को मिसनलाई सफल बनाउन सहभागीहरूको इसिजी गर्न दैनिक १२ वटा इसिजी मेसिनहरू सञ्चालन गर्नुभएको थियो । त्यस्तै भतिजा निखिल त्यति बेला एमबिबिएसको तयारी गर्दै हुनुहुन्थ्यो तर अहिले योग्य डाक्टर । उहाँले शिविरमा आइटी ह्यान्डल गर्दै काकाको दाहिने हात भएर सेवा गर्नुभयो । दाजु अजित कुमार सिंहले कार्यालयबाट बिदा लिएर भाइलाई सहयोग गर्न जनकपुरबाट काठमाडौँ आइपुग्नुभएको थियो । त्यसबाहेक थुप्रै व्यक्ति सो शिविरमा निःस्वार्थ क्रियाशील भएको मैले प्रत्यक्ष देखेको थिएँ । उहाँ आफैँले पनि अस्पतालबाट बिदा लिएर क्लिनिक पनि बन्द गर्नुभएको थियो । जो उहाँको आम्दानीको मुख्य स्रोत थियो । त्यस बेला मलाई मानवता अझै हराएको छैन । जागरुता ल्याउन चाहिँ पर्छ, लागेको थियो ।
मेरो करियरमा मैले धेरै व्यक्ति, घटना र सामाजिक कठिनाइको सामना गरेको छु । धेरै घटनाले आकर्षित गर्दैन । मलाई त्यो एउटा फरक अनुभव थियो । किनकि त्यहाँ कडा परिश्रम, अनुशासन र सामूहिक प्रयाससहितको सामाजिक सेवा थियो । त्यसैले मेरो हृदयलाई छोएको थियो । त्यो यस्तो समूह थियो, जो एउटा बलियो सिक्री जस्तै एकआपसमा बाँधिएको थिए भने सिक्रीको केन्द्रमा डा. ओममूर्ति अनिल हुनुहुन्थ्यो ।
कुशल टिमवर्क
सामूहिक प्रयासले धेरै असम्भव काम पनि सम्भव हुन्छ भन्ने एउटा उदाहरण त्यो शिविर पनि हो । त्यहाँ हरेक दिन सबै स्वयंसेवक बिहान ६ बजे नै कार्यक्रम स्थलमा पुगिसकेका हुन्थे । स्वयंसेवक पुग्नु अगावै सयौँ मानिस लाइनमा उनीहरू पर्खिरहेका हुन्थे । ५/६ घण्टाको अवधिमा सहभागीको महत्वपूर्ण मापन गर्ने, हेल्थ हिस्ट्री लिने, व्यक्तिगत स्वास्थ्य सल्लाह प्रदान गर्ने र चेतनामूलक पम्प्लेट दिने, स्वास्थ्य जानकारी समेटिएको सिडी र अन्य शैक्षिक सामग्री वितरण गर्ने तालिका थियो ।
चेकजाँच सकिएपछि अन्त्यमा सहभागी सबैलाई चिया र बिस्कुट खुवाइएको थियो । यी कार्य गर्दा त्यहाँ खटिने डाक्टर, नर्स, बिडिएस, बिपिएच र एचसिएमका विद्यार्थीहरू र अन्य सहयोगी थकित हुन्थे तर आफ्नो थकान र तनावलाई व्यवस्थापन गर्दै सहभागीसमक्ष उनीहरूले संयमता प्रकट गरिरहेका हुन्थे ।
मलाई अझै आश्चर्य लाग्छ, शिविरको अन्तिम दिनमा कसरी उनीहरूले एक हजार दुई सयभन्दा बढी मानिसलाई जाँच गर्न सके ! सयौँको सङ्ख्यामा खाली पेटमा रहेका सहभागीको बिहान ११ बजेअघि नै परीक्षण सम्पन्न गर्ने कुरा सहज थिएन । तथापि, त्यहाँ कुनै तनावबिना सामन्जस्यपूर्ण तरिकाले टिमवर्कमा काम भइरहेको हुन्थ्यो । यी सबै कुरा कसरी सहज भइरहेको छ भनेर म आफैँ छक्क पर्थे । एक युवा कार्डियोलोजी डाक्टर आफैँले चिकित्सा सेवा प्रदान गर्ने, भिड नियन्त्रण, सञ्चार र वित्त व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण कार्य गर्न कसरी सकिरहेका छन् ? भनेर सोच्थे । सँगसँगै सामूहिक प्रयासले त्यो सम्भव भइरहेको छ भन्ने पनि बुझ्थे ।
त्यागमार्फत सेवा, अनुसन्धान र जागरुकता
धेरै जसो नेपालीमा स्वास्थ्य चेतना नपुगिरहेका बेला देशको मुख्य स्वास्थ्य चिन्ता मुटु रोग हुँदै गएको बारेमा चेतना जगाउनु शिविरको प्रमुख उद्देश्य थियो । साथै शिविरमा अनुसन्धानका निम्ति सहभागीबाट महत्वपूर्ण तथ्याङ्क पनि सङ्कलन गर्ने लक्ष्य र सहभागीको स्वास्थ्य परीक्षण गर्ने थियो । एकैपटक तीन वटा महत्वपूर्ण उद्देश्य (सेवा, अनुसन्धान र जागरुकता) हासिल भइरहेको थियो ।
शिविर सफल बनाउन डा. ओमको परिवार र उहाँका साथी समर्पित थिए । गोरखापत्रको एउटा समाचार अनुसार शिविरमा ५० लाख रुपियाँभन्दा बढी खर्च भएको थियो । त्योमध्ये अधिकांश रकम डा. ओमले व्यक्तिगत खर्च गरेको र बाँकी उहाँका नजिकका साथीहरूले सहयोग गरेका थिए । सहयोग गर्ने साथीहरू कसैले पनि आफ्नो सहयोगको भाग खोजेका छैनन् । अहिले सानो सहयोग गर्दा पनि प्रायः आत्म प्रचार खोज्ने गरिन्छ । त्यसले समाजमा सबै जना त्यस्ता छैनन् भन्ने पनि देखाउँछ ।
