शिक्षामा मूल्य भनेको ‘शिक्षाको गुणस्तर, प्रभावकारिता र यसको समाजमा पर्ने सकारात्मक प्रभावलाई जनाउने मापदण्ड हो । के आजको शिक्षाले मानव समाजमा सकारात्मक प्रभाव पारेको छ त ? नैतिकताको पाठ सिकाएको छ त ? के आजका जनशक्तिमा सकारात्मक सोचको विकास भएको छ त ? के राजनीति, के व्यवसाय, के शिक्षा जगत, के समाज सेवा सबैमा सकारात्मक प्रभाव देखिन्छ त ? यी पक्षहरूलाई हाम्रा मुख्य चार धर्ममा आधारित भएर केलाउने प्रयास गरिएको छ ।
हिन्दु दर्शनमा शिक्षालाई आत्मज्ञान प्राप्त गर्ने साधनका रूपमा लिइएको छ । यो केवल बौद्धिक ज्ञान मात्र नभई आत्मा, ब्रह्माण्ड, र जीवनको गहिरो रहस्यहरूको खोज हो । शिक्षा व्यक्तिको सम्पूर्ण विकासका लागि आवश्यक मानिन्छ । शिक्षकलाई गुरुको रूपमा सम्मान गरिन्छ । गुरुलाई ज्ञानको स्रोत र मार्गदर्शक मानिन्छ । हिन्दु परम्परामा गुरुबिना ज्ञान प्राप्ति असम्भव मानिन्छ । गुरु–शिष्य परम्परा हिन्दु शिक्षाको आधारभूत तत्व हो । शिष्यले गुरुबाट ज्ञान प्राप्त गर्न श्रद्धा, समर्पण, र अनुशासनको पालना गर्नु पर्छ । विद्यार्थीले गुरुको निर्देशनमा चल्नु पर्छ र ज्ञानको खोजमा निरन्तर प्रयास गर्नु पर्छ । वास्तवमा हिन्दु दर्शनमा शिक्षा, शिक्षक र विद्यार्थीको सम्बन्धलाई अत्यन्त पवित्र र महत्वपूर्ण मानिन्छ ।
बुद्ध दर्शनमा मुख्यतया चार आर्यसत्य र अष्टांगिक मार्गमा आधारित भएर जीवनको दुःख र त्यसको समाधानको बारेमा बताइन्छ । शिक्षा केवल ज्ञान प्राप्ति मात्र नभई नैतिक र आध्यात्मिक विकासको माध्यम पनि हो । बुद्धले शिक्षा प्रणालीमा नैतिक र आध्यात्मिक मूल्यमा जोड दिनुभएको थियो । बुद्धका अनुसार, विद्यार्थीले अनुशासन, ध्यान, र प्रज्ञामा ध्यान दिनु पर्छ । उहाँले विद्यार्थीलाई सत्यको खोज गर्न, अनुभवबाट सिक्न र कुनै पनि कुरा अन्धविश्वासको आधारमा नस्वीकार्न सल्लाह दिनुभएको थियो । शिक्षाले शीलः नैतिक आचरण र अनुशासन, समाधिः ध्यान र मानसिक एकाग्रता र प्रज्ञाः ज्ञान र बुद्धिमत्तालाई महत्वका साथ लिएको पाइन्छ ।
इस्लाममा शिक्षा, शिक्षक र विद्यार्थीको महत्वलाई उच्च स्थानमा राखिएको छ । शिक्षा अनिवार्य मानिन्छ । शिक्षा प्राप्त गर्न सबैलाई प्रेरित गर्दै भनिएको छ कि “ज्ञानको खोजी गर्नु प्रत्येक मुस्लिम पुरुष र महिलाको कर्तव्य हो ।” शिक्षकलाई इस्लाममा उच्च सम्मान दिइन्छ । शिक्षकलाई मार्गदर्शक र ज्ञानको स्रोत मानिन्छ । एक हदिसमा भनिएको छ, “शिक्षकहरूलाई सम्मान गर, किनकि उनीहरू ज्ञानको दीपक हुन् ।” विद्यार्थीलाई इस्लाममा ज्ञानको खोजीमा लाग्न प्रोत्साहित गरिन्छ । विद्यार्थीलाई धैर्य, अनुशासन र आदरको साथ अध्ययन गर्न प्रेरित गरिन्छ । शिक्षकले विद्यार्थीलाई ज्ञान दिन्छन् र विद्यार्थीले शिक्षकलाई आदर र सम्मान दिन्छन् । यसरी, शिक्षा, शिक्षक र विद्यार्थीको त्रिकोणले समाजमा ज्ञानको प्रसार र विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।
