• २४ माघ २०८२, शनिबार

हृदयघातबाट सशस्त्र प्रहरीका एसपी राजेश घिमिरेको निधन

blog

सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरे

शशिधर पराजुली 
विराटनगर, माघ २४ गते ।
सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको हृदयघातका कारण निधन भएको छ । मोरङको बिराटचोकमा शुक्रबार सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सम्मिलित डीआईजी तहको समन्वय बैठककै क्रममा घिमिरे अचानक बेहोस भएर ढल्नुभएको थियो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुखका रूपमा कार्यरत घिमिरे बैठकमा सहभागी भइरहँदा दिउँसो केही शारीरिक समस्या देखिएको थियो । सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार, सुरुमा केही असहज महसुस गरे पनि घिमिरेले ‘म ठिक भएँ’ भन्दै पुनः बैठकमा सहभागी हुनुभएको थियो । तर साँझपख पुनः अचानक बेहोस भएर ढलेपछि उहाँलाई हृदयघात भएको अनुमान गरिएको हो ।

बैठकमै ढल्नुभएका घिमिरेलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो । बेहोस भएर ढल्ने क्रममा उहाँको जिब्रो समेत काटिएको थियो । अस्पताल पुर्‍याउँदा स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । उहाँको उपचारकै क्रममा राति ९ बजेतिर मृत्यु भएको हो ।

अस्पतालका अनुसार उच्च रक्तचापका कारण उहाँलाई हृदयघात भएको हो ।

घिमिरे नम्बर ३ वाहिनी गढीमाई मुख्यालय मकवानपुरमा सरुवा हुनुभएको थियो र शनिबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा हुनुहुन्थ्यो ।