• ११ असोज २०८१, शुक्रबार

चित्रकलाले दिएको श्रेय

blog

विसं २०८० असोज १७ देखि २१ गतेसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्लेन एयर’ कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो । अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, भारत, चीन, बङ्गलादेश, लातभिया, भुटानलगायत १४ वटा देशका विशेषज्ञ चित्रकारको कार्यशालामा सहभागी थिए । कार्यशालामा लिथुवानियाका दुई जना वरिष्ठ चित्रकारको उपस्थिति थियो । कार्यशालामा लिथुवानिया मात्रै होइन विश्वभर दिक्तेलमा भएको ऐतिहासिक चित्रकला कार्यक्रमको विषयले चर्चा पायो । कार्यक्रमको सोच नगरपालिकाको हो सफलताको सम्पूर्ण श्रेय जनप्रतिनिधि, कर्मचारी संयन्त्र, स्थानीय नागरिक र सङ्घ/संस्थाको सक्रियता र गतिविधिलाई दिनु पर्छ । राष्ट्रको चौथो अङ्गको महत्वपूर्ण योगदान थियो । 

हामीले विकास भौतिक पूर्वाधारमा मात्र होइन कला, साहित्य, खेलकुद र सामाजिक विकासमा समेत ध्यान दिनु पर्छ भन्ने हाम्रो मान्यता हो । भव्य र महìवका साथ चित्रकलाको क्षेत्रमा नेपालमा कुनै पनि निकायले यति ठुलो कार्यक्रम गरेको थिएन भन्नुहुन्छ वरिष्ठ चित्रकार विजय थापा । कार्यक्रमले खोटाङको कला संस्कृति र सभ्यतालाई विश्वभर फैलाउन सहयोग गरेको छ । सोही चित्रकला कार्यक्रममार्फत नारिङ्गा नगरपालिकाका नगर प्रमुख दारियस जेसाइटिसले पङ्क्तिकारलाई औपचारिक भ्रमणको निम्तो दिनुभएको छ । 

यसरी भयो युरोप भ्रमण 

लिथुवानियास्थित नारिङ्गा नगरपालिकाका नगरप्रमुख दारियस जसाइटिसले ११ अप्रिल २०२४ मा औपचारिक भ्रमणका लागि मलाई निम्तो दिनुभयो । चित्रकला कार्यक्रमले हाम्रो मन जोडिसकेको रहेछ । पुनः अर्को मेल आउँदा हामीलाई थाहा भयो कि, लिथुवानियाबाट गएका चित्रकारले कार्यक्रममा भएको स्वागत, सांस्कृतिक गतिविधि र नगरले चित्रकलाप्रति गरेको सम्मानबाट प्रभावित भएर आफ्नो देशका नगर प्रमुखसँग नेपालका वरिष्ठ चित्रकार तथा मूर्तिकार धनबहादुर याक्खामार्फत निम्तो गरिएको रहेछ । त्यसपछि ४३ देशका वरिष्ठ चित्रकारको सहभागितामा हुने अन्तर्राष्ट्रिय चित्रकलामा भाग लिन आएको औपचारिक भ्रमणको निम्तो मान्न पङ्क्तिकार त्यसतर्फ गएको थियो । 

भ्रमणको सान्दर्भिकता 

युरोपबाट भ्रमणको निम्तो आएपछि नगरकार्यापालिकाको बैठकमा गम्भीर छलफल भएको थियो । हामीले गत वर्ष गरेको चित्रकला कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा हाम्रो सम्बन्ध जोडिएको कुरा बैठकको निष्कर्ष थियो । नगरपालिकाको खर्च नलाग्ने, सबै खर्च सोही नगरपालिकाले बेहोर्ने भएपछि कार्यक्रममा सरिक हुनुपर्ने निचोड निकालियो । हाम्रो देशको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मन्चमा पुगेर प्रदर्शन गर्ने सुवर्ण अवसरका रूपमा आएको उक्त निम्तोलाई स्वीकार गरेर भ्रमणमा जाने निर्णय बैठकले गरेपछि म युरोप प्रस्थान गरेको हुँ । 

