मुगु समाचारदाता
मुगु, असोज ९ गते । झिसमिसेमै उठ्यो, बिहानदेखि बेलुकासम्म बारीको काममा लाग्यो । घरबाट बोकेर लगेको चिसो खानाले भोक टार्यो । खेतीपाती भित्र्यायो तर वर्षभरि खान नपुगेर फेरि खानका लागि खोज्न हिँड्नुपर्ने नियति यहाँका बासिन्दाको छ ।
कर्णाली प्रदेशभित्र सबै हिमाली जिल्लाका अधिकांश बासिन्दाको नियति र दैनिकी यही रूपमा चल्दै आएको छ । धुलोमाटोमै जीवन बित्ने भए पनि वर्षभरि खान नपुग्नु यहाँको पीडा हो । बिहानदेखि बेलुकासम्म बारीकै काममा हुने भएकाले व्यक्तिगत सरसफाइमा खासै ध्यान दिन नसकिने यहाँका बासिन्दाले बताएका छन् ।
माटोमै खेलेर जीवन गुजारे पनि आफ्नो बारीको अन्नले बढीमा चारदेखि छ महिना मुस्किलले खान पुग्छ । माटोमै खेलेर जीवन गुजारे पनि अधिकांश जग्गा भिरालो पाखा हुनाले फलेको अन्नले वर्षभरि खान नपुग्दा जीवन गुजारा चलाउन यहाँका पुरुषहरूले रोजगारीका लागि बिदेसिनुपर्ने अर्को बाध्यता रहेको छ ।
महिनौँ अगाडिदेखि लगाएको मैलो रातो चोली र निलो धोतीमा रहेकी सोरू गाउँपालिका–५ की जौकला रोकाया कुटो समातेर बारीमा खटिनुहुन्छ । जौकला जस्ता यहाँका महिलालाई यस्तै काम गर्दैमा हरेक दिन ढल्छ, लगाएको लुगाफाटो धोइपखाली गर्ने समय नै नहुने गरेको यहाँका महिलाहरूले बताएका छन् । उहाँले भन्नुभयो, “हाम्रो जीवन धुलोमाटोमै बित्छ तर पनि वर्षभरि खान पुग्दैन ।” हिमाली जिल्ला भएकाले यहाँको समुदायको प्रमुख पेसा पशुपालन र कृषि हो ।
यही परम्परागत पेसाले यहाँका महिलालाई व्यक्तिगत सरसफाइ गर्ने फुर्सदसमेत हुँदैन । वर्षभरिमा जति खेतबारीमा बिताए पनि परिवारलाई वर्षभरि पेटभरि खान नपुग्दा जौकला जस्ता यहाँका महिलालाई कृषि पेसाबाट खुसी होइन, दुःखी बनाउने गरेको छ ।
पर्याप्त पौष्टिक आहारको कमी र दैनिक व्यक्तिगत सरसफाइमा सुधार नभएकाले ३० वर्षकै कलिलो उमेरमा युवकयुवतीको मुहार चाउरिएको देखिने स्वास्थ्यकर्मी जयबहादुर मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानव विकास सूचकाङ्क सर्वेक्षणको तथ्याङ्क अनुसार मुगुका बासिन्दाको औसत आयु ४८ वर्ष मात्र छ ।” यहाँका बासिन्दाको स्थास्थ्य अवस्था खानपानसँग आधारित भएकाले यो अवस्था आएको उहाँले बताउनुभयो । उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमल बुढाका अनुसार आन्तरिक उत्पादनले नपुगेर मुगुमा हरेक वर्ष ३० देखि ४० मेट्रिक टन खाद्यान्न बाहिरबाट आउने गरेको छ ।
जिल्लाका किसानलाई आधुनिक कृषिसम्बन्धी ज्ञान नभएकाले परम्परागत पेसालाई नै निरन्तरता दिने गरेका छन् । भिरालो, सुक्खा जमिन भएको र सिँचाइ कुलोको समेत सम्भावना नभएकाले आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।
कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले यहाँका महिलाले परम्परागत रूपमा कृषि खेती गर्ने भएकाले धेरै मेहनत गरे पनि मेहनत अनुसार अन्न उत्पादन नहुँदा हरेक वर्ष खाद्यान्न सङ्कट पर्ने गरेको छ ।