• ४ मंसिर २०८१, मङ्गलबार

विद्यार्थीको सिकाइ

blog

गुणस्तर शिक्षाको प्रमुख आधार नै विद्यालय शिक्षा हो तर २०८० सालको एसइईको नतिजा हेर्दा यसको अवस्था ज्यादै कमजोर छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका सामान्य नागरिकले पनि आफ्ना बालबालिकाको सिकाइ उपलब्धिमा चिन्ता र गुनासो गरेको सुनिन्छ । २०८० सालकै एसइई परीक्षामा सबभन्दा बढी गणित र त्यसपछि विज्ञान विषयमा विद्यार्थी असफल भए । यी विषयमा ग्रामीण मात्र होइन, सहरी क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पनि असफल भए । सहरी क्षेत्रमा अध्ययन गर्नेहरू गणित, विज्ञान र सामाजिक शिक्षामा र ग्रामीण तथा दुर्गम विद्यालयमा अध्ययन गर्नेहरू अङ्ग्रेजी, गणित र विज्ञान विषयमा असफल हुने धेरै छन् ।

अनिवार्य विषय त विद्यार्थीलाई मन परे पनि नपरे पनि पढ्न बाध्य गरिएको हुन्छ । किनकि विकल्पमा अर्को विषय पढ्न विद्यालयमा कुनै व्यवस्था हुँदैन । त्यही विषय नै विद्यार्थीले जानी नजानी पढ्नु पर्छ तर ऐच्छिक विषयमा त विद्यालयलाई विकल्प छनोट गर्ने अवसर पनि दिइएको हुन्छ । गणित र अर्थशास्त्र जस्ता ऐच्छिक विषय त विद्यार्थीले मन पराएर नै छनोट गरेका हुन्छन् तर पनि विद्यार्थी असफल भएको देखियो । 

विद्यालयले विद्यार्थीको इच्छा र रुचिलाई भन्दा विद्यालयको आफ्नो स्वार्थ र शिक्षक सहज पूर्ति गर्न सकिने विषयलाई ध्यान दिने गरेको सुनिन्छ । यदि उक्त भनाइ सत्य हो भने विद्यार्थीको ऐच्छिक विषयप्रतिको रुचि र क्षमतालाई विद्यालयले कुण्ठित गरिरहेको छ । कतिपय विद्यालयमा विषय शिक्षकको अभाव वर्षौं हुन्छ, जसको परिणाम अत्यधिक विद्यार्थी असफल हुने र नतिजा शून्य हुने अवस्था आउँछ । नेपाल सरकारको सम्बन्धित निकायले खोज र अनुसन्धान गरी विद्यार्थी असफल हुनाका कारण पत्ता लगाउनु पर्छ । गत एसइईमा अत्यधिक विद्यार्थी असफल हुनाका कारण पनि खोजी हुनु पर्छ । 

अविभावकले आफ्ना बालबालिकालाई नर्सरीदेखि कक्षा १० सम्म पु¥याउँदा १३ वर्ष लगानी गरेको हुन्छ तर लगानीको प्रतिफल एसइईमा शून्य हुन पुग्छ । यस अवस्थामा अभिभावक र स्वयम् विद्यार्थीमा पर्न गएको मानसिक र आर्थिक वेदनाको चोट कसले बुझ्ने ? यसमा विद्यालय स्वयम् र तीन वटै तहका सरकारले लगानीको प्रतिफल नआउनुको कारण खोज्नु पर्छ । 

शिक्षा जस्तो विकासको आधारभूत विषयमा राज्यले लगानी गर्दा त्यसबाट प्राप्त हुनुपर्ने प्रतिफलको मूल्याङ्कन गरी राम्रो प्रतिफल दिने विद्यालयलाई पुरस्कृत गर्ने र खराब नतिजा दिने विद्यालयलाई दण्ड गर्नु पर्छ । यसले विद्यालय आफ्नो शिक्षण सिकाइ सुधार गर्न बाध्य हुन्छन् । अनि मात्र तीनै तहका सरकारले शिक्षा क्षेत्रमा गरेकोे लगानी सदुपयोग हुन सक्छ । कतिपय दुर्गम जिल्लाका आधाभन्दा बढी विद्यालयको नतिजा शून्य आउँदा पनि विद्यालयको शिक्षण सिकाइ र मूल्याङ्कन प्रक्रियामा कुनै सुधारका योजना अहिलेसम्म आएको देखिँदैन । 

