• ७ पुस २०८१, आइतबार

चाडपर्वमा दुर्घटनाको जोखिम

blog

दसैँ नेपालीको घर आँगनमा प्रवेश गर्दै छ । दसैँलगत्तै तिहार, छठलगायतका पर्व क्रमशः आउँछन् । चाडपर्वमा वर्षभरको दुःख पीडा र अभाव बिर्संदै आफ्ना परिवारजनमा भेटघाट गर्न, सँगै बसेर मिठोमसिनो खाएर रमाइलो गर्ने हाम्रो प्रचलन नै हो । विदेशमा रहेका अनि स्वदेशकै विभिन्न स्थानबाट रोजगारी र उच्च शिक्षाका लागि राजधानी तथा सदरमुकाम आएकाहरू पनि दसैँमा मातृभूमि जाने गर्छन् । यस पटकको नेपालीको दसैँ केही अनिश्चित बनेको छ । कामको सिलसिलामा घरबाहिर बसेकालाई दसैँमा आफ्नो घर कसरी जाने हो भन्ने चिन्ताले पिरोल्न थालेको छ । विगतका वर्षमा दसैँ आउन एक महिनाअगाडिदेखि नै सार्वजनिक बस तथा हवाई यातायातको टिकट बुकिङ खुला हुन्थ्यो । यस पटक देशभरि एकै पटक सुरु गरिएको सडक स्तरोन्नतिको काम, वर्षायामका कारण पहिरोले सडकमा पुर्‍याएको क्षति र निर्माण तथा मर्मतमा भइरहेको ढिलाइका कारण राजमार्ग यात्रायोग्य नभएको गुनासो बढ्दो छ । तैपनि यातायात व्यवसायीले ढिलै भए पनि अग्रिम टिकट बुकिङ खुला गरेका छन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क हेर्ने हो भने गत वर्षको असोज महिनामा मात्रै एक लाख ४६ हजार २०३ वटा सवारीसाधनमार्फत नौ लाख ६५ हजार ६९६ यात्रु दसैँ मनाउन उपत्यका बाहिरिएका थिए । अघिपछिका सामान्य दिनमा भन्दा चाडबाडको पूर्वार्धमा धेरै यात्रु बोकेर सवारीसाधन उपत्यकाको चार भन्ज्याङबाट बाहिरिने गरेका छन् । यसबाट चाडपर्वको बेलामा सार्वजनिक सवारी र सडकमा पर्ने चाप कति छ हामी सहजै अनुमान गर्न सक्छौँ । गत वर्षको दसैँ अवधिमा सवारी दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्ने हो भने असोज २८ गते घटस्थापनादेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म देशभर एक हजार १५३ वटा सवारी दुर्घटना भए । उक्त दुर्घटनामा एक हजार ७५० भन्दा बढी सवारी साधन दुर्घटनामा संलग्न थिए । यस अवधिमा मात्रै सवारी दुर्घटनामा परी ९७ जनाले ज्यान गुमाए भने ३७५ जना गम्भीर घाइते तथा एक हजार ३४५ जना साधारण घाइते भए । 

तीव्र गतिका कारण पाँच सय ५५, यात्रुले जथाभाबी बाटो काट्दा, सवारीसाधन चढ्दा–ओर्लंदा ७५, मादक पदार्थ सेवन गरी सवारी चलाएको कारण ६३, जथाभाबी रूपमा सवारीलाई उछिन्न खोज्दा ४५, यान्त्रिक अवस्था ठिक नभएको सवारीसाधनका कारण २४ वटा दुर्घटना हुन पुगे । त्यसै गरी खाल्टाखुल्टी र साँघुरो सडकका कारण १७ वटा दुर्घटना भएको थियो भने सडकमा जथाभावी छोडिएका चौपायका कारण ७ वटा दुर्घटना हुन पुगे । सवारी चालकको कारण एक हजार २१, यात्रुको लापरबाहीका कारण ८२, सवारीसाधनको अवस्थाका कारण २४, सडकको कारण १७, चौपायाका कारण सात र मौसमका कारण एक वटा सवारी दुर्घटना भएको थियो ।

गत आवको फागुन मसान्तसम्म कालोपत्रे, ग्राभेल र कच्ची गरेर ३४ हजार २६७ किलोमिटर र रणनीतिक सडक करिब २५ हजार किलोमिटर निर्माण भइसकेको छ । यी ट्रयाक खोलेका सडकमा बाह्रै महिना यातायात चल्ने बनाउनु, खनिएका सडकमध्ये ८० प्रतिशत सडकमा कालो पत्रे गर्नुपर्ने आवश्यकता छ भने ६० प्रतिशत सडक अप्ठ्यारो भूगोलमा रहेको छ । यही अप्ठ्यारो भूगोलमा थोरै सवारी दुर्घटना हुँदा पनि धेरै मानवीय क्षति हुने गरेको छ । सहरी क्षेत्रमा संलग्न सवारी साधनमध्ये मोटरसाइकल अत्यधिक दुर्घटना हुने गरेको छ भने ग्रामीण क्षेत्रमा ट्रक र बसको बढी दुर्घटना हुन्छ । लामो दुरीको बस संलग्न भएको दुर्घटना भने गम्भीर प्रकृतिको हुने गरेको छ । यस्ता दुर्घटनाले कुल मृत्युको १३ प्रतिशत र कुल गम्भीर घाइतेको ३१ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै, नेपालमा ३० देखि ४० प्रतिशत सवारी दुर्घटना सूर्यास्त पछि हुने गरेका छन् । यस तथ्यले के प्रस्ट हुन्छ भने सवारी दुर्घटना जुनसुकै समयमा पनि हुन सक्छ । तसर्थ यात्राको क्रममा जुनसुकै समयमा सजग र सचेत हुनु आवश्यक छ ।

