• ११ असोज २०८१, शुक्रबार

मर्मत नगर्दै सडकमा सवारीसाधन

blog

फाइल तस्बिर

खलङ्गा समाचारदाता 

जाजरकोट, असोज १० गते । जिल्लाका ग्रामीण सडक मर्मत नगरिए पनि यातायात व्यवसायीले जोखिम मोलेर यातायातका साधन सञ्चालन गर्न थालेका छन् । बर्खाका बेला बिग्रिएका सडक मर्मत नगरी व्यवसायीले मनपरी रूपमा सवारीसाधन सञ्चालन गर्न थालेका हुन् ।

जाजरकोट सदरमुकामदेखि बारेकोट गाउँपालिका, कुसे गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा जाने सडकमा यस्तो समस्या देखिएको हो । चाडपर्व नजिकिएपछि श्रम रोजगारी, उच्च शिक्षा अध्ययनका लागि जिल्लाबाहिर नेपालगन्ज, सुर्खेत, काठमाडौँमा पढ्ने विद्यार्थी फर्किने समय भएकाले मर्मत नगरिएका सडकमै यातायात व्यवसायीले गाडी चलाउँदा जोखिम बढेको छ । जोखिम देखाएर भाडा पनि मनपरी र चर्को रूपमा असुल्ने गरेका छन् । बाटो बिग्रिएकाले दुर्घटनाको खतरा पनि उत्तिकै छ । 

करिब दुई हप्ता आकाश खुलेपछि जाजरकोट सदरमुकामदेखि बारेकोट गाउँपालिकासम्म मर्मत नगरेका सडकमा यातायात व्यवसायीले सवारीसाधन पुर्‍याउन थालेका छन् । बारेकोट गाउँपालिकाको हुलाक कार्यालयमा कार्यरत कर्मचारी कमला रानाका अनुसार कामका क्रममा सदरमुकाम आएपछि बारेकोट पुग्न समस्या हुने गरेको छ । खलङ्गादेखि नलगाड नगरपालिका–५, कालीमाटीसम्म चार सय रुपियाँ, कालीमाटीदेखि बारेकोट गाउँपालिका लिम्सासम्म एक हजार पाँच सय गरी कुल एक हजार नौ सय रुपियाँ तिर्नु परेको गुनासो उहाँले गर्नुभयो । यस्तो बेला बालबालिका, वृद्धवृद्धा तथा गर्भवती र सुत्केरी महिलालाई झन् समस्या हुने गरेको छ । 

बर्खामा बन्द भएको खलङ्गा–पाँचकटिया हुँदै कुसे गाउँपालिकाको सडक मर्मत नहुँदा यातायात व्यवसायीले चाडपर्व नजिकिएपछि दुई हजार रुपियाँसम्म भाडा असुल्ने गरेका छन् । जोखिमयुक्त सडकमा यातायात व्यवसायीले मनपरी गर्न थालेपछि सुरक्षा निकायको ध्यान पनि गएको छैन । उक्त सडकमा चार वटा प्याकेजबाट स्तरोन्नतिको काम भए पनि कुसे गाउँपालिका पुग्न मुस्किल भएको सर्वसाधारण बताउँछन् ।

कुसे गाउँपालिका–५ का निर्मला थापाका अनुसार यातायात व्यवसायीको मनपरीका कारण जोखिमयुक्त बाटोमा सवारीसाधन जबरजस्ती लाने गरिएको छ । जुनीचाँदे गाउँपालिका–८, पैङ्कका नैनसिंह थापाले घरदेखि चार घण्टा पैदल हिँडेर करिब एक हजार पाँच सय रुपियाँ भाडा तिरी सदरमुकाम आउनु परेको गुनासो गर्नुभयो । उहाँका अनुसार पाँच सिट भएको सवारीसाधनमा १५ जनासम्म कोचेर राख्ने गरिएको छ । सम्बन्धित निकायले निगरानी नगर्दा र स्थानीय सरकारले बिग्रिएका सडक मर्मतका लागि पहल नगर्दा सर्वसाधारणले दुःख पाउने गरेका छन् ।