• ६ पुस २०८१, शनिबार

कृषिकर्मको अवमूल्यन !

blog

हामी नेपाली अधिकांश कृषिकर्ममा परिचित छौँ । केही ज्ञान यसका विधि–प्रविधिबारे हामी र हाम्रा छोराछोरीलाई पनि थाहा छ । साथै सबैभन्दा छिटो उत्पादन र कमाइ हुने क्षेत्र र कर्म पनि कृषि नै हो । त्यसैले स्नातक तहमा उक्त विषयको अन्तरविषयक एकबर्से प्रयोगात्मक कोर्ष र स्नातकोत्तर तहमा एकबर्से इन्टर्नसिप कोर्ष राखिएको छ । हाम्रा विश्वविद्यालय, स्कुल, सङ्घ संस्था, समुदाय र राज्यको सरकारी खाली रहेको जग्गा तथा व्यक्तिको समेत खाली जग्गा उपयोग हुने गरी शिक्षा र श्रम जोड्न राज्यलाई सहयोग गरौँ भन्ने अभिप्रायले यो अवधारणा अगाडि सारिएको हो । शिक्षाको क्षेत्रको व्यावहारिक उपयोगका लागि शिक्षा क्षेत्रले अगुवाइ गरौँ भन्ने अर्को शैक्षिक उद्देश्यले समेत यो अवधारणा अगाडि सार्न खोजिएको हो । त्यसका लागि कहीँ न कहीँ केही बाध्यकारी वा अनिवार्य विषय राखेमा यसलाई उपयोगमा ल्याउन सजिलो हुन्छ । त्यसैले त्यस्तो जोड्ने अन्तरविषयक विषय कृषि र वन हुन सक्ने छ ।

कमाउँदै पढ्दैको प्रयोगात्मक अवधारणा : कमाउँदै पढ्दै वातावरण सिर्जना गर्न विश्वविद्यालयका सबै सङ्काय र संस्थानमा एकबर्से इन्टरडिस्प्लिनरी कोर्ष अन्तर्गत (२० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक) का कक्षा राखिएको छ । कृषि क्षेत्रमा बढी ध्यान दिएर (कृषिका कम्तीमा सात वटा आइटममा उत्पादन गरेर नमुना प्रस्तुत गर्नै पर्ने) सबैभन्दा छिटो उत्पादन र कमाइ हुने कृषि विषयकको कोर्ष राखेर हाम्रा विश्वविद्यालय, स्कुल र खाली रहेको संस्था, समुदाय तथा व्यक्तिको समेत खाली जग्गा उपयोग हुने गरी राज्यलाई शिक्षा क्षेत्रले अगुवाइ गरेमा कार्यान्वयन सहज हुने थियो ।

युथ रिपोर्ट डिजिटल भर्सन २०१७ का अनुसार खास गरी पढ्ने उमेरका धेरै युवा जो नेपालको जनसङ्ख्याको २८ प्रतिशत (१५–२४) उमेर समूहका छन् । यस्ता कार्यक्रम लागु गरेमा तिनीहरूको शिक्षालाई श्रमसँग जोड्न सकिन्छ । सोको व्यवस्थापनका लागि काम गर्न हामी सबै तयार हुनु पर्छ । नेपालका लागि कृषि तथा वनसँग जोडिएको शैक्षिक तथा अन्य व्यवसाय नै विकासका लागि पहिलो विकल्प हो ।

विभिन्न संस्थाको खाली रहेको जग्गा पनि हाम्रा पढ्दै गरेका जनशक्तिलाई समूह बनाई निश्चित अवधिको अध्ययन कालमा उपयोग गर्ने नीति बनाएमा छोटो अवधिमै हुने बाली लगाउन सकिन्छ । जस्तै : फर्सी, खुर्सानी, लटे, अलैँची, अदुवा, हलेदो, रायोको साग इत्यादि । हामी किसानकै छोराछोरी भएकाले उनीहरूलाई पनि खेतीसम्बन्धी केही न केही जानकारी हुन्छ नै । अरू के के खेती छोटो अवधिमा उत्पादन हुन्छ भन्ने अनुभव पनि छ । बाबुआमा तथा अन्यबाट पनि जानकारी लिन सक्ने भएकाले सो कुरा व्यवहारमा ल्याउन पाए साँझ, बिहानको र अरू खाली समय सदुपयोग हुन्थ्यो । खर्च पुगेन भनी पढ्दै गरेका विद्यार्थी भौँतारिन पर्ने थिएन । इजरायलको घटनाले पङ्क्तिकारलाई निकै पिरोलेको छ । त्यस कारण कमाउँदै पढ्दैको अवधारणा पटक पटक कोट्याउने गरेको स्मरण गरेको हुँ । 

