• ११ असोज २०८१, शुक्रबार

पशुमा लाग्ने खोरेत रोग विरुद्ध खोप अभियान सुरु

blog

इलाम नगरपालिका–४ मा गाईलाई खोरेत विरुद्धको खोप लगाइँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज ९ गते । पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि इलाममा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ । इलामका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, सन्दकपुर, माइजोगमाई र रोङ गाउँपालिकामा खोरेत रोग विरुद्ध पशुहरूमा खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले जनाएको छ । 

इलाम पशुपालन र दुध उत्पादनमा व्यावसायिक बन्दै गएकाले खोरेत मुक्त गराउनु अनिवार्य जस्तै भएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । इलाममात्र नभई कोशी प्रदेशलाई नै खोरेत रोग मुक्त गराई पशुजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारका लागि पहल गरिने लक्ष्य रहेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रानाले बताउनुभयो । 

"यहाँ उत्पादित हुने घिउ, छुर्पी, दूध सहित मासु जन्य पदार्थ विदेशी बजारमा पठाउन सकिन्छ । उत्पादनमा कोशी प्रदेश बिस्तारै आत्मनिर्भर हुँदैछ तर विदेशमा खोरेत रोग मुक्त प्रमाणपत्र पहिलो सर्त रहन्छ, त्यसको तयारी अब हामीले गर्नुपर्नेछ," मन्त्री रानाले भन्नुभयो, "त्यो प्रमाणपत्रका लागि अबको चार वर्षभित्र हाम्रो प्रदेशलाई खोरेत मुक्त बनाउन हामी सबै लाग्न जरुरी छ । खोप अभियान सुरु भएको छ ।"

विगतमा वर्षमा एक पटक खुरफाटेका पशुहरूलाई दिइने खोरेत विरुद्धको खोप यो अभियानमा एक वर्षमा दुई वटा दिइने छ । गाई, भैँसी, बाख्रा, बङ्गुर, भेडा मृग लगायतका जनावारहरुमा यो खोप दिइने जनाइएको छ । 

इलाममा यस पटक एक लाख ४१ हजार खोप माग रहेको छ । प्रथम चरणको खोप अभियानमा एक लाख २४ हजार खोप आएको र त्यो खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका सूचना अधिकारी नवीन वैद्यले बताउनुभयो । वैद्यका अनुसार इलाममा आर्थिक वर्ष ०८०-०८१ मा गाईगोरुको सङ्ख्या दुई लाख ७७ हजार २६० रहेको छ । 

यस्तै सोही आर्थिक वर्षमा भैँसी राँगाको सङ्ख्या ७४ हजार २३५, बाख्राको सङ्ख्या तीन लाख ३७ हजार १३२ बङ्गुरको सङ्ख्या ७७ हजार ४८० रहेको छ । यो वर्ष भने पशुहरूको तथ्याङ्क सङ्कलन भई नसकेको जनाइएको छ ।