केही वर्षअघिको भाइरस आतङ्कले तहसनहस पारेको समाज शान्त हुन नपाउँदै फेरि एकातिर गाँजा क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्ध र अर्कोतिर रुस–युक्रेन युद्धको डरलाग्दो परिस्थितिले मानव समाजलाई त्रसित बनाइरहेको छ । छिनछिनमा आइरहने यस्ता अनेक खाले समस्याले विश्व सधैँ आतङ्कित बन्ने गरेको छ । बेरोजगारी बढेको छ । संसारभर जलवायु परिवर्तनको असरले पृथ्वीका सारा जीवजन्तुमा प्रत्यक्ष/परोक्ष असर परिरहेको छ । राष्ट्र आर्थिक रूपमा सङ्कटग्रस्त बनेका सूचना बाहिर आएका छन् । भोकसँग लड्न एकातिर मानव जुधिरहेका छन् भने अर्कोतिर लडाइँ र आतङ्कले मानिस त्राहिमाम छन् । मानव–मानवबिच हुर्किंदो यो प्रतिस्पर्धी शत्रुताको भावनाले आममानिसलाई कतातिर लैजाला ? हामी किन हत्या, हिंसा र युद्धमा यति धेरै लालायित भयौँ ? वैचारिक बहस किन भएन ? केमा कहाँनेर चुक्यौँ ?
भोकमरी र युद्धभन्दा अगाडि खोज्नु पर्ने विषय यी थिए तर हामी त्यतातिर गएनौँ या गएर पनि युद्धभन्दा अर्को विकल्प निकाल्न सकेनौँ । आखिर युद्ध भयो, भइरहेकै छ । थुप्रै जनधनको क्षति भयो । अझै कति हुने हो, कहिलेसम्म हुने हो यकिन छैन । यसको प्रत्यक्ष प्रभावले आममानिसमा खाद्यान्य सङ्कट, गरिबी, मूल्यवृद्धि र शरणार्थी समस्याको विकराल रूप देखा पर्यो । लाखौँ जीवन मूल्यहीन भए । कहिलेसम्म हो यो अवस्था ? यो सीमाविहीन महत्वाकाङ्क्षाले आममानिसको समृद्धि र सुखको मूलस्रोत पृथ्वीको विनाशमाथि पार्न सक्ने असरलाई रोकौँ ।
समय सधैँ एकनासको रहँदैन । हिजोभन्दा आज चुनौती बढिरहेका छन् । हिजोकै तरिकाले आज बाँच्न कठिन हुन सक्छ । हिजो प्रयोग गरिएका साधन र स्रोत आज काम नलाग्ने बन्न सक्छन् । हिजो सोचेर बनाइएका योजना आज कामयावी नहुन सक्छन् । समय अनुसार चल्न, चलाउन र बिग्रँदो परिस्थितिलाई काबुमा ल्याउन सकिएन भने यसको असर विश्वकै लागि सोचेभन्दा बढी नै हानिकारक हुने छ । भाइरस र भाइरसबाट हुने जोखिम तथा जलवायु परिवर्तनले ल्याउने सङ्कट र युद्धले पुर्याएको अपुरणीय क्षति नितान्त एक ठाउँका लागि वा सीमित मानिसका लागि मात्र असरदार हुँदैन । यसले विश्वव्यापी आतङ्क मच्चाउँछ भन्ने कुरा त प्लेग, हैजा, दादुरा तथा पछिल्लो पटकको कोरोना भाइरस र ओमिक्रोनले पनि प्रमाणित गरिसकेको छ । हामीले भोगेको यो नमिठो विगत र वर्तमानका यी तिता अनुभवले हामीलाई फेरि पनि नझस्काओस् भन्नका लागि अब हामीले कुनै पनि सङ्कटसँग जुध्न विश्वभर एउटै योजना कार्यक्रम र एउटै साझा धारणा बनाउनु आवश्यक छ । बाढी आएपछि बाँध बाँध्नुभन्दा पहिले नै बाँधेर ढुक्क बस्नु बुद्धिमानी हुने छ ।
विभिन्न रोगको महामारी, जलवायु परिवर्तन, वातावरणीय विनास, खाद्य सङ्कट र युद्धको त्रास अहिलेका विश्वव्यापी ताजा समस्या हुन् । राष्ट्रसङ्घको पहिलो वातावरणीय शिखर सम्मेलन सन् १९७२ मा वैज्ञानिकको सम्मेलनले रोम क्लबका लागि द लिमिट्स टु ग्रोथ प्रतिवेदन तयार पारेका थिए । सो प्रतिवेदनले पृथ्वीमा भएको सीमित प्राकृतिक स्रोतले निरन्तर बढ्दो उपभोगलाई धान्न नसक्ने तर्क गरिएको थियो । विश्व जगत्ले मानवीय गतिविधिका कारण हुने वातावरणीय