शिविरको परिणाम
२९ सेप्टेम्बर विश्व मुटु दिवसका दिन शिविरको नतिजा सार्वजनिक गरिएको थियो । सहभागी प्रत्येक व्यक्तिमा मुटु रोगका लागि कम्तीमा एउटा जोखिम कारक देखिएको थियो । यो तथ्याङ्कले राष्ट्रव्यापी रूपमा सहजक गराएको छ । भविष्यका स्वास्थ्य योजना बनाउँदा त्यस्ता अध्ययन अनुसन्धानले नीति निर्मातालाई सजिलो बनाउने छ । रोगको उपचारभन्दा अगाडि रोकथाम गर्नु महत्वपूर्ण पक्ष हो । यो सस्तो धेरै प्रभावकारी पनि हुन्छ । तर, पनि यहाँ बेवास्ता गरिँदै आएको छ । त्यतिबेला डा. ओममूर्ति मनमोहन कार्डियोथोरासिक सेन्टरमा कार्यरत रहेकाले उहाँले युवामा मुटु रोग बढ्दैको देख्नुभएको थियो । वास्तविक अवस्था के छ भन्ने बुझ्न उहाँले त्यो अनुसन्धान गर्ने हिम्मत गर्नुभएको थियो ।
त्यसअघि सन् २०१३ को विश्व मुटु दिवसको पूर्वसन्ध्यामा नेपालका राष्ट्रपतिद्वारा जारी गरिएको ‘म पनि डाक्टर’ पुस्तक लेखेर उहाँले आममानिसलाई आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने सिकाउनुभएको थियो । निम्न र मध्यम वर्गका मानिसमा हृदयघातबाट अकाल मृत्यु धेरै हुने उनको क्लिनिकल अनुभवबाट अभिप्ररित भई शिविर सञ्चालित थियो । मुटुको स्वास्थ्य सुधार गर्न उहाँको दूरदर्शिता प्रशंसनीय छ ।
अनुसन्धानलाई मान्यता
उक्त महत्वपूर्ण परियोजनाका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरस) ले सन् २०१८ मा उत्कृष्ट अनुसन्धान घोषित गर्दै डा. ओममूर्तिलाई सम्मानित गरेको थियो । एनएचआरसीको जर्नलमा प्रकाशित उनको शोधपत्र ‘प्रिभेलेन्स अफ कार्डियोभास्कुलर रिस्क फ्याक्टर्स इन अप्यारन्टली हेल्दी अर्बन एडल्ट पपुलेसन अफ काठमाण्डू’ रहेको छ ।
यात्रा जारी राख्दै
म डा. ओममूर्तिलाई सामाजिक सञ्जालमा फलो गर्छु । एक दशकपछि पनि जनसेवा र स्वास्थ्य सचेतनाप्रतिको उहाँको जोस सधैँ जस्तै बलियो रहेको देखेर प्रेरित भएको छु । उहाँले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा समर्पित संस्था परिकल्पना गर्दै ‘डा. ओम फाउन्डेसन’ स्थापना गरेर आफ्नो मिसन जारी राख्नुभएको छ । फाउन्डेसनका गतिविधिका बारेमा मसँग प्रायः सल्लाह हुन्छ । यसले धूमपान विरोधी अभियान र विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलगायतमा धेरै पहल सुरु गरिसकेको छ । यो कामले उहाँका पिताजी स्वर्गीय तेजनारायण सिंहको स्मृतिलाई मात्र होइन, समाजमा पनि अर्थपूर्ण प्रभाव पार्ने उहाँको गहिरो प्रतिबद्धताले झल्काउँछ ।
मलाई आशा छ, डा. ओममूर्तिले आगामी दिनमा देशका दुर्गम र पिछडिएका क्षेत्रमा गएर यस्तै सेवा, अनुसन्धान र जागरुकतालाई निरन्तरता दिँदै राष्ट्र सेवामा योगदान पुर्याउनु हुने छ ।
दशकपछि फर्केर हेर्दै
एक दशकलाई फर्केर हेर्दा त्यो प्रयास कति दूरदर्शी थियो भन्ने प्रष्ट हुन्छ । १० वर्षअघि नेपालमा कोलेस्ट्रोल, हृदयघात, आहार र व्यायामको महत्व जस्ता शब्द बुझ्न र अङ्गीकार गर्न सहज रूपमा सकिएको थिएन । त्यसैले आज मुटु रोग नेपालमा मृत्युको प्रमुख कारण र विश्वव्यापी स्वास्थ्य खतरा बनेको छ । नेपालमा हुने मृत्युको ७१ प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण रहेको छ, जसमा पनि गरिब र मध्यम आय भएका समुदायमा त्यसको उल्लेखनीय प्रभाव परेको देखिन्छ ।
पछिल्लो दशकमा नेपालमा दुई वटा ठुला परिवर्तन भएका छन् । मुटु रोगमा वृद्धि र सार्वजनिक मनोवृत्तिमा परिवर्तन । यस्ता प्रयासलाई सधैँ सम्झना वा प्रशंसा गरिँदैन जसरी हुनु पर्छ । जे होस्, यो घटनाको सम्झना मेरो लागि जीवित राख्न फेसबुक रिमाइन्डरले सहयोग गरिरहेको छ ।