• ६ पुस २०८१, शनिबार

सहरी बसोबास समाजशास्त्र

blog

नेपालको कुल जनसङ्ख्याको ६३ प्रतिशत नगरपालिकामा बसोबास गर्ने तथ्याङ्क सार्वजनिक भइरहँदा पछिल्ला दुई दशकमा ग्रामीण भेगबाट नगर क्षेत्रतिर स्थानान्तरण हुने र गाउँ पातलिँदै जानाले नेपाली समाजको जनसाङ्ख्यकीय र समाजशास्त्रीय स्वरूपमा भएका व्यापक फेरबदल सतहमा आएका छन् । जनसाङ्ख्यकीय हिसाबमा सहर सघन बस्ती हो । कुनै निश्चित भूभागमा जनसङ्ख्याको आकार र जनघनत्वको एउटा सीमा (थ्रेसहोल्ड) पार गरेपछि नगर, उपमहानगर र महानगर बन्ने हाम्रो प्रणाली छ । आर्थिक क्रियाकलाप सहर–बजार केन्द्रित हुने भएकाले नगरमा बस्ने परिवारका सबै वयस्क सदस्य सामान्यतः रोजगार हुन्छन् । 

समाजशास्त्रीय अर्थमा सहर भनेको विभिन्न परम्परा र संस्कृतिका मानिस एक ठाउँमा भेला हुनु र एक अर्कासित अवैयक्तिकता, अन्योन्याश्रय र जीवनको गुणवत्तामा ध्यान केन्द्रित गर्नु हो । गाउँ सामाजिक बन्धन बन्धुबान्धव, कुटुम्ब, इस्टमित्र जस्ता नाता/साइनो भएका नजिकको व्यक्तिगत बन्धनमा आधारित हुन्छ । नातो वा साइनो परम्परा, सामञ्जस्य र अनौपचारिकतामा जोड दिएर बनेको हुन्छ । सहरमा व्यक्तिमा विचारको आदानप्रदान औपचारिक, अनुबन्धित र विशेष कार्य सेवा व्यवसायमा आधारित हुन्छ । 

सहरमा उपयोगितावादी लक्ष्य र सामाजिक सम्बन्धको प्रतिस्पर्धाको स्वरूपमा जोड गरिन्छ । सहरको अर्को चरित्र गैरकृषि व्यवसायको प्रधानता हो, एक अर्कामा व्यापार, उत्पादन, सरकार र सञ्चारमार्फत निकट सम्बन्ध बनेको हुन्छ । समाजशास्त्री दुर्खिमका अनुसार ग्रामीण सम्बन्ध यान्त्रिक र नगरीय सम्बन्ध जैविक हुन्छ । 

सहरीपन सामाजिक तथा आर्थिक प्रक्रिया हो । अझ राम्रो र सुविधायुक्त जीवनको खोजीमा ग्रामीण जीवन पलायन गरी मानिस सहर छिर्छ । त्यसैले यो जीवन पद्धति हो । सहर समाजको यस्तो सङ्गठन हो, जसमा श्रमको जटिल विभाजन, प्रविधिको उच्च स्तर, उच्च गतिशीलता, आर्थिक कार्य सम्पन्न गर्नका लागि सदस्यका बिच पारस्परिक निर्भरता र सामाजिक सम्बन्धमा अवैयक्तिकता समावेश हुनु हो । शिक्षा र स्वास्थ्यको निजीकरणले सहरमा जानै पर्ने बाध्यता छ । अव्यवस्थित सहरमा जनसङ्ख्या बढेको छ । नीति अभावले सार्वजनिक यातायात यात्रुमैत्री नभएर सवारीधनी मैत्री छ । सार्वजनिक पूर्वाधारको प्रयोग गरेर केही व्यक्ति लाभान्वित भइरहेका छन् । जनसङ्ख्या वृद्धिको अनुपातमा सार्वजनिक यातायात सेवामा लगानी र विकास छैन । सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाउन कसैको चासो देखिन्न ।

सहरका मानिसमा छिमेक भएर पनि जीवनस्तर, राजनीतिक र आर्थिक शक्ति र पूर्वाधारमा पहुँच र प्रयोगका हिसाबले विषमता हुन्छ । छिमेक, ओल्लो पल्लो घरका प्रति चासो, सरोकार नहुने हुँदा एक प्रकारको भावशून्यता र उदासीनता हुन्छ । अर्काको समस्यामा अल्झिन चाहँदैनन् । कोही दुर्घटनामा परेको छ, आपतविपत्मा छ भने पनि मानिस हेरिरहन्छ वा नदेखे जस्तो गरेर दृश्यबाट पलायन हुन्छ । सहयोगका लागि अगाडि आउँदैन । कुनै घरको एउटा कोठामा ५।६ जनासम्म मानिस बस्छन् । टोल, चोक विशेषमा भिडभाड भएपछि त्यसका हानिकारक असर देखिन थाल्छन् । भिडभाडले विचलित व्यवहारलाई बढावा दिन्छ, मानिसमा रोगव्याधि फैलिन्छ, मानसिक बिमारी हुन्छ, मापसे गर्छन् र अपराधका वारदात घटछन् । एकअर्कामा अपरिचित र घना बस्ती भएका कारण अपराध गरेर लुक्न, छलिन र भाग्न सहरमा सजिलो हुन्छ । 