प्रभावलाई स्वीकार्दैन भने पारिस्थितिक प्रणाली नियन्त्रणबाहिर जाने र सामाजिक पतन हुने चेतावनी दिइएको थियो । प्रतिवेदनले सावधानी अपनाइएन भने एक्काइसौँ शताब्दीको मध्यतिर विनाशकारी ढङ्गले प्रतिव्यक्ति खाद्य उपलब्धतामा गिरावट, ऊर्जा स्रोतमा ह्रास, अत्यधिक प्रदूषण र जीवन स्तर खस्किने परिदृश्य प्रस्तुत गरिएको थियो । अहिले देखिन थालेको परिदृश्यले पनि यो कुराको पुष्टि गर्न थालेको छ र केही दशकपछिको भयानक डरलाग्दो दृश्यको झल्को दिएको छ ।
अहिले नै सबैथोक गुमिसकेको भने छैन । पृथ्वीको प्राकृतिक सीमाभित्रै रहेर आर्थिक एवं सामाजिक परिवर्तनलाई मानव कल्याण वा लोककल्याणका लागि आर्थिक संरचनामा महत्वपूर्ण समायोजन आवश्यक छ भन्ने दाबी गर्न सकिन्छ । प्रतिवेदनले खाद्य प्रणाली, ऊर्जा प्रणाली, गरिबी, असमानता र महिला सशक्तीकरणसहित सबै क्षेत्रलाई अगाडि लाने उपाय सुझाउँछ । यसका लागि ठोस र अन्तरसम्बन्धित रणनीतिको सिफारिस गर्छ र नयाँ बृहत् लगानीको माग गर्छ । विशेषतः कार्बनडाइअक्साइड उत्सर्जन र अत्यधिक धनाढ्यको अनावश्यक उपभोग घटाउन खपत सीमित गर्नु आवश्यक हुन्छ ।
विश्वमा शान्ति र सुरक्षा कायम गराउने विशेष जिम्मेवारी लिएको संयुक्त राष्ट्रसङ्घ ७९ वर्ष पूरा भएको छ । संयुक्त राष्ट्रसङ्घ विश्वका सार्वभौम मुलुकको साझा संस्था हो । विश्वमा डरलाग्दो रूपमा बढिरहेको सङ्कटलाई कम गराउन संयुक्त राष्ट्रसङ्घको गहन भूमिका हुन्छ । दोस्रो विश्व युद्धपछिको सबैभन्दा सङ्कटग्रस्त अवस्थामा अहिले विश्व पुगेको छ । विश्व राजनीतिमा बढिरहेको बहुधु्रवीकरण बिस्तारै बहुपक्षीय, क्षेत्रीय रणनीतिक सहकार्यमा जोडिन थालेकाले शान्ति सुरक्षामा अझ चुनौती थपिएको छ ।
विश्वमा देखा परेका यी सबै चुनौती हेरेर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शक्ति राष्ट्रहरूसहित सबैलाई संयुक्त राष्ट्रसङ्घको बडापत्र सम्झाएर फेरि एक पटक सामूहिक प्रतिबद्धता गराउन खोजेको देखिन्छ । यो राम्रो सङ्केत हो । राष्ट्रसङ्घको ७९ औँ महासभाको समय पारेर आयोजना गरिएको ‘समिट अफ द फ्युचर’ सम्मेलनले पनि हाम्रो भविष्य कस्तो हुनु पर्छ । यसलाई सुरक्षित गर्न के गर्न सक्छौँ भन्नेबारेमा विश्वव्यापी सहमति बनाउने प्रयास गरेकै हुनु पर्छ ।
युद्ध र आतङ्कवादविरुद्ध विश्वभर शान्ति र अमनचयन ल्याइन नागरिकको जिउधनको सुरक्षा गर्ने विशेष जिम्मेवारी बोकेर स्थापना भएको राष्ट्रसङ्घले आफ्नो ७९ वर्ष पूरा गरिसक्दा पनि चाहे जस्तो शान्ति र सुव्यवस्था स्थापना हुन नसकेको मूल्याङ्कन गरेको छ । नयाँ पुराना शक्ति राष्ट्रबिचको बढ्दो भूराजनीतिक प्रतिस्पर्धा र ती राष्ट्रबिच मौलाउँदै गएका आआफ्नै गुटबन्दीले राष्ट्रसङ्घका मूलभूत सिद्धान्तलाई नै वाइपास गर्न खोज्नु उसका लागि चुनौती बनिरहेका छन् । यी सारा चुनौती चिर्न महासचिव गुटेर्रेसले भनेका छन्, ‘हाम्रो भविष्य कस्तो हुनु पर्छ र यसलाई सुरक्षित गर्न के गर्न सक्छौँ भन्ने नयाँ विश्वव्यापी सहमति बनाउन’ समिट अफ द फ्युचर “सम्मेलनको प्रस्ताव गर्छु, यो साझा एजेन्डा सकारात्मक भावनालाई फेरि एकजुट गर्न र संसारको पुनर्निर्माणका लागि एकताबद्ध हुने यात्रामा यो नयाँ कदम चाल्ने समय हो ।”