युरोपमा हाम्रो उपस्थिति 

नगरपालिकाको निम्तोमा पङ्क्तिकार र निडा आर्ट एसोसिएसनको निम्तोमा वरिष्ठ चित्रकार तथा मुर्तिकार धनबहादुर याक्खा र विनिता इजम गरी हामी तीन जना नेपालका तर्फबाट उक्त कार्यक्रममा सहभागी हुन पुगेका थियौँ । 

५ सेप्टेम्बर २०२४ मा ४३ देशका वरिष्ठ चित्रकारको सहभागितामा त्यहाँ हुन लागेको अन्तर्राष्ट्रिय चित्रकला पेन्टिङ प्लेन एयर कार्यशालाको उद्घाटन सत्रमा मलाई राखिएको थियो मुख्य वक्ता । मैले नेपालको कला, संस्कृति तथा माझ किराँतमा रहेको मेरो नगरपालिकाको किराँत संस्कृति र सभ्यताका विषय राखेको थिएँ । युरोपको कला संस्कृतिको महìवको बारेमा त्यहाँका मेयर दारियसले आफ्नो कुरा राख्नुभएको थियो । आयोजकको तर्फबाट स्वागत तथा विषय वस्तुको प्रवेश गर्नुभयो वरिष्ठ चित्रकार सउलस क्रोपिसले । हाम्रो देश नेपालमा जस्तो नहुने लम्बेतान भाषण र आसन ग्रहण पनि । उद्घाटन सत्रमा मात्रै तीन जनाको मन्तव्य र थियो सहभागी ४३ देशका वरिष्ठ चित्रकारको परिचयात्मक कार्यक्रमको । 

चित्रकलाको आयोजना किन ?  

त्यहाँका नगरप्रमुख दारियस र आयोजक संस्थाका सउलसलाई मैले सोधेँ किन गर्नुभयो चित्रकलाको आयोजना ? उहाँहरूको एउटै स्वर थियो, “कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो कर्तव्य र दायित्व हो । कुनै देश र समुदायको अस्तित्व समाप्त गर्ने हो भने नष्ट गरिदिए हुन्छ उसको कला र संस्कृति । कला र संस्कृतिविहीन मानिस र देश नाङ्गो हुन्छ । 

हामीले हाम्रो नगर र देशलाई विश्व जगत्को कला र संस्कृतिसँग जोड्न खोजिरहेका छौँ । भौतिक पूर्वाधार विकास मात्रै पूर्ण विकास होइन । यस्तो बुझियो भने मानव जीवनको सबै भन्दा भुल हुने छ ।” उहाँहरूको यस्तो जवाफ सुनेपछि कला र संस्कृतिलाई कति धेरै महìव दिनु पर्छ भन्नेमा म थप उत्साहित भएँ । हामीले पनि सोही अनुसारको महत्व दिन नखोजेको पक्कै हैन तर हामीले अझै बुझ्न सकेका छैनौँ कि, कलाको महत्व कति हुन्छ भनेर । हामीले चित्रकला कार्यक्रम आयोजना गर्दा कतिले भन्नु पनि भयो कि, हामीले बालुवामा पानी हाल्यौँ । हामी ढुक्क छौँ हामीलेले बालुवामा पानी हालेका हैनौँ, मलिलो माटोमा फूल रोपेका हौँ । एक दिन ढकमक्क भएर फुल्ने छ । 

लगातार ३० वर्षदेखि कार्यशाला 

सउलस क्रोपिस लिथुवानियामा चित्रकलाको क्षेत्रमा महानायकको नामबाट परिचित छन् । उनको पूरै परिवार एक से एक पारखी छन् चित्रकलाको । आफू मात्र होइन पूरै परिवार छन् शाकाहारी । कट्टर कृष्ण भक्त हुन् उनी र परिवारका सदस्य पनि । तुलसीको माला लगाउने, जप गर्ने, गीता र भागवतको अध्ययन पनि गर्छन् उनी र सबै परिवार । दर्जनौँ संस्कृतका श्लोक र मन्त्र याद छन् उनलाई । आरति पनि राम्ररी गाउने । चित्रकलामा यहाँका सबैका पूज्य र सर्वमान्य मानिन्छन् सउलस । धनुजीसँगको गहिरो सम्बन्धका कारण नेपाल र नेपालीप्रति धेरै प्रभावित रहेको मैले बुझेँ । सन् १९९४ बाट नारिङ्गा नगरपालिका र निडा आर्ट काउन्सिलले संयुक्त रूपमा अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला सुरु गरेको रहेछ । जसका कारण यो कार्यक्रमलाई त्यहाँ ठुलो फेस्टिबलको रूपमा मानिँदै आएको रहे छ । त्यहाँका मेयर, उपमेयर, पालिकाका सदस्य तथा नगरका पूरै कर्मचारी यो कार्यशालाको काममा व्यस्त रहेको देखियो ।   

