बैतडी समाचारदाता
बैतडी, असोज ९ गते । बारीमा मकै लगायो, जङ्गली बँदेलले खाइदिने । मकै जोगाउन पहरा बस्दा वा खेतबारीको कामले बाहिर निस्कँदा मानिसलाई नै बाघ (चितुवा) ले खान थालेपछि विशालपुरवासी जीविकोपार्जनका लागि वैकल्पिक रुपमा बेसार खेती गर्न थालेका छन् ।
चितुवाले मेलौली नगरपालिका–९, विशालपुर गाउँमा मात्रै छ बालकको ज्यान लिएको छ । चितुवाले चिथोरेका घाउ लिएर कतिपयले जीवन बिताइरहेका छन् । मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले विशालपुर गाउँमा वैकल्पिक जीविकोपार्जनका लागि १८ लाख रुपियाँ सहयोग गरेपछि यहाँका ४२ परिवार किसानले बेसार र अदुवा खेती सुरु गरेका छन् ।
बैतडीमा बितेका १३ वर्षदेखि मानव र चितुवाबिच द्वन्द्वमा २८ जनाले ज्यान गुमाएका छन् । मानिसले थालेको पासोमा परेर २६ वटा चितुवाको ज्यान गइसक्यो । द्वन्द्वमा बैतडीको तल्लो स्वराड क्षेत्रमा तीन वटा पालिका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका प्रभावित छन् । मावन–वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न कोषले बेसार खेती गर्न स्थानीय विशालपुर–मौजा र कोलतडा–देउ सामुदायिक वनलाई नौ÷नौ लाख रुपियाँका दरले १८ लाख रुपियाँ ऋण परिचालनका लागि बिउ पुँजी उपलब्घ गराएपछि विशालपुरका स्थानीयले २५० क्विन्टल बेसार खेती गरेका छन् ।
बेसार खेती गर्न चाहने परिवारलाई छ प्रतिशत ब्याजदरमा प्रतिव्यक्ति ५० हजारका दरले सामुदायिक वन र स्थानीय सहकारीको समन्वयमा ऋण परिचालन गरिएको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले मकै लगाएको ठाउँमा बँदेल र बाँदरको हुल आउँथ्यो । अहिले बेसार लगाएको ठाउँमा बँदेल र बाँदर आउन छाडेपछि बस्तीमा बाघको त्रास कम भएको छ । वनजङ्गल छेउछाउमा कहिलेकाहीँ देखिने चितुवाले एक वर्षको अवधिमा कसैमाथि आक्रमण गरेको छैन । यद्यपि गाउँमा चितुवाको त्रास भने कायमै छ ।”
जङ्गली जनावरले जति दुःख दिए पनि गाउँ छाडेर जान सक्ने अवस्था छैन । वडाका ४२ परिवारले बेसार खेती सुरु गरेको स्थानीय कृष्ण भट्टले बताउनुभयो । आफ्नो टोलमा मात्रै चार क्विन्टल बेसार लगाएको उहाँले बताउनुभयो ।
मान्छे र चितुवा एकअर्काको शत्रु जस्तै बनेको बेला कोषले यी गाउँमा सहअस्तित्व कार्यक्रम सञ्चालन गरेपछि चितुवा लखेट्नेहरू अहिले भने चितुवा संरक्षण गर्ने अभियानमा जुटेको राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा, कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानव र चितुवाको द्वन्द्व घटाउन मेलौली नगरपालिका–९, विशालपुर गाउँका बासिन्दालाई चितुवा मान्छेको शत्रु होइन भन्ने बुझाउन थालेका छौँ । चितुवा प्रभावित बस्ती छनोट गरी बाख्रापालनका लागि खोर निर्माण, अदुवा÷बेसार खेती र कृषि उपज सङ्कलन केन्द्रका लागि समुदायलाई सहयोग गरेका छौँ ।” केही वर्षअघि चितुवा देख्नासाथ लखेट्ने अभियानमा लागेका मेलौली नगरपालिका–९, विशालपुरका शङ्करदत्त भट्ट अहिले चितुवा र मानवबिच सहअस्तित्व बढाउने समूहका अध्यक्ष बन्नुभएको छ । आँगनमा खेल्दै गरेको उहाँको छोरालाई चितुवाले झम्टेर सिकार बनाएको थियो । उहाँ अहिले चितुवा बचाउनु पर्छ, जीविकोपार्जनका लागि बेसार खेती गर्न प्रेरित गर्दै आउनुभएको छ ।
विज्ञद्वारा अध्ययन सुरु
मानव–वन्यजन्तु द्वन्द्वले उग्र रूप लिएपछि अहिले बैतडीमा कोषले मानव–वन्यजन्तुबिच सहअस्तित्व कायम गर्ने कार्यक्रम सुरु गरेको छ । ५० वटा स्वचालित क्यामरा जडान गरेर चितुवाको गतिविधि अध्ययन सकेर विज्ञ टोली फर्किएको छ ।
कोषले सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण कार्यक्रम अन्तर्गत बैतडीमा चितुवाको अध्ययन थालेको जानकारी दिएको छ । पहाडी र उच्च पहाडी क्षेत्रका लागि ठुला मांशाहारी वन्यजन्तु संरक्षण रणनीति तर्जुमा गर्ने कार्य पनि अगाडि बढेको छ । चितुवा संरक्षण गर्न डिभिजन वन कार्यालय बैतडीमा सरोकारवाला निकायसँग रणनीतिक छलफल आयोजना गरी सहअस्तित्व अभियान सुरु भएको जोशीले बताउनुभयो ।