विगतका वर्षमा यस अवधिमा चाडबाड मनाउन ठुलो सङ्ख्यामा यात्रु राजधानीबाट बाहिरिसकेका हुन्थो । अग्रिम टिकट बुकिङसँगै यातायात व्यवसायी पनि थप सवारीसाधन व्यवस्थापनमा जुटिसकेका हुन्थे तर यस पटक त्यस्तो हुन सकेको छैन । धेरै यात्रु मात्रै होइन यात्रु लिएर गएको सवारीसाधन बाटोकै कारण कति समयमा फर्किन्छ भन्ने अनिश्चयले व्यवसायी पनि अन्योलमै छन् । जसले गर्दा यस पटकको चाडपर्व घर परिवारसँगै मनाउने राजधानीबासीको सपना सजिलै साकार हुन सक्दैन कि भन्ने प्रश्न उब्जिएको छ । यातायात व्यवसायीले छोटो समय र सीमित सवारीबाट यात्रु बोक्नुपर्ने अवस्था रहेमा आवागमनमा समस्या उत्पन्न हुने र दुर्घटनाको जोखिम बढ्ने निश्चित छ । किनकि सवारीसाधनको तुलनामा यात्रु सङ्ख्या बढी हुने हुँदा क्षमताभन्दा बढी यात्रु चड्ने, व्यवसायीले पनि पछिल्लो समयमा देखा परेको आर्थिक मन्दीको समस्या र व्यवसायमा पुगेको घाटापूर्ति गर्न चालकलाई बढी सेवा दिएरै भए पनि यात्रुलाई छिटो गन्तव्यमा पुर्‍याएर फर्किन निर्देशन गर्छन् । व्यावसायिक फाइदाकै लागि लामो दुरीमा चल्ने सवारीसाधनमा प्रत्येक ६ घण्टामा चालक फेर्नुपर्ने विद्यमान कानुनी व्यवस्थालाई बेवास्ता गर्ने, स्थानीय रुटमा चल्ने सवारीसाधनलाई समेत लामो यात्रामा चलाउने, गति, सीमा र टाइम कार्डको बेवास्ता गर्ने प्रवृत्ति दोहोरिने निश्चित छ । त्यस्तै चालक र व्यवसायीले यात्रुलाई क्षमताभन्दा बढी र छतमा नचढ्न आग्रह गरे पनि त्यो आग्रहलाई लत्याउन सक्ने र यसबाट विगत वर्षकै जस्तो घटना दोहोरिन सक्ने भएकाले यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

हालसम्मको अनुभवमा यातायातसँग सम्बन्धित विषयको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन मूल्याङ्कन तथा यातायात क्षेत्रको समग्र व्यवस्थापन गर्ने कार्य त्यति प्रशंसनीय हुन सकेको छैन । यसका लागि संस्थागत कमी कमजोरीको महत्वपूर्ण भूमिका छ । सम्बद्ध विभिन्न निकायका बिच उचित समन्वय हुन नसक्नु, अधिकार प्राप्त मुख्य संस्थाका रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग अझ सक्षम एवं स्रोतसाधन सम्पन्न हुन नसक्नुले संस्थागत कमी कमजोरी प्रष्टाउँछन् । यस क्षेत्रमा नीतिगत समन्वय आवश्यक रहेको भए पनि सरकारी प्राथमिकतामा पर्न सकेको छैन, बरु पूर्वाधार एवं सडक निर्माणमा नै बढी ध्यान केन्द्रित गरिएको छ । 

नेपालको सडक निर्माणमा विशेष गरी ‘थ्री डी’ (डोनर, डोजर र डन) को बोलवाला छ । सरोकारवाला निकायबिच प्रभावकारी समन्वयको अभावमा निर्णय प्रक्रिया एकीकृत प्रकृतिको हुन नसकी तदर्थवादी भएको छ । योजना तर्जुमा प्रक्रिया नै दीर्घकालीन सोचबाट निर्देशित हुन सकेको छैन । यातायातसँग सम्बन्धित योजना बने पनि तर्जुमा प्रक्रिया, आवश्यक स्रोतसाधनको व्यवस्था तथा कार्यान्वयनबिच एकआपसमा मेल छैन । नेपालले नीतिगत रूपमा ध्यान दिनुपर्ने विषयमध्ये यातायात व्यवस्थापन पनि एक हो । यातायात व्यवस्थापनका लागि यातायातसम्बन्धी नीति एवं आयोजनाबिचको समन्वय, सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन एवं यातायात क्षेत्रसँग सम्बन्धित समस्या समाधानका उपाय समन्वयमा खोज्नु पर्छ । यी समाधानका उपायलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन चरणमा विभाजन गरी समन्वयात्मक तरिकाबाट कार्यान्वयन गर्नु उचित हुन्छ । चाडपर्वका बेला दुर्घटना हुन नदिन सरकार र सरोकारवाला व्यवसायी चनाखो हुन आवश्यक छ ।    

Author

विष्णु थापा