विद्यालय शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्याङ्कन र परीक्षा प्रणाली एउटै छ तर सामुदायिक र निजी विद्यालयमा अभिभावकको लगानीमा फरक छ । निजी वा संस्थागत विद्यालयमा शिक्षण गर्ने र मूल्याङ्कन गर्ने परिपाटीमा केही फरक देखिन्छ । सामुदायिक विद्यालयमा विद्यार्थीले निःशुल्क अध्ययन गर्ने अवसर पाएका हुन्छन् । शिक्षकहरू सेवा आयोगबाट छनोट भएर आएका तालिमप्राप्त योग्य हुन्छन् । अधिकांश जिल्लामा सुविधायुक्त विद्यालय भवन पनि छन् । कक्षाकोठा पर्याप्त मात्रमा व्यवस्थित गरिएका छन् । विशेष गरी सहरी क्षेत्रका सम्पन्न सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा र पुस्तकालय पनि व्यवस्थित रूपमा सञ्चालनमा आएका छन् । 

कक्षामा शिक्षक र विद्यार्थी पनि नियमित उपस्थित भएका हुन्छन् । कक्षाका विद्यार्थी अनुशासित पनि देखिन्छ । शिक्षक कक्षमा सिकाइ रहेका हुन्छन् । विद्यार्थीले शिक्षकले भनेको कुरा ध्यान दिएर सुनेको अनुमान हुन्छ तर शिक्षकले सिकाएको विषयमा प्रश्न गर्दा न त प्रश्नको उत्तर मौखिक दिन सक्छन्, न त कापीमा उत्तर लेख्न सक्छन् । विद्यार्थीले केही पनि सिकेको देखिँदैन । सामुदायिक विद्यालयको शिक्षण सिकाइमा देखिाएको प्रमुख समस्या नै यही हो । शिक्षकले सिकाएका हुन्छन् तर विद्यार्थीले सिकेको हुँदैन । विद्यार्थी सिक्न नसक्ने हो कि ? शिक्षकले कक्षामा सिक्ने वातावरण नै तयार गर्न नसकेको हो ? यही हो नतिजा खराब आउनुको प्रमुख कारण । हाम्रा शिक्षकहरू आफू मात्र बढी सक्रिय हुने र विद्यार्थीलाई निष्क्रिय भएर कक्षामा सुन्न लगाउने वातावरण कायमै छ । शिक्षण सिकाइमा एकातर्फी व्याख्या भएको हुन्छ । त्यसो नगरेर दुईतर्फी रणनीति अपनाइ छलफल गरेमा केही सुधार अवश्य हुन्छ । 

सिक्ने सिकाउने विषयमा शिक्षक एउटा कुशल सहजकर्ता हुन सके विद्यार्थी बढीभन्दा बढी क्रियाशील हुन्छन् । शिक्षकले कुनै पनि विषय कसरी सिक्ने ? कोसँग सिक्ने ? शिक्षकसँग, साथीसँग, छिमेकी वा अभिभावकसँग के कस्ता विषय कसरी सिक्न सकिन्छ ? भन्ने विषय जानकारी पाउन शिक्षकको नै प्रमुख भूमिका हुन्छ । सहरी क्षेत्रका विद्यालयका तुलनामा ग्रामीण क्षेत्रका विद्यालय वरिपरि प्रशस्त भूमि रहेको हुन्छ । सहरी क्षेत्रका विद्यालयमा खेल मैदान र प्रयोगात्मक कक्षा सञ्चालन गर्न र सामान्य कृषिकार्य गर्न पनि आवश्यक भूमिको अभाव छ तर ग्रामीण क्षेत्रका विद्यालयले आफ्नो विद्यालय वरिपरिको भूमिलाई विद्यार्थीको प्रयोगात्मक कक्षामा प्रयोग गर्न सकेका छैनन् । 

सामुदायिक विद्यालयमा शिक्षण गर्ने लगभग ९८ प्रतिशत शिक्षकले तालिम लिएका छन् तर विद्यार्थी किन असफल हुन्छन् ? हाम्रा शिक्षकले प्राप्त गरेको तालिम पुरानो भयो कि वा कक्षाकोठामा तालिमका कुरा पुग्न सकेनन् कि वा पुगे पनि प्रभावकारी हुन सकेनन् ? यसको खोजी हुनु पर्छ । कक्षा शिक्षणलाई प्रभावकारी बनाउन सर्वप्रथम सबै शिक्षकलाई पुनर्ताजगी कार्यशाला सञ्चालन गर्नु पर्छ । कुन विषय शिक्षण गर्न के कस्तो रणनीति अपनाउनु पर्छ ? कस्ता शैक्षिक सामग्री प्रयोग गर्नु पर्छ ? भन्ने विषयमा शिक्षकलाई पोख्त बनाउनु पर्छ । कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिवा खाजाको व्यवस्था पनि छ । जे जस्तो सुविधा दिए पनि कक्षामा हुने सिकाइमा कुनै परिवर्तन भने आउन अझै सकेको छैन । 