नगरको अस्तित्व प्राचीन समयदेखि नै पाइन्छ तथापि आधुनिक नगरीकरण औद्योगिक क्रान्तिको परिणाम हो । औद्योगिक विकाससँग सहरको विकास र विस्तार जोडिएको छ । औद्योगिक विकासले कुनै स्थान विशेषमा श्रमिकको ठुलो सङ्ख्या माग गर्छ । यातायात र सञ्चारसित जोडिएको सहरको औद्योगिक विकासले पुँजी, वस्तु र सेवामा विश्व बजारसम्म पहुँच पुग्छ । उत्तर भारतमा भएको रेल मार्गको विस्तारले सीमा क्षेत्रमा सहरको विकासमा योगदान पु¥यायो भने पहाडमा सरकारी कार्यालय रहेका सदरमुकाम र पायकका हाटबजार आर्थिक गतिविधि केन्द्रका रूपमा विकास भई कालान्तरमा नगरमा रूपान्तरण भए । वैदेशिक रोजगारीको लोकप्रियतासँगै सहरबजारको घरघडेरीमा लगानी भइरहेको छ ।   

यातायात, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र रोजगारीको सुविधा मानिसलाई सहरतिर आकर्षित गर्ने तìव हुन् । सरकारी निकाय र विकास गरिएका पूर्वाधार र दैनिक उपभोगका खाने लाउने वस्तुका पसलको एकीकृत जमघट भएका नेपाली सहर खेतको खलिहान र हरियाली जङ्गल मासेर त्यसैको जगमा फैलिएका छन् । सहरको केही तल वा पर हिमालबाट आएको कञ्चन पानीको नदी बगिरहेको हुन्छ तर सहर काकाकुल छन् । जमिनमुनिको प्रदूषित पानीमा धेरै जसो सहरबासी निर्भर छन् । अर्कातिर सहरको अव्यवस्थित निर्माणले मनसुनी बर्सात्को जम्मा भएको पानीको निकास अवरुद्ध गर्नाले सहर डुबानमा पर्ने नयाँ समस्या देखा परेको छ । 

ग्रामीण जीवनको तुलनामा महिलाको हैसियत सहरमा अलि उच्च हुन्छ । सहरी महिला अधिक शिक्षित र उदार हुन्छन्, यसमध्येका केही रोजगार हुन्छन् । उनीहरूमा आफ्नो आर्थिक, सामाजिक र राजनीतिक अधिकारको जानकारी हुन्छ । आफूलाई अपमानित र शोषित हुनबाट बच्न अधिकारको प्रयोग गर्छन् । सहरमा युवतीको विवाहको उमेर गाउँको सरदार आयुको तुलनामा बढी हुन्छ, त्यसैले जन्मदर कम हुन्छ । सहरको श्रम बजारमा पनि महिला प्रतिकूल स्थितिमा हुन्छन् । महिला भएको कारण पक्षपात गरिन्छ । महिला कम प्रतिष्ठित र बेतनका व्यवसायमा सीमित हुन्छन् । पतिको जीवन–वृत्तिको अपेक्षा उनीहरूको जीवन–वृत्ति गौण सम्झिन्छ । यसबाट महिलामा कुण्ठा जन्मिन्छ र मानसिक बिमारी हुन सक्छ तर कामै कामले थिचिएका ग्रामीण महिलामा यस्तो समस्या हुँदैन । 

सहरी महिला राजनीतिक रूपले सक्रिय छन्, नयाँ अवसर चाहन्छन् तर पुराना सुरक्षाको माग पनि गर्छन् । स्वतन्त्रता उपभोग गर्न मन पराउँछन् तर पुराना मूल्य पनि कायमै राख्न चाहन्छन् । विवाहपछि उत्पीडन र बेमेल विवाह भएका आधारमा समायोजन असम्भव भएपछि पारपाचुके र पुनः विवाह सहरी जीवनमा सहज भएर गइरहेको छ । ग्रामीण स्त्री आर्थिक र सामाजिक दुवै बेहोराले आज पनि पुरुष निर्भर छन् जबकि सहरी स्त्रीहरू आत्मनिर्भर छन् र स्वतन्त्रताको आनन्द लिइरहेका छन् ।   

