• २ असोज २०८१, बुधबार

उद्योग नभए रोजगारी सिर्जना असम्भवः मुख्यमन्त्री लामा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ। तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असोज २ गते।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले उद्योगधन्दाको विकास बिना रोजगारीको अवसर सिर्जना असम्भव भएको बताउनुभएको छ।

बागमती प्रदेश उद्योग परिसङ्घको तेस्रो वार्षिक साधारण सभाको बुधबार हेटौँडामा उद्घाटन गर्दै उहाँले रोजगारी सिर्जनाको पहिलो शर्त नै उद्योग कलकारखाना स्थापना र सञ्चालन भएको बताउनुभयो। 

सरकारी जागिरले मात्र रोजगारी सिर्जना सम्भव नभएको भन्दै मुख्यमन्त्री लामाले भन्नुभयो, ‘रोजगारी सिर्जनाको लागि उद्योग कलकारखाना स्थापना र सञ्चालनको विकल्प छैन।’ 

उहाँले सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर उद्योगधन्दा स्थापनाका लागि उचित वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताउँदै उद्योगी व्यवसायीप्रति हामीमा नकारात्मक धारणा बताउँदै उद्योग कलकारखाना खोल्नेलाई दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो।  

प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले नेपाली उद्योगले उत्पादन गरेको वस्तु सरकार र नागरिकले प्रयोग नगर्ने प्रवृत्तिले पनि समस्या आएको बताउँदै उहाँले उद्योग स्थापना र दर्तामा झन्झटिलो प्रक्रिया रहेको उद्योगीलाई प्रोत्साहित गर्न एकद्वार प्रणालीमा जानुपर्नेमा जोड दिनुभयो।  

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गङ्गादत्त नेपालले नीति निर्माणलगायतका कार्यमा उद्योगीसँग सहकार्य गरेर जान सरकार तयार रहेको बताउनुभयो।  

नेपाल उद्योग परिसंघ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनपछि पनि प्रदेश मातहत आउनुपर्ने कतिपय उद्योग नआएको बताउँदै अहिले लगानीमैत्री वातावरण नभएको बताउनुभयो।  

बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष लेखराज पोख्रेलको अध्यक्षतमा भएको सो कार्यक्रममा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेश उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष गुणराज श्रेष्ठ, नेपाल आद्योगिक क्षेत्र उद्योग महासङ्घ पूर्व अध्यक्ष माधव अधिकारीलगायतले उद्योग क्षेत्रका अहिलेका समस्याका बारेमा बोल्नुभएको थियो।