एउटा बालकलाई असल नागरिक बनाउन घरपरिवार र उसको समाजको प्रमुख भूमिका रहेको हुन्छ । बालकले शिशु अवस्थादेखि नै कस्ता शब्द प्रगोग गर्ने र कस्ता शब्द प्रयोग गर्न हुँदैन भन्ने विषयमा घरपरिवार र समाजको प्रमुख भूमिका रहेको हुन्छ । कुनै पनि बालकको पहिलो पाठशाला घर र पहिलो गुरु मातापिता र परिवार हुन् । घरपरिवार र टोलछिमेक समुदायबाट पनि बालकले राम्रा नराम्रा असङ्ख्या अनुभव सँगालेका हुन्छन्, जसको परिणाम उसको भविष्य निर्धारण गर्न समुदाय पनि सहयोगी हुन्छ । जब बालक विद्यालय प्रवेश गर्छ, तब उसको विभिन्न समुदायका बालबालिकासँग सङ्गत हुन्छ । अनि साथीसङ्गीबाट पनि बालकले असङ्ख्य अनुभव पाउँछ ।  

परीक्षामा विद्यार्थीले राम्रो गर्नका लागि कक्षामा नै राम्रो सिकाइ हुनु पर्छ । परीक्षामा राम्रो गर्न शिक्षकले सम्बन्धित विषयको प्रत्येक शीर्षकमा नमुना प्रश्न निर्माण गरी अभ्यास गराउनु पर्छ । विद्यार्थीहरू परीक्षा दिएर हलबाट बाहिर निस्कने क्रममा आफैँमा आत्मसन्तुष्ट नभएको व्यहोरा व्यक्त गरेका हुन्छन् । विद्यार्थीलाई परीक्षा आउनुभन्दा पहिले सम्बन्धित विषय विज्ञहरूबाट परामर्श दिने गर्नु पर्छ । टेक्सोनोमीका आधारमा निर्माण भएका र परीक्षमा प्रयोग हुने गरेका नमुना प्रश्नलाई अभ्यास गराउँदा र विद्यार्थीको बारम्बार मूल्याङ्कन गर्ने गर्दा परीक्षमा राम्रो गर्ने सम्भावना बढी हुन्छ । यसरी बारम्बार परामर्श, परीक्षा र पुनः परीक्षा लिने उत्तरपुस्तिका परीक्षण गरी अङ्कन गर्दा विद्यार्थीमा विश्वसनीयता विकास हुन्छ । उत्तरपुस्तिकामा प्राप्त कमजोरी औँल्याउने गर्दा परीक्षार्थीले गर्ने गल्ती कम हुन्छ । 

विद्यार्थीहरूले पनि परीक्षामा सोधएका प्रश्न सङ्ख्या र प्रत्येक प्रश्नले पाउने समय बाँटफाँट गरी समय व्यवस्थामा बढी ध्यान दिनु पर्छ । परीक्षार्थीले हतार नगरी, परीक्षा केही होइन, परीक्षा आउँछ, जान्छ भन्ने सोच बनाई धैर्य गर्नु पर्छ । प्रश्नपत्र हातमा परेपछि तीन पटकसम्म गहन अध्ययन गर्नु पर्छ । प्रश्नलाई गहन अध्ययन गरी प्रश्नको उत्तर सुरुदेखि अन्त्यसम्मको अंश दिमागमा स्केच गरी लेख्न सुरु गर्नु पर्छ । प्रश्नले मागेका विषवस्तु मात्र क्रम मिलाई उत्तर पुस्तिकामा प्रस्तुत गर्ने बानी बसाल्नु पर्छ । 

कुनै पनि विषयको विषयवस्तु सबै आयो भन्दैमा अनावश्यक विषय उत्तरपुस्तिकामा प्रस्तुत गर्न हुँदैन । आफूले अध्ययन गरेको व्यापक विषय क्षेत्रबाट प्रश्नले मागेका विषयवस्तु मात्र छनोट गरी उत्तर प्रस्तुत गर्नु पर्छ । उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले मन पराउने किसिमका सफा अक्षरका साथै आवश्यता अनुसार अनुच्छेद बदल्नु पर्छ । प्रश्नको उत्तर लेख्दा विषय वा प्रसङ्ग बदलिएको अवस्थामा मात्र अनुच्छेद बदल्नु पर्छ । प्रश्नको उत्तर लेख्नुभन्दा पहिले शब्द चयन र वाक्य निर्माणमा गहन ध्यान दिनु पर्छ । एउटा प्रश्नको उत्तर लेख्ने काम सकेर मात्र अर्को प्रश्नको उत्तर लेख्नु पर्छ । उत्तर पुस्तिकाको बिचबिचमा खाली स्थान छाड्नु राम्रो हुँदैन । प्रश्नमा सचित्र लेख्नु भन्ने भएमा बायाँ पेजमा चित्र कोरी दायाँ पेजमा बयान गर्नु उपयुक्त हुन्छ । 

Author

इन्द्रविलास घिमिरे