सहरमा सामान्यतः एकल परिवार हुन्छ । वंशजको सम्बन्ध दुई वा तीन पुस्तामा सीमित रहन्छ । व्यक्तिवादी भावना हुन्छ । लोग्नेमान्छे प्रधान परिवार समतावादी परिवारद्वारा प्रतिस्थापित भइरहेको छ । छोरा छोरीउपर आफूले भनेको कुरा मान्नै पर्छ भनेर बाबु आमाले निर्णय थोपर्दैनन् न त छोराछोरी बाबु आमाले भनेको कुरालाई आँखा चिम्लेर पालना गर्छन् । युवा र बुढा पुस्ताबिच तनाव हुँदाहुँदै पनि युवा वर्गको परिवारसँगको लगाव बिरलै कमजोर भएको छ । मानिसमा परिवारको आत्मीयता र स्नेहको आवश्यकता दरिलो र सार्वभौम हुन्छ । धेरै मानिस यसबाट वञ्चित हुनुपर्ला भन्ने डरले अपराधबाट टाडै बस्छन् । विचलन अस्वीकार्य छ भनेर देखाउन स्नेह प्रयोग गरिनु पर्छ । परिवारमा बालबालिका र अन्य सदस्यका लागि भान्से, नर्स, नैतिक शिक्षक र तनावको प्रबन्धकमा आमाको भूमिका छ । प्रथा परम्पराको प्रभाव अवश्यमेव कम भएर गइरहेको छ । औपचारिक सामाजिक नियन्त्रण गर्ने कानुनले महत्व पाइरहेको छ ।  

सहर–बजार भनेको अपराध, बाल अपराध र बाल श्रम, मदिरा र लागुऔषध सेवन, ससाना घर घडेरीको विकास, भिडभाड, बेरोजगारी, वेश्यावृत्ति, निर्धनता, प्रदूषण, चर्को आवाज, तस्करी, खानेकुरामा मिसावट, पत्रु खाना जस्ता विशेषताको जमघट हो । पहिला पहिला गाउँमा भोकमरी र अकाल हुने गथ्र्यो । सहरमा कुपोषण । जीवनाधार कृषि व्यवसाय भएको र प्रकृतिको अधिक निकट ग्रामीण जनजीवनमा पनि पत्रु खानाको बिगबिगी भइसकेको छ, कृषि उपज पनि किनेर खाने चलन चलिसकेको छ । ग्रामीण जीवनको तुलनामा नगरमा पैसाको सङ्कलनबिना जीवन चलायमान हुन सक्दैन । आर्थिक मन्दी, मुद्रास्फीति र मूल्य वृद्धि सहरी जीवनका सामान्य आर्थिक चरित्रमध्ये पर्छन् । पैसाले हैसियत, स्वायत्तता, स्वतन्त्रता र सुरक्षा दिन्छ । यसलाई मानिसमा उपलब्ध प्रेरणा सङ्ख्यामा र प्रकारमा वृद्धि गर्न प्रयोग गर्न सकिन्छ । सहरमा प्रत्येक वस्तु पैसाले मात्र उपलब्ध हुन्छ । नगरमा अपराध गर्न प्रोत्साहन गर्ने प्रमुख तत्व पनि पैसा भएकाले अपराधबाट आर्जित सम्पत्ति जफत गरेर र जरिबानाद्वारा नियन्त्रण गर्ने गरिन्छ । 

नगर कुनै खास भौगोलिक क्षेत्रमा विकसित अग्ला र बाक्ला घरको एकीकृत भौतिक स्वरूप वा विभिन्न सङ्घ–संस्थाको जमघट मात्र नभएर एउटा जीवन्त पारिस्थितिक वातावरण पनि हो । त्यसैले नगरमा खास जातीय वा भेगीय समुदाय बस्ने, बसाइँसराइ गरेर आउनेहरू बस्ने, मनोरञ्जन, समान आय र व्यवसाय भएको मानिस बस्ने क्षेत्र हुन्छ । प्रत्येक समुदायबिच सहजीवनको सम्बन्ध हुन्छ । जस्तै, पसलेलाई ग्राहक र ग्राहकलाई पसल, घरधनीलाई डेरावाल र डेरावाललाई घर चाहिन्छ । विभिन्न व्यक्ति, समुदाय, संस्था र व्यवस्था भएको सहरमा स्वार्थको टकराव हुने सम्भावना बढी हुन्छ । 

सहरमा व्यक्तिको हैसियत वंशानुगत नभएर आर्जित हुन्छ, धार्मिक मूल्य धर्मनिरपेक्ष मूल्यले प्रतिस्थापित गर्छ, जाति व्यवस्थामा शिथिलता, लोककथाको स्थानमा विज्ञान र युक्तीकरण, समूहवादको सट्टा व्यक्तिवाद, शिक्षाको विस्तारले अधिकारप्रतिको जागरुकता सहरी चरित्र हुन् । देशको भविष्य जति ग्रामीण क्षेत्रको विकासमा जोडिएको छ त्यति नै नगर र महानगरहरूको विकाससँग पनि जोडिएको हुन्छ । 

  

Author

प्रकाश अधिकारी