• १४ असोज २०८१, सोमबार

चाडबाडमै किन हुन्छ बढी दुर्घटना : स्पिड कम गर्न सुझाव

blog

काठमाडौँ, असोज १४ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गर्न असोजको पहिलो साता निर्देशन दिएको थियो । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्यस्थलसम्म पुग्नका लागि मन्त्रालयका सरकारी प्रतिनिधि र यातायात व्यवसायीबिच बसेको बैठकले सो निर्देशन गरेको हो ।

मर्मत सम्भारमा १३ करोड : सडक विभागका अनुसार चाडपर्वलक्षित करिब चार हजार किलोमिटर सडक मर्मतसम्भार गर्नुपर्नेछ । विभागका सूचना अधिकारी अमितकुमार शर्माका अनुसार जसमध्ये हालसम्म आठ सय किलोमिटर सडकको मर्मत भइसकेको छ ।

शर्माले भन्नुभयो, “देशभर जम्मा १८ हजार किलोमिटर त्यस्ता सडक छन् जुन सडक विभागले हेर्छ । यसमा प्रायः राजमार्गहरू छन् । यसमा हामीले हेर्ने एक सय ११ वटा ठेक्काहरू छन् ।”

उहाँले वर्षातका कारण पहिरो गएको ठाउँमा दसैँमा यातायात नरोकियोस् भनेर ‘इमरजेन्सी मेन्टेनेन्स’ का लागि १३ करोड रुपियाँ रकम छुट्याएर काम अघि बढिरहेको जानकारी दिनुभयो ।

७० प्रतिशत बाटो खराब : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशका अधिकांश सडकको अवस्था खराब रहेकाले चाडबाडमा हुने यात्रामा सावधानी अपनाउनुपर्ने बताउनुभएको छ । सरकार एवम् सरोकारवाला पक्षले घटस्थापनासम्म सबै स्थानका सडक खुला गरिने बताएको भन्नुहुँदै उहाँले यात्रालाई सुरक्षित एवम् व्यवस्थित बनाउने सन्दर्भमा आफूहरू निरन्तर छलफलमा रहेको बताउनुभयो ।

सिटौलाले भन्नुभयो, “बाटो मनसुनले गर्दा प्रभावित छ नै, त्यही भएर हामीले पटक–पटक मन्त्रालय, सडक विभाग र विभिन्न पक्षसँग कुराकानी गरिराखेका छौँ । घटस्थापनासम्म बाटो खुलाउँछौँ भनिराछन् । सुरक्षित यात्राको प्रत्याभूति जनतालाई गराउनुपर्‍यो नि ।”

उहाँले देशका ७० प्रतिशत बाटो खराब रहेको भन्नुहुँदै तत्काल बाटोहरू मर्मतसम्भार गर्नुबाहेक अरू विकल्प नरहने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “७० प्रतिशत बाटो खराब छ देशमा । शाखा, उपशाखा बाटोहरू धरापमै छन्  बिना इन्जिनियरका बाटो खडा भएका छन् । वर्षातका कारणले पनि बाटोमा समस्या छ । जे भए पनि मर्मत–सम्भार गरेर, सावधानी अपनाएर जानुपर्ने अवस्था छ ।”

मानवीय त्रुटिबाट ९५ प्रतिशत दुर्घटना : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले यो पटक चाडपर्वको यात्रा कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा विगतका कमीकम्जोरीको समीक्षा गर्दै अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा भएका समीक्षाले के देखायो भने यो अवस्थामा राजधानी बाहिर दैनिक एक लाखभन्दा बढी यात्रु बाहिर जान्छन् । सबैभन्दा बढी दुर्घटना चाडपर्वको मुखमा हुने, मृत्युवरण हुने असाध्यै नराम्रो परिस्थिति छ । यी सबैको शिक्षा लिएर राम्रा कुरा ग्रहण गर्ने, नराम्रा कुरालाई न्यूनीकरण गर्ने भन्ने नीति अनुसार मन्त्रालयले काम गरेको हो ।” 

उहाँका अनुसार विगतको समीक्षाबाट ९५ प्रतिशत सडक दुर्घटना मानवीय त्रुटिका कारण भएको देखिन्छ । दुर्घटना न्यूनीकरणका लागि सजगता अपनाउनुपर्ने एवम् सवारीको गति तोकिएको मापदण्डभन्दा नबढाउन सुझाव प्राप्त भएको छ ।

उहाँले भन्नुभयो, “स्पिड ठूलो फ्याक्टर रहेछ । सरकारले तोकेको स्पिडको मापदण्ड नाघिदिनुभएन । यसका लागि यात्रामा सवार यात्रुले पनि भन्न सक्नुपर्‍यो । चालक पनि आफैँ जिम्मेवार बन्नुपर्‍यो । निगरानी गर्ने ट्राफिक, पुलिस, नेपाल प्रहरी, सरकारी निकायका पदाधिकारीले मोडरेट गरिदिनुपर्‍याे ।”

संसारभरिको भन्दा नेपालको ट्रेन फरक छ । एउटै दुर्घटनामा दर्जनौँ, सयौँ मान्छेहरू मर्ने गरेका छन् । यो पटक मनसुनको वर्षा लामो समयसम्म जाने पूर्वानुमान गरिएका कारण सम्बन्धित पक्षका सबै निकायलाई घच्घच्याउने तथा जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ छ । 

सचेत हुन आग्रह : नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले दसैँमा यातायातको चहलपहल ह्वात्तै बढ्ने तथा विभिन्न किसिमबाट सर्वसाधारण ठगी हुने विषयमा सचेत हुनुपर्ने बताउनुभयो । 

प्रवक्ता कार्कीले भन्नुभयो, “बर्सेनि चाडबाडमा सहर बजारमा, बोर्डरमा तस्करी हुने चाप हुन सक्छ । बजारमा सामान किनबेचको चाप, महँगी, कालोबजारीको चाप हुनसक्छ । सवारी साधनमा तँछाडमछाड बढ्न सक्छ । त्यहाँ सर्वसाधारण शोषणमा पर्न सक्ने भए । अलपत्र पनि पर्न सक्छन् ।” 

उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि ठाउँ–ठाउँमा सुरक्षा चेकजाँच प्रभावकारी बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सवारी चालकले लापसे, मापसे केही गरेको छ कि छैन भन्ने प्रस्थानबिन्दुमै एकचोटि जाँच हुन्छ । बिचबिचमा पनि चेकजाँच हुन्छ । लापरबाहीपूर्वक सवारी चलाउने, ओभरटेक गर्ने, ओभर स्पिड गर्नेलाई कारबाही हुन्छ । प्रहरीको नागरिक सहायता डेस्क ठाउँ–ठाउँमा राखिएको हुन्छ ।” 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।