• ११ असोज २०८१, शुक्रबार

थारू महिलाको जितिया आजदेखि

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ८ गते । तराईका आदिवासी थारू समुदायका महिलाको प्रमुख पर्व जितिया आजदेखि सुरुभएको छ । सन्तानको दीर्घायु, सुख समृद्धिको मनोकामना गर्दै मनाइने यस पर्वमा थारु महिलालगायत अन्य समुदायले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरु गरेका हुन्।

योसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनीहरू माइतमा आएका छन् । माइत आउन नसक्‍नेहरूले घरमै जितियाको व्रत प्रारम्भ गरेका छन् । 

यता, काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाले यसवर्ष पनि तीन ठाउँमा जितियालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी गरेका छन्। थारू महिला समाज, उपत्यका समितिले काठमाडौंको राष्ट्रिय नाचघर जमल, थारू महिला सभाले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप र थारू सङ्गीत कला मन्दिरले कुपण्डोलमा छुट्टाछुट्टै जितिया महोत्सवको आयोजना गरेका छन् । 

थारू महिला समाज उपत्यका समितिका अध्यक्ष सुशीला चौधरीले सन्तानको दीर्घायु, सुख समृद्धिका लागि जितियाको व्रत लिने गरेको बताउनुभयो । मुख्यतः पूर्वमा झापादेखि पश्चिमी नवलपरासीसम्मका थारू महिलाले धुमधामका साथ जितिया पर्व मनाउँछन् । 

काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाले २०६१ सालदेखि  जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउँदै आएको थारू महिला समाजकी केन्द्रीय अध्यक्ष गीता चौधरीले बताउनुभयो । 

यसरी मनाइन्छ

वर्तालु महिलाले पहिलो दिन स्थानीय जलाशयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । पर्वको दोस्रो दिन अर्थात् अष्टमीका दिन व्रतालु महिला  निराहार उपवास बस्ने गर्छन् । उपवासका दिन महिला गाउँको एकै ठाउँमा जम्मा भ भगवान जितवहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ।

जितियाको अन्तिम तथा पारन (समापन) को दिन  व्रतालु महिला पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगा उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बना चढाउने चलन छ ।