एकिन्द्र तिमिल्सेना
टीकापुर, माघ २४ गते । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
साहित्यमार्फत सामाजिक सद्भाव भन्ने नाराका साथ टीकापुर साहित्य महोत्सवमा थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करणका रुपमा रहने र महोत्सवमा प्रत्येक दिन ७–७ वटा गरी जम्मा २१ वटा बहस सत्रहरू रहने टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिनुभयो ।
महोत्सवको पूर्वसन्ध्यामा विद्वत प्रवचन, विद्यालय तथा माध्यमिक विद्यालयहरुमा नाटककार अशेष मल्लद्वारा लिखित सन्देशमूलक सडक नाटक प्रदर्शन, विद्यालयहरुमा अध्ययनरत लेखनमा अभिरूचि भएका विद्यार्थीका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको आयोजना पनि गरिने छ ।
महोत्सवमा बहसका साथै सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव, दोस्रो दिन गजल श्रवण तथा विद्यार्थीको सांस्कृतिक कार्यक्रम र तेस्रो दिन थारू साहित्य तथा सांस्कृतिक उत्सव गरिनेछ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हुन गइरहेको टीकापुर साहित्य महोत्सवको मुख्य प्रवर्धकका रुपमा सुदूरपश्चिम प्रदेश सरकार रहनेछ भने नेपाल पर्यटन बोर्ड महोत्सवको सहप्रवद्र्धक रहने जानकारी दिइएको छ ।