महासचिव गुटेर्रेसको यो प्रतिबद्धता सकारात्मक भावनालाई फेरि एकजुट बनाई संसारको पुनर्निर्माण गर्न र इतिहासको यस कठिन क्षणमा विश्वका नेताहरूमा विश्वास सुधार्ने एउटा राम्रो मार्गचित्र बन्ने आशा गर्न सकिन्छ । मुलुकलाई शान्तिको एउटा स्थिर लय र गतिमा हिँडाउन र विश्वमा बढिरहेको गरिबी, भोकमरी, द्वन्द्व, खाद्य सुरक्षा, सामूहिक विनाशका हतियार, महामारी, स्वास्थ्य सङ्कट र नयाँ प्रविधिसँग सम्बन्धित जोखिमसँग जुध्न सक्ने सामूहिक प्रयत्नमा कतैबाट बाधा नहोस् ।
युद्ध भड्किन नदिन र राष्ट्रिय सुरक्षा र शान्तिपूर्ण परराष्ट्र नीतिका लागि नेपालका राष्ट्रनिर्माताले धेरै वर्ष पहिलेअघि सारेको ‘जाइकटक नगर्नू, झिकिकटक गर्नू’ भन्ने नीति हरेक राष्ट्रका लागि सहसम्बन्ध र विदेश नीतिको मेरुदण्ड बन्न सक्छ । यसलाई राष्ट्रसङ्घको बडापत्रमा समावेश गरी आचारसंहिताको रूपमा पालना गर्न सबै सदस्य राष्ट्रलाई दिन सकिन्छ । यसका लागि राष्ट्रसङ्घका महासचिवले विशेष भूमिका निर्वाह गरेर यसलाई प्राथमिकतामा राख्न सक्दा राम्रो हुन्छ । हरेक राष्ट्रले यो नीतिमा आधारित भएर आफ्नो विदेश नीति तयार गर्ने हो भने राष्ट्रसङ्घले युद्ध सम्बन्धित अर्को विकल्प खोजिरहनु पर्दैन । विश्वमा युद्ध होइन शान्ति, भ्रातृत्व पे्रम र विश्ववन्धुत्वको भावना बढाउन यही नीतिलाई विश्वनीति बनाएर सुरक्षित पृथ्वीको आधार तयार गर्न सकिन्छ । आणविक युद्धको खतराबाट हरेक राष्ट्र तथा मानव जीवनलाई सुरक्षित राख्ने यो बलियो अस्त्र हुन सक्छ ।
पछिल्लो समय विश्वमै लोकतन्त्र वा प्रजातन्त्रको जग खस्किँदो छ । दक्षिणपन्थ वा पपुलिस्टको जमात बढ्दो छ । यी समूहले विभिन्न माध्यमबाट आफ्ना सूचनाको कुप्रचार र दुष्प्रचार गर्दा दुर्घटना बढ्ने जोखिम पनि त्यत्तिकै छ । अहिले विश्वव्यापी खाद्य प्रणालीसमेत छिन्नभिन्न छ । खाद्य प्रणाली र उद्योग मात्र नभई वस्तु तथा सेवाका लागि वित्त, श्रम, भूमि र बजारको साथै प्रकृति र वातावरणको समेत थप व्यवस्थित र प्रभावकारी नियमनको खाँचो छ । यो खाँचो पूर्तिका लागि नयाँ प्रविधिमा पहुँच र परम्परागत ज्ञानको पहिचान एवं साझेदारीका लागि आह्वान गर्नु पर्छ ।
जनसङ्ख्यालाई स्थिर गर्दै सुखी, स्वस्थ र अधिक न्यायपूर्ण समुदायको सिर्जना गरी सबैलाई अधिकारसम्पन्न बनाउनु पर्छ । यति गर्न भने राजनीतिक इच्छाशक्तिका साथै विश्वलाई हेर्ने नजरमा आधारभूत परिवर्तन आवश्यक हुन्छ । यति नभए आन्तरिक वा बाह्य जहाँसुकै वातावरणीय विनाश, ठुलो आर्थिक असमानता र सम्भावित असह्य वैचारिक, सामाजिक एवं राजनीतिक द्वन्द्व र युद्धको भुमरीमा विश्व फस्ने छ । त्यस कारण पृथ्वीमा अभिलेखीकरण गरिएका हजारौँ प्रजातिलाई विस्थापित गरी एकछत्र रजाइँ गर्दै शक्तिशाली बनेको मानिसले यो पृथ्वी र पृथ्वीवासीको रक्षा गर्ने दायित्व बोक्नै पर्छ । पृथ्वी नष्ट हुने र मानिसलाई हानि हुने सबै खाले गतिविधिमा प्रतिबन्ध लगाउनु पर्छ । युद्धको त्रासदीबाट होस् वा जलवायु परिवर्तनको मारबाट या कोभिड जस्ता अनेक महामारीबाट होस् जनता जोगिनु पर्छ । पृथ्वी बच्नु पर्छ ।