हामी स्कुल पढ्दादेखि कमाउँदै पढ्दै गरेको हो । बिहान तथा बेलुका कृषि तथा पशुपालनमा खटिन्थ्यो । पशुलाई घाँस काटेर खुवाउने, आफ्नै करेसाबारीमा तरकारी फलाउने, खेतबारीमा मकै, धान, गहुँ, जौ, फलाउने, कान्लामा घाँसपात र लहरे बाली बोडी, गहत, झिलिङ्गे (सिल्टुङ), भटमास, मास इत्यादि लगाइन्थ्यो । घरमा चाहिने अन्नबाली र सागसब्जी, गेडागुडी, आलु र दाल आदि घरमै पुग्थ्यो र बढी भएका उत्पादनजन्य उक्त सामग्री बिक्री पनि गरिन्थ्यो । साथै अरू आर्थिक उपार्जनका व्यवसाय पनि सँगै चल्दथे । बाख्राका पाठापाठी, कुखुराका चल्लाचल्ली, भैँसीका पाडापाडी, गाईका बाच्छाबाच्छी गाईभैँसी र तिनको दुध–घ्यु बेचेर र मल खेतबारीमा प्रयोग गरेर अनि बढी भएको बेचबिखन गरेर पनि दुईचार पैसा आउँथ्यो ।

त्यसैबाट आएको पैसाले वराफरी, केटाकेटीको फिस आदि तिरिदिनुपर्ने हुन्थ्यो । अहिले ती काम सबै हराउँदै गए । अनि बाबु आमाले घरबाट पैसा कहाँबाट पठाउने ? घरबाट सो पैसा पठाउन सक्ने परिवेश पनि छैन । त्यसो भएपछि युवा घर छोडेर बाहिर बसेर पढ्ने स्थिति रहेन र रहन्न पनि । बाध्य भएर घर छोडी कमाउने र पढ्ने गर्न देश बाहिर जान पर्ने स्थिति आएको छ । विदेश गएर केही समय पढ्ने र केही समय काम गरेर कमाउने गर्छन् हाम्रा छोराछोरी । त्यस्तो अवसर देशभित्रै दिन हामीलाई केले रोक्यो ? उल्टै आंशिक रूपमा पढेको भए पनि उतैको शिक्षा र शैक्षिक उत्पादन हामी अब्बल पनि ठान्छौँ ! त्यसैले हप्तामा केही दिन पढाइमा दिने र केही दिन काममा लगाउने गरी शिक्षा नीति बनाऔँ र सोही अनुरूपको छिटोछरितो पाठ्यक्रम पनि बनाऔँ ।

यता किसानले मल तथा बिउ आफैँ उत्पादन पनि नगर्ने र राज्यबाट पनि समयमै मलखाद बिउबीजन नपाउने अवस्था छ । हाम्रो पुरानो पाराको घरायासी मल बिउ पनि नहुने, जोतखन गर्न गोरुपाडा पनि नपाल्ने र कृषि कर्मका औजार पनि नभएपछि हामी सबै कामविहीन भयौँ । हाम्रा बालबच्चाले विदेशकै कल्पना गर्न थाले र उतै पलायनको स्थिति आयो होइन र ? त्यसैले देश विकास गर्ने र युवा जनशक्तिलाई यहीँ राख्न सबै सङ्काय र संस्थानमा अनिवार्य विषयकका रूपमा कृषि तथा वनजन्य कर्म/पशुपालन/पन्छी/माछा/मौरी पालनको एकबर्से कोर्षको अन्तरविषयक (इन्टरडिस्प्लनरी) प्रयोगात्मक कोर्ष राख्ने नीति ल्याई कार्यान्वयन गरौँ भन्ने अवधारणा आएको हो । 

एकबर्से कृषि विषयको पठनपाठन र प्रयोगात्मक अभ्यासका लागि चाहिने जनशक्ति अहिलेको मौजुदा जनशक्तिबाटै पूरा गर्न सकिन्छ । त्यहाँ चाहिने गणितीय ज्ञान, रासायनिक बिसादी तथा रसायन सम्बन्धित ज्ञान, भौतिक तथा इन्जिनियरिङ, भाषिक ज्ञान, व्यवस्थापनको ज्ञान, स्वास्थ्य र शारीरिक ज्ञान, सामाजिकीकरण सम्बन्धित ज्ञान, कानुनी ज्ञान, अन्य शैक्षिक ज्ञानको समायोजन गर्न सकिन्छ । कृषि र वन विज्ञानको ज्ञान सम्बन्धित विषयविज्ञबाट हुन्छ भने हाम्रा सनातनी विधि प्रविधिको ज्ञान हाम्रा अग्रज किसान अभिभावकबाट समुदायमा जाँदा पाइने छ । यस्ता विषयले समाज र विकासलाई जोडी देश विकासको क्षेत्रमा जुरुक्क उठ्ने छ । नेपाल र नेपालीको जीवनमा स्तरोन्नति ल्याई समृद्ध नेपाल र समृद्धिबाट सुखी नेपाली बनाउन यस क्षेत्रमा लगानी बढाउनु पर्छ । 

 हाम्रो ग्रामीण परिवेश र हाम्रो अवस्था : कृषिप्रधान देश, खेतबारी बाँझो, विश्वविद्यालयमा कृषि, वन, बागवानीलगायतका प्राविधिकलगायत विभिन्न सैद्धान्तिक विषयका पठनपाठन, प्रयोगात्मक परीक्षा वास्तविक क्षेत्रमा गर्न नसकिएको अवस्था, विद्यार्थी आर्थिक अभावमा पिल्सिएको अवस्था, कमाउँदै पढ्दैका लागि बिदेसिएको अवस्था ।

किन कृषिमा जोड दिने ? 

