• ११ असोज २०८१, शुक्रबार

दरबारमार्गमा गुञ्जियो राष्ट्रिय भावका स्वर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ४ गते । राष्ट्रिय भाव र भावना प्रेरित गीत/सङ्गीतसाथ दरबारमार्गमा नागरिकस्तरमा संविधान दिवस मनाइएको छ । ख्यातिप्राप्त कलाकारले राष्ट्रिय भावका गीत गाइरहँदा हात हातमा झन्डा बोकेर युवा सहभागी भएका थिए । त्यही बेला साँझतिर प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका शाक्यसहित राष्ट्रिय झन्डा लिएर मञ्चमा उभिएपछि साङ्गीतिक माहोल अझ रोमाञ्चक बनेको थियो ।

नागरिकस्तरबाट आयोजित ‘नेसनल डे कन्सर्ट’ हेर्न आएका दर्शक कोही खानाका परिकारतिर भुलेका थिए । कोही आफ्नो अनुहारमा नेपालको झन्डाको ट्याटु बनाउनमा नै मस्त देखिन्थे । कोही कलाकारसँग सेल्फी खिच्नमा मस्त थिए । कोही गीतको तालमा झुलिरहेका थिए । 

कुन्ती मोक्तानले ‘डाली डालीमा हो डाली डालीमा’ बोलको गीत गाउँदा होस् या देविकावन्दना प्रधानले ‘सुन्दर देश नेपाल’ गाउँदा दर्शकले ताली र नाचले उत्तिकै साथ दिएको देखिन्थ्यो । आनन्द कार्कीले ‘न छ स्वाद न छ बोध’ गाउँदा दर्शकले अचाक्ली हुटिङ गरेका थिए ।

कार्यक्रमको सुरुवातमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले देशभक्ति अर्केस्ट्रा प्रस्तुत गरेका थिए । सो प्रस्तुतिले कार्यक्रमको माहोल नै शान्त र गम्भीर बनाएको थियो । वाद्यवादनको धुन दरबारमार्ग, जमल, रत्नपार्कसम्म पनि सुनिएको थियो । ३२ जना कलाकारको ४० मिनेटको सांस्कृतिक नृत्यलाई दर्शकले झनै रुचाएका थिए । नृत्यमा दर्शक आफैँ झुम्न थालेको देखिन्थ्यो । 

कन्सर्टको प्रमुख आकर्षण गायक गायिकाको प्रस्तुति थियो । कुनै पनि कन्सर्टमा दर्शकलाई उफ्री उफ्री नचाउन बाध्य बनाउने काम कलाकारको नै हुन्छ । राष्ट्रिय भाव, भावना र भ्रातृत्वले प्रेरित गीतमा दर्शक कम्मर मर्काएर नाचेका थिए । देविका वन्दना प्रधान, आन्नद कार्की, कुन्ती मोक्तान, सुगम पोखरेल, इमिरेट्स ब्यान्ड, कुटुम्ब ब्यान्ड, अन्तरा ब्यान्डको प्रस्तुतिमा दर्शक निकै नै झुमेका थिए । 

साँझ ढल्कँदै गएपछि दरबारमार्गको चारैतिरको बत्तीले कार्यक्रमको माहोल झन् तताएको थियो । दर्शकको हातमा नेपालको झन्डा ती बत्तीले झनै चम्किला देखिन्थे । बत्तीको चमक, खानाका स्टल र आतसबाजीले कन्सर्टको साख अझ माथि उठाएको थियो । दिउँसो ४ बजेबाट सुरु भएको कन्सर्ट चार घण्टासम्म चलेको थियो । समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त १५१ व्यक्तित्वद्वारा स्वतस्फूर्त रूपमा गठित ‘नेसनल डे काउन्सिल’ द्वारा सो कन्सर्ट आयोजना गरिएको थियो । कन्सर्टमा राष्ट्रिय भावनाले प्रेरित १६ वटा गीत प्रस्तुत गरिएका थिए ।