विविध पृष्ठभूमि भएका जनसमुदायसम्म उन्नत प्रविधियुक्त माध्यमका सहायताले सङ्गठित संस्थाबाट एकसाथ जानकारीमूलक वा मनोरञ्जनात्मक सन्देश प्रवाह गर्ने क्रियाकलाप आमसञ्चार हो भन्ने विज्ञहरूको साझा बुझाइ छ । सरोकारवाला पक्षले यससँग गाँसिएर देखा पर्ने अनेक प्रश्नको सामना गर्दै जाने क्रम रहन्छ नै । आमसञ्चार मानव समाजमा चालु एक खुला प्रक्रिया हो । यसमा जोसुकैलाई सहभागी हुने वा नहुने स्वतन्त्रता हुन्छ । चलनचल्तीको परिभाषा अनुसार आममानिससम्म पुग्ने सञ्चार प्रविधि वा साधनको प्रयोग, द्वारपालको भूमिका, माध्यम र प्रयोगकर्ताबिच अन्तर्क्रियाको अपर्याप्त अवसर, अवयक्तिक प्रस्तुति, थोरै दक्ष व्यक्तिद्वारा धेरैभन्दा धेरै विविधतायुक्त अपरिचित मानिसलाई सन्देश प्रदान गर्ने जस्ता क्रियाले आमसञ्चारबारे प्रस्ट्याउँछन् ।
पुस्तक, पत्रपत्रिका जस्ता छापा माध्यम, रेडियो, टेलिभिजन जस्ता प्रसारण माध्यम वा मानवीय कथावस्तुलाई आवाज र चित्रलाई चलायमान गराउने प्रविधिको सहायताले साहित्यिक तथा कलात्मक शिल्पको प्रयोगद्वारा श्रव्य दृश्यात्मक ढाँचामा उतार्ने चलचित्र जस्ता माध्यमलाई आमसञ्चारका माध्यमका रूपमा बुझिँदै आइएको छ । अब पछिल्लो डिजिटल प्रविधिका कारण उक्त बुझाइ थप फराकिलो हुने निश्चित छ ।
आममानिसका लागि गरिने सञ्चार भएकाले प्रविधि र तौरतरिकामा आएका तुफानी परिवर्तनले पनि आमसञ्चारको तात्विक अर्थ बदलिने देखिँदैन । इन्टरनेटको व्यापकतासँगै मानिस आफ्नै कोठामा सीमित होलान् कि भन्ने डरबिच पनि नियालेर हेर्ने हो भने प्रयोगकर्तामा थप सामाजिकीकरण गर्ने चाहना बलियो देखिन्छ । स्थानीय विषयको वैश्विकीकरण तथा वैश्विक विषयको स्थानीयकरण आजको यथार्थ बनेको छ । त्यसैले, प्रविधि र माध्यम फरक परे पनि आमसञ्चारको शाश्वत अर्थमा भने तात्विक भिन्नता आउने देखिँदैन ।
आजको विश्वमा सूचना तथा सञ्चार प्रविधिले गुणात्मक फड्को मारेको छ । डिजिटल माध्यमको पहुँच विस्तारबाट नेपाली समाज मात्र अप्रभावित रहिरहन सक्दैन । हामीकहाँ पनि प्रयोगकर्ताको आनीबानीमा पनि फेरबदल आइरहेको छ । सूचनाको उपभोक्ता सूचनाको उत्पादक पनि बनिरहेको छ । त्यस्तै, सूचनाको उत्पादक सूचनाको उपभोक्ता पनि बनिरहेको छ । कन्टेन्ट र प्रस्तुतीकरणमा अनेक समस्या हुँदाहुँदै पनि आज आमसञ्चार क्षेत्रमा व्यापक परिवर्तन आएको तथ्यलाई नस्वीकारी धरै छैन । यस स्थितिमा आमसञ्चारको डिजिटलीयकारण बढ्नु स्वाभाविकै हो ।
सूचनाको खोज, उत्पादन, सम्प्रेषण तथा प्रयोगमा आएको छलाङले सूचना प्रविधिका विज्ञ, कन्टेन्ट सर्जक र प्रयोगकर्ताको जिम्मेवारी बढेर गएको छ । पहुँच विस्तार र जनस्तरमा गुणस्तरीय प्रयोगको समस्या विद्यमान भए पनि नेपाल पनि अब असीमित कनेक्टीविटी र सूचना प्रवाहको युगमा प्रवेश गरिसकेको छ । यस सन्दर्भमा, देखा पर्दै गरेका नयाँ लहर, आमसञ्चार क्षेत्रका रूपान्तरणकरी गतिशीलता र नेपाली समाजले व्यावहारिक अर्थमा बोध गर्नुपर्ने त्यससम्बन्धी निहितार्थबारे विचार गर्नु मनासिव ठहर्छ ।