बाइबलमा शिक्षक र विद्यार्थीको सम्बन्धलाई धेरै महत्वपूर्ण मानिएको छ । यो सम्बन्धलाई अनुशासन, शिक्षा, र मार्गदर्शनको माध्यमबाट व्याख्या गरिएको छ । उदाहरण दिँदै भनिएको छ । कि शिक्षकलाई विद्यार्थीलाई सही मार्गमा लैजान र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने व्यक्तिको रूपमा चित्रण गरिएको छ । शिक्षकले विद्यार्थीलाई ज्ञान र बुद्धि प्रदान गर्नु पर्छ, जसले गर्दा विद्यार्थीले जीवनमा सही निर्णय लिन बाइबलमा अनुशासनलाई पनि महत्वपूर्ण मानिएको छ । “जसलाई यहोवाले प्रेम गर्नुहुन्छ, उसलाई अनुशासन दिनुहुन्छ ।” यसले देखाउँछ कि अनुशासन प्रेमको अभिव्यक्ति हो र यसले विद्यार्थीलाई सही मार्गमा राख्न मद्दत गर्छ । बाइबलमा विद्यार्थीको बारेमा भनिएको छ “ज्ञान प्राप्त गर, यो सबैभन्दा महत्वपूर्ण कुरा हो । “हे मेरो छोरा, तिम्रो पिताको निर्देशनलाई सुन र तिम्री आमाको शिक्षालाई अस्वीकार नगर ।” त्यसै गरी शिक्षणलाई एक पवित्र कार्यको रूपमा लिँदै भनिएको छ, “तिमीले सत्यको वचनलाई सही रूपमा व्याख्या गर्न सक्षम हुनु पर्छ । शिक्षकहरूलाई उच्च सम्मान दिइएको छ र भनिएको छ, “हामी शिक्षकहरू धेरै कडा न्यायमा पर्ने छौँ ।” यसले शिक्षकहरूको जिम्मेवारी र महत्वलाई देखाउँछ ।
यी चारै धर्मका दर्शनमा शिक्षा, शिक्षक र विद्यार्थी सम्बन्धको बारेमा स्पष्ट मार्ग दर्शन गरिएको छ । हिन्दु धर्मामा ज्ञान प्राप्त गर्न श्रद्धा, समर्पण र अनुशासनको पालना ज्ञानको खोजमा निरन्तर प्रयास गर्नु पर्ने उल्लेख छ भने शिक्षा, शिक्षक, र विद्यार्थीको सम्बन्धलाई पवित्र र महìवपूर्ण मानिएको छ । त्यसै गरी बुद्ध धर्ममा शिक्षा केवल ज्ञान प्राप्ति मात्र नभएर नैतिक र आध्यात्मिक मूल्यहरूका साथ विद्यार्थीले अनुशासन, ध्यान, सत्यको खोजी नैतिक आचरण र अनुशासनलाई महत्वका साथ लिएको छ ।
इस्लाम धर्ममा पनि ज्ञानको खोजी, धैर्य, अनुशासन, आदर, सम्मानलाई महत्व दिइएको छ । शिक्षकले विद्यार्थीलाई ज्ञान दिन्छन् र विद्यार्थीले शिक्षकलाई आदर र सम्मान दिन्छन् । शिक्षा, शिक्षक र विद्यार्थीको त्रिकोणले समाजमा ज्ञानको प्रसार र विकासलाई महत्व दिइएको छ । त्यसै गरी इसाई धर्ममा पनि शिक्षाले सही मार्ग, जीवनमा सकारात्मक परिवर्तन, जीवनमा सही निर्णय लिन सक्ने, प्रेम, अनुशासन, पिताको निर्देशन, आमाको शिक्षालाई अस्वीकार नगर्ने र सबैलाई सम्मान गर्ने उपदेश दिइएको छ ।
