• २४ माघ २०८२, शनिबार

आइसिसी टी–ट्वान्टी विश्वकप

टी–२० विश्वकपमा हेर्नलायक पाँच खेलाडी

blog

नयाँ दिल्ली, माघ २४ गते । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप शनिबार सुरु हुँदै छ । विश्वकप कुनै पनि खेलाडीका लागि प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने यो ठुलो मञ्च हो । यसपालि पनि विश्वकपमा त्यस्ता केही खेलाडी छन् जसले सबभन्दा बढी छाप छोड्न सक्छन् । तीमध्ये पाँच खेलाडीको यहाँ चर्चा गरिएको छ ।

अभिषेक शर्मा (भारत)

पहिलो बलदेखि नै चौका, छक्का प्रहार गरेर टी–२० क्रिकेटमा सनसनी मच्चाइरहेका खेलाडी हुनुहुन्छ भारतका प्रारम्भिक ब्याट्सम्यान अभिषेक शर्मा । अन्तर्राष्ट्रिय क्रिकेटमा टी–२० मा सर्वश्रेष्ठ स्ट्राइक रेट (१९४.७४) मा ब्याटिङ गर्ने अभिषेक विश्वका नम्बर एक टी–२० ब्याट्सम्यान हुनुहुन्छ ।

अभिषेकले ३८ खेलमा ३७.०५ को औसतमा दुई शतक र आठ अर्धशतक बनाउनुभएको छ । भारतले एसिया कप जित्दा अभिषेक सर्वश्रेष्ठ खेलाडी बन्नुभएको थयो । भारतले उपाधि रक्षा गर्नु छ भने अभिषेक चम्कनु जरुरी देखिन्छ ।

ज्याकोब बेथेल (इङ्ग्ल्यान्ड)

इङ्ग्ल्यान्डका २२ वर्षीय अलराउन्डर ज्याकोब बेथेलले गत वर्ष आइपिएलको पदार्पण खेलमै ३३ बलमा ५५ रन बनाएर सनसनी मच्चाउनुभएको थियो । बेथेलले टेस्ट क्रिकेट शृङ्खलाको युद्धको रूपमा लिइने एसेज सिरिजको अन्तिम टेस्टमा पनि अस्ट्रेलियाविरुद्ध १५४ रन बनाएर आफ्नो क्षमता प्रमाणित गरिसक्नुभएको छ ।

उहाँ विशेषतः स्पिनरविरुद्ध निकै आक्रामक बन्नुहुन्छ । बायाँहाते स्पिन बलिङमा पनि माहिर भएकाले बेथेल भारतीय पिचका लागि उपयुक्त खेलाडी हुनुहुन्छ । विश्वकपअघि श्रीलङ्काविरुद्धको खेलमा उहाँले मात्र ११ रनमा चार विकेट लिएर आफ्नो अलराउन्ड क्षमता प्रमाणित गरिसक्नुभएको छ ।

डेवाल्ड ब्रेभिस (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिका ड्वाल्ड ब्रेभिस ‘बेबी एबी’ (एबी डी भिलियर्स) को उपनामले चर्चित क्रिकेटर हुनुहुन्छ । डिभिलियर्सको शैलीमा ब्याटिङ गर्ने ब्रेभिसले १९ वर्षको उमेरमै ५७ बलमा १६२ रन बनाएर दक्षिण अफ्रिकाका लागि उच्च स्कोर बनाउनुभएको थियो । आइपिएलमा मुम्बई इन्डियन्सबाट खेल्ने ब्रभिस अहिले ग्लोबल क्रिकेटर बनिसक्नुभएको छ । उहाँसँग विश्वभरको फ्रेन्चाई क्रिकेटको अनुभव छ ।

नुर अहमद (अफगानिस्तान)

रासिद खानको पदचिह्न पछ्याउँदै आएका अफगानिस्तानका बायाँहाते लेग स्पिनर नुर अहमदले २२ वर्ष नपुग्दै विश्वभरका टी–२० लिग खेलिसक्नुभएको छ । उहाँसँग भारत, युएई, दक्षिण अफ्रिका, अमेरिका, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजमा फ्रेन्चाई टी–२० लिग खेलेको अनुभव छ । करिब दुई सय टी–२० खेलका अनुभवी नुर भारत र श्रीलङ्काका स्पिनमैत्री पिचमा निकै घातक हुने अनुमान गरिएको छ । रासिद खानसँग नुरको साझेदारीलाई यस विश्वकपकै सर्वाधिक खतरनाक स्पिन जोडीका रूपमा लिइएको छ ।

फिन एलन (न्युजिल्यान्ड)

न्युजिल्यान्डका विस्फोटक ब्याट्सम्यान फिन एलन सानदार लयमा हुनुहुन्छ । विश्वकपअघि भारतसँगको टी–२० खेलमा एनले ३६ बलमा ८० रन बनाउनुभएको थियो । सन् २०२४ मा पाकिस्तानविरुद्ध ६२ बलमा १६ छक्कासहित १३७ रन बनाएपछि एलनले पछाडि फर्केर हेर्नुभएको छैन । त्यसपछि उहाँले विश्वभरका टी–२० लिग खेल्नुभयो । अस्ट्रेलियाको बिग ब्यास लिगमा उहाँले १८४ को स्ट्राइक रेटमा कुल ४६६ रन बनाएर पर्थ स्कोचर्सलाई च्याम्पियन बनाउनुभएको थियो । एपी