इन्टरनेट प्रविधिको बजार विस्तारको लहरसँगै डिजिटल क्षेत्रमा आएको क्रान्तिले सूचना उत्पादन र वितरणको प्रक्रियालाई लोकतान्त्रीकरण गरेको छ । हामी कति लोकतान्त्रिक भयौँ वा भएनौँ र लोकतान्त्रिक वातावरणलाई हामीले कुन हदसम्म सदुपयोग ग¥याँै वा गरेनौँ भन्ने छुट्टै विवेचना गरिने विषय छँदै छ । तैपनि, सहज ढङ्गले सूचना उत्पादन र उपभोगमा पहुँच बढ्नुलाई सकारात्मक रूपमा लिनु पर्छ । जनस्तरमा कस्तो सूचना उत्पादन भइरहेको छ र त्यसको कस्तो प्रभाव समाजमा परिरहेको छ भन्ने विषय अध्ययन योग्य हुन्छ । यसबारे साँचो के हो भने डिजिटल फड्कोसँगै निर्माण भएको मिडिया सङ्केन्द्रणको वातावरणमा पाठ्य सामग्री, तस्बिर र श्रव्यदृश्य एकै थलोमा राख्न वा प्रयोग गर्न मिल्ने कारणले यो विषयले आमसञ्चार क्षेत्रमा विशेष महत्व राख्छ ।
इन्टरनेट र डिजिटल प्रविधिको पहुँच विस्तारलाई हल्काफुल्का ढङ्गले लिन मिल्दैन । प्रयोगकर्ता आफैँले सामग्री उत्पादन गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने हुनाले विशेषतः युट्युब, फेसबुक, एक्स (जुलाई २०२३ अगाडिको ट्विटर), इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल शक्तिशाली ठहरिएका छन् । सर्वसाधारण जनताले विविध विषयमाथि हुने बहसमा सहभागी हुनु, समाचारका जनपक्षीय विषय वस्तुलाई प्रकाशमा ल्याइदिनु र आफ्नो अनुभव, धारणा र सुझाव साझेदारी गर्नु भनेको लोकतान्त्रिकरणको महत्वपूर्ण प्रक्रिया नै हो ।
विविध सञ्चार प्रविधिको एकत्रीकरणले एकै उपकरणबाट प्रयोगकर्ताको असीमित प्रकारका राम्रानराम्रा मिडिया कन्टेन्टमा पहुँच विस्तार गरेको छ । यस अर्थमा, वर्तमान डिजिटल युगमा आमसञ्चारको जनस्तरमा के कस्तो प्रभाव पर्दै गइरहेको छ भन्ने विषय वास्तवमै सार्वजनिक महत्वको विषय हो । मिडिया सङ्केन्द्रणलाई सकारात्मक कोणबाट हेर्दा प्रगतिशील रूपले उत्प्रेरित एवं डिजिटल मिडियाको पर्याप्त साक्षरता भएका जनताले मिडिया र अन्तर्वस्तुको विविधताबाट असीमित लाभ उठाउन सक्छन् भन्ने बुझ्न सकिन्छ । उनीहरूले आफ्नो राजनीतिक, आर्थिक एवं सामाजिक सशक्तीकरणका लागि डिजिटल रूपमा आमसञ्चारको मनग्य सदुपयोग गर्न सक्ने ढोका खुला रहन्छ । यसका निम्ति डिजिटल सञ्चार साक्षरता र औसत आलोचाकीय चिन्तनको स्तर निर्माण गर्न सकिएन भने उपभोक्तावादी धारले सामाजिक मनोविज्ञानलाई स्थूलीकरण, सतहीकरण र भ्रष्टीकरण गर्ने खुला बजार त जहिल्यै आँ गरेर बस्ने कुरा त स्पष्टै छ । डिजिटल मिडियामार्फत सूचनाको बाढी आइरहेको छ । प्रयोगकर्तामा आफ्नो लागि तात्विक महत्व र सान्दर्भिकता बोकेका विषयवस्तुको छनोट तथा प्रशोधन गर्ने खुबी आवश्यक पर्छ । त्यसैले, वैश्विक मिडिया सङ्केन्द्रणको यस युगमा पर्याप्त मिडिया साक्षरता र औसत आलोचाकीय चिन्तनको आवश्यकतालाई जोड दिइन्छ ।