अब प्रश्न उठ्छ के आजको शिक्षाले यी मूल्य मान्यतालाई ग्रहण गरेको छ त ? विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमले शिक्षामा मूल्य सिकाउन सकेको छ त ? राजनीति, व्यापार, शिक्षा, संवैधानिक वा गैरसंवैधानिक सङ्घ संस्था, सामाजिक सङ्घ संस्था सबैमा भ्रष्टाचारको गन्ध नआएको कमै पाइन्छ । ज्ञानको खोजी, श्रद्धा, समर्पण, अनुशासन, नैतिकता, सत्यको खोजी, धैर्य, आदर, सम्मान नैतिक आचरणको खडेरी परेको पाइन्छ । रातारात धन आर्जन, जसरी पनि शक्तिशाली बन्ने लालसा बढेको पाइन्छ । माया, दया, परोपकार, सहकार्य, सहअस्तित्वलाई स्वीकार गर्ने संस्कृति क्रमशः हराउँदै गएको छ । स्वदेशको माया, त्याग, बलिदान, देश निर्माण र वसुधैव कुटुम्बकमको भावना हराएर स्वदेशप्रतिको नकारात्मक सोच र वैदेशिक पलायनको बाटो रोज्न थालिएको छ ।
अब प्रश्न उठ्छ शिक्षा, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले समाजमा ज्ञानको प्रसार र विकासलाई महत्व दिइएको छ त ! शिक्षाले सही मार्ग दर्शन, जीवनमा सकारात्मक परिवर्तन, जीवनमा सही निर्णय लिन सक्ने वातावरण सिर्जना गरेको छ त ! पिताको निर्देशन, आमाको शिक्षा, गुरुको मार्गदर्शन, ठुलाबडा अर्ति उपदेशले समाजको सकारात्मक रूपान्तरण गरेको भए यो अवस्था आउने थियो त ? शिक्षा जीवनसँग जोडिएको भए यो अवश्था आउने थियो त ! शिक्षाले जीवन निर्वाह गर्ने बाटो देखाएको भए श्रद्धा, समर्पण, अनुशासन, नैतिकता, सत्यको खोजी, धैर्य, आदर, सम्मान नैतिक आचरण स्थापित गरेको भए आजको स्थिति आउने थियो त भन्ने सवाल समाधान गर्न अबको शिक्षामा के कस्ता विषयवस्तु समावेश गर्न पर्ला भनेर समीक्षा गर्ने प्रयास गरिएको छ ।
विद्यार्थीमा ज्ञान, विज्ञान, सिप र अभिवृत्ति विकास र प्रयोग, र श्रम बजारमुखी व्यावसायिक, लिवरल आर्टसम्बन्धी बहुमुखी शिक्षाका अतिरिक्त नैतिकता, आदर र सम्मान जस्ता गुण सिकाउने मानव मूल्य शिक्षा, समाजमा कसरी राम्रो नागरिक बन्ने भन्ने कुरा सिकाउन समाजशास्त्र र नैतिक शिक्षा, श्रद्धा र समर्पण जस्ता गुणहरू विकास गर्न धार्मिक र आध्यात्मिक शिक्षा, धैर्य र सत्यको खोजीमा मद्दत पु¥याउन आत्म–प्रतिबिम्बन, ध्यान र अनुशासन र धैर्यलाई प्रोत्साहित गर्न सकारात्मक सोच र मानसिक स्वास्थ्य शिक्षाको आवश्यकता देखिन्छ । शिक्षा, शिक्षक, विद्यार्थी र समाज चौकोणात्मक सम्बन्ध जोड्ने शिक्षाको आवश्यक देखिन्छ ।