नारिङ्गा नगरपालिका र निडा

नगरपालिकाको कार्यालय निडामा पर्छ । निडा लिथुवानियाको चर्चित पर्यटकीय क्षेत्र हो । आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्दो रहेछ त्यो ठाउँमा । बाल्टिक समुद्रको केन्द्रविन्दु भएकाले समुद्री बाटोबाट पानीजहाजमार्फत अन्य देश जाने तथा समुद्र घुम्ने मानिसको बाक्लो उपस्थिति रहेको थियो । समुद्र मात्र होइन प्राकृतिक भू–बनोट र घना जङ्गलभित्र पाइने जङ्गली जनावरको अवलोकन गर्ने गन्तव्य स्थल रहेछ निडा । 

पर्यटकीय क्षेत्र भएकाले हालका त्यहाँका नगर प्रमुख दारियस जसाइटिस पर्यटन प्रवर्धनका लागि विभिन्न उपाय खोजिरहेका हुँदा रहेछन् । पर्यटन प्रवर्धनको मुख्य आधार चित्रकला बनाइएकाले नै होला प्रत्येक होटेल र सार्वजनिक स्थलमा राखिएको पाइन्छ, हातले बनाइएका चित्र । त्यसैले अन्य देशका मानिस टाढा टाढाबाट आउँछन् वरिष्ठ चित्रकारले बनाइएका आकर्षक चित्र अवलोकन गर्न । यसबाट नगरपालिकाको लाखौँ आम्दानी हुने गरेको बताउनु हुन्छ निर्देशक इदिता लुविकेट ।                

निष्कर्ष 

लुथिआनियामा भएको ३० औँ निडा अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा हाम्रो सहभागिताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कला र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नमा महìवपूर्ण सहयोग पुगेको छ । ४३ देशका स्थापित चित्रकार तथा प्रोफेसरहरू बिच चर्चाको विषय बनेको छ हाम्रो नगरपालिका र नेपाल । 

गत वर्ष हामीले गरेको मुन्धुम चित्रकला कार्यशाला तथा प्रदर्शनीको यहाँका सहभागी सबै राष्ट्रका वरिष्ठ चित्रकारले प्रशंसा गरेका थिए । मुन्धुम चित्रकला प्रदर्शनीको उद्घाटन सत्रमा राष्ट्रपति रामचन्द्र पौडेल तथा समापन समारोहमा तत्कालीन  प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थिति प्रति पनि प्रायः सबै विदेशी कलाकारले गहिरो चासो देखाएका थिए । साथै आगामी दिनमा नगरपालिकासँग चित्रकलाको विकासका लागि सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत उनीहरूले गरेका छन् । यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाल सरकारले राष्ट्रिय स्तरमा नै सहभागिता जनाउने र सहभागी कलाकारलाई सम्मान तथा प्रोत्साहित गरे कला क्षेत्र तथा सम्बन्धित कलाकारको महìव बढ्ने छ र चित्रकला प्रतिको सम्मान पनि हुने छ । 

भोलिका दिनमा हाम्रो नगरपालिकाको चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा गहिरो सम्बन्ध हुने छ र चित्रकलाको विकासमा सहयोग पनि । यसबाट हामीलाई हाताहाती सहयोग नहोला । दीर्घकालीन सम्बन्ध र घनिष्ठ मित्रता भएको छ । यो नै हो नगरपालिकाको ठुलो सम्पत्ति ।

Author

तीर्थराज भट्टराई