नेपालमा पनि मिडिया उपभोगको ढाँचामा परिवर्तन आउनु अनौठो होइन । अनलाइन प्लेटफर्ममा हुने गरेको विशाल सहभागिताबाट यो कुरा प्रस्ट हुन्छ । सामान्यतः प्रयोगकर्ताहरू आजकाल स्मार्ट फोनको पर्दामा चलचित्र हेरिरहेको भेटिन्छन् । मानिस नेट जडान भएको स्थानमा छन् भने सम्भव भएसम्म नेटजडित फोन प्रविधि प्रयोग गर्न चाहन्छन् । रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाले समेट्न नसकेका विषय वा घटनाबारे चासोपूर्वक सामाजिक सञ्जालमा खोजिन्छ । विद्यालयको खुट्किलो पार गरेको पछिल्लो पुस्ताले छापिएको पुस्तक पढ्ने बानीमा उल्लेखनीय कमी आएको देखिन्छ तर डिजिटल ढाँचामा पनि विद्युतीय पुस्तक कत्तिको पढिन्छ भन्ने प्रश्न कायम छ । सकारात्मक प्रकृतिको मानसिक रूपान्तरणबिना जीवनको सकारात्मक रूपान्तरण सम्भव हुँदैन । ‘तिम्रो विचार जस्तो छ, तिमी त्यस्तै बन्छौ’ भन्ने बुद्धको अभिव्यक्तिलाई स्मरण गर्ने हो भने नेपाली समाजले विचारको विकास गर्नेतिर विशेष ध्यान दिनु पर्छ भन्ने अर्थमा पनि बुझ्न सकिन्छ । विचारको विकासका निम्ति अध्ययन गर्ने बानी महत्वपूर्ण हुन्छ । पुस्तक अध्ययनले आफैँभित्र व्यापक चिन्तनको अभ्यास गर्न र मानसिक घटनाक्रमको प्रशोधन गरी ज्ञान उत्पादन गर्न टेवा पु¥याउँछ । पुस्तक पढ्नु मात्र अध्ययन होइन । बजारलाई पढ्नु पर्छ; समाजको अन्तर्यलाई सूक्ष्म परीक्षण गर्न सिक्नु पर्छ । त्यस्तै, प्रकृतिलाई स्पर्श गर्नु पर्छ । जनता नै विश्वविद्यालय हो भनिए झैँ धरातलीय सहभागिताद्वारा जनताको समस्या र धारणा बुझ्ने प्रक्रिया पनि अध्ययन गर्नु नै हो । यस सन्दर्भमा अध्ययताहरूले हासिल गरेको मौलिक ज्ञानलाई डिजिटल युगको आमसञ्चारका डिजिटल प्लेटफर्ममार्फत विस्तार र विकास गर्ने सकारात्मक बाटो उपलब्ध छ ।
डिजिटल युगको आमसञ्चारमा गलत सूचना र मिथ्या सूचना मुख्य चुनौती बनेका छन् । गलत सूचनामा अन्जानमा त्रुटि भएको हुन्छ भने मिथ्या सूचनामा जानीजानी झुटो प्रचार गर्ने नियत लुकेको हुन्छ । जसरी एउटा कलम सदुपयोग मात्रै होइन दुरुपयोग पनि भइरहेको हुन्छ, त्यसरी नै सूचना तथा सञ्चार प्रविधि पनि सदुपयोग मात्रै होइन दुरुपयोग पनि भइरहेको हुन्छ । त्यसैले, दुरुपयोगको सम्भावनाप्रति विशेष सजगता जरुरी छ । नेपाली समाजको नैतिक तथा मानसिक रूपान्तरणको एजेन्डालाई ध्यानमा राखेर सम्पन्न कन्टेन्टको पैरवी गर्नु, समग्र सञ्चार साक्षरता एवं आलोचाकीय चेतको प्रवर्धन गर्नु र डिजिटल मिडियामा सकारात्मक सहभागितासहित गलत तथा मिथ्या सूचनाको न्यूनीकरण र नियन्त्रणमा भूमिका निर्वाह गर्नु सचेत नेपाली नागरिकको कर्तव्य हो ।