• ११ असोज २०८१, शुक्रबार

अमेरिकामा भन्सार छुट पाएका वस्तुको निर्यात न्यून

blog

काठमाडौँ, असोज ८ गते । अमेरिकाले स्वदेशी वस्तुको निर्यातमा सहुलियतस्वरूप ७७ वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको थियो । माग अनुसार व्यवसायीले सामान निर्यात गर्न नसक्दा निर्यात न्यून देखिएको छ । 

अमेरिकाले सन् २०१५ देखि सन् २०२५ सम्म नेपाललाई ७७ वटा वस्तुमा भन्सार छुटको सुविधा दिएको छ । अमेरिकाले भूकम्पपछिको नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स) दिने कानुन ल्याएर ७७ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो । ७७ वटा वस्तुको भन्सार छुटको सुविधा २०२५ डिसेम्बरदेखि सकिँदै छ । १० वर्षको अवधिमा भन्सार छुट दिएको वस्तुको निर्यातको अवस्था कमजोर रहेको तथ्याङ्कले देखाएको छ । 

अमेरिकी बजारमा स्वदेशी वस्तुको माग उच्च भए पनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन । व्यापारविज्ञ रविशङ्कर सैजुले अमेरिकाले भूकम्पपछि राहत दिन ७७ वस्तुको निर्यातमा भन्सार सुविधा उपलब्ध गराए पनि न्यून परिणाममा निर्यात भएको बताउनुभयो । अमेरिकी बजारको माग अनुसार ठुलो स्केलमा उत्पादन नहुँदा भन्सार छुटको सुविधा पनि उपयोग गर्न नसकिएको उहाँको भनाइ छ । 

लघु तथा घरेलु उत्पादनका सामानको माग थियो तर सरकारले व्यवसायीलाई उत्पादन गर्न प्रोत्साहन गर्न नसकेको बताउँदै उहाँले अमेरिकी बजारमा कसरी जाने भन्ने जानकारी नपाउँदा ठुलो परिणाममा निर्यात हुन नसकेको बताउनुभयो । अमेरिकी बजारमा जुन मापदण्ड र गुणस्तरका सामान खोजिएको थियो, सो अनुसार सामान पठाउन नसकेको उहाँले बताउनुभयो । निर्यात बढाउन नयाँ नयाँ प्रविधि ल्याएर उत्पादन बढाउन सकियो भने अमेरिका जस्ता अन्य मुलुकले दिएको भन्सार छुटको सुविधा उपयोग गरेर निर्यात बढाउन सकिने उहाँले बताउनुभयो । 

नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ उत्पादन, सल ब्लयाङ्केट, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सम्बन्धित सामान निर्यात हुने गरेका छन् । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले निर्यातमा भन्सार छुटको सुविधा घरेलु तथा लघु उद्यमी धेरैलाई जानकारी नभएको बताउनुभयो । ७७ वटा स्वदेशी वस्तुमा नेपालबाट १२/१३ वटा वस्तु मात्र निर्यात भएका छन्, जुन पहुँचवालाले मात्र निर्यात गरेको उहाँले दाबी गर्नुभयो । अमेरिकी बजारमा स्वदेशी वस्तुको माग भए पनि त्यहाँको झन्झटिलो प्रक्रियाले गर्दा पनि निर्यात गर्नमा समस्या भइरहेको उहाँले बताउनुभयो ।