कम लगानीमा छिटो प्रतिफल दिने व्यवसाय नै कृषि हो । साँझ बिहान र फुर्सदको समयको सदुपयोग गर्न सकिने, खाली तथा बाँझो जमिनको उपयोग गर्न सकिने, नगदे बाली लगाई आय आर्जन गर्न सकिने, कृषि व्यवसायले अन्य व्यवसायलाई प्रवर्धन गर्न सक्ने, सनातनी विधि तथा प्रविधिको उपयोग गर्न सकिने छ ।

कृषिमा अध्ययनरत विद्यार्थीलाई कृषिमा दक्षता बढाउन प्रयोगात्मक क्षेत्रमै बढी उद्दत गराउन सकेमा विश्वविद्यालयको खेर गएको जमिनबाट उत्पादन गरी सोबाट विद्यार्थीलाई र विश्वविद्यालयको आम्दानी बढाउन सकिने छ । घरमा समेत सनातनी विधिप्रविधि र आधुनिक प्रविधि प्रयोग गरी कृषिमा उत्पादन बढाई परिवार, समाज र राष्ट्रको विकासमा फड्को मार्न सकिने छ ।

नमुना खेती योजना : त्रिवि अन्तर्गतका आङ्गिक क्याम्पस जस्तै : विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत विद्यार्थी सङ्ख्याको लगत लिएर यहाँ अध्ययन गर्न आएका विद्यार्थीमध्ये त्रिवि होस्टेल वा बाहिर कोठा लिएर बसेका उही विषय वा फरक फरक विषय अध्ययन गर्ने कृषिमा रुचि भएका र केही सहयोग हुने काम वा अवसर आवश्यक भएका विद्यार्थीको १०/१० जनाको टिम बनाउँ । विश्वविद्यालय क्याम्पस, त्रिवि केन्द्रीय कार्यालय, डिन कार्यालयलगायत कीर्तिपुरमा रहेको विश्वविद्यालयको खाली जमिन उपयोग गरी कम्तीमा पनि तरकारी र छोटो अवधिका बालीबिरुवाको खेती गरौँ । घरबाट केही सहयोग नआउने वा शिक्षण शुल्क पनि जुटाउन नसक्ने विद्यार्थीलाई यसबाट ठुलो राहत हुने छ । 

विभागबाट वा प्रिन्सिपल कार्यालयले यस्तो कमाउँदै पढ्दैको कार्यक्रममार्फत विद्यार्थीलाई सहयोगको नीति अवलम्बन गर्नु विश्वविद्यालय तथा विद्यार्थीको हितमा हुने देखिन्छ । १० जनाको विद्यार्थीको टिमलाई एक–एक रोपनीको दरले उक्त कृषि कर्म गर्न दिने र तिनीहरूको शैक्षिक वर्ष पूरा भएपछि स्वतः सो जमिनमा सो काम गर्न नपाउने र अर्कोलाई अवसर दिने । सम्भव भएमा शिक्षक तथा कर्मचारीलाई पनि सो अवसर उपलब्ध गराउन सके यसले पनि विश्वविद्यालय, शिक्षक तथा कर्मचारीलाई सहयोग पुगी कालान्तरमा राज्यलाई नै फाइदा हुनेछ । यो कार्यक्रम कृषि र वनको डिन कार्यालयको समन्वयमा भएमा निकै प्रभावकारी हुन्थ्यो । अन्य क्याम्पसमा नसके पनि कृषि र वन सञ्चालन भएका क्याम्पसमा अध्ययनरत विद्यार्थीले अनिवार्य १०० पूर्णाङ्क प्रयोगात्मक अभ्यास गरि कृषि वा वनमा आधारित उत्पादन गर्नैपर्ने बनाउनु नितान्त जरुरी छ । 

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीको हालै एक दैनिकमा प्रकाशन भएको एउटा लेख र वेबपेजमा राखिएको उपकुलपतिको त्रिविसम्बन्धी सोचपत्र पढ्दा उक्त क्षेत्रलाई कमाउँदै पढ्दैको अवधारणाका कार्यक्रममा राज्य र शैक्षिक निकायले जोड्न सकेमा राम्रो हुन्थ्यो भन्ने महसुस भएको छ ।

कृषिप्रधान देशका हामी नेपालीलाई कृषि र वनबाट नै यथेष्ठ कमाइ हुने र खान हामीलाई अन्न र सागसब्जी, तरकारी, दुध, माछामासु नै चाहिन्छ । हामी आफैँले खेर फालिरहेको खाली रहेको जमिन अनि हाम्रो शारीरिक श्रमलाई कृषि र वनसँग जोडेर कमाइ गर्न सक्ने भएकाले ‘कृषि र वन हाम्रो धन’ भनिएको मात्र होइन यो यथार्थ पनि हो । जय कृषि र वन त्यही हो हाम्रो असली धन ! 

Author

प्राडा एकारत्न आचार्य