• २ असोज २०८१, बुधबार

एन्फा महिला लिग : पुलिस र चन्द्रपुरको गोलरहित बराबरी

blog

बल खोस्ने प्रयास गर्दै पुलिस र चन्द्रपुरका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, असोज २ गते । विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिस र चन्द्रपुर गोलरहित बराबरीमा रोकिए । 

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै ६ खेलबाट १२ अङ्क बनाएको पुलिस तेस्रो स्थानमा छ । 

चन्द्रपुरले समान खेलबाट सात अङ्क बनाएको छ । अर्को खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० गोलले हरायो ।

कर्णालीको जितमा भूमिका बुढाथोकी, गरिमा राई र वर्षा ओलीले गोल गर्नुभयो । लिगमा कर्णालीको यो पहिलो जित हो । जितसँगै कर्णालीले ६ खेलबाट चार अङ्क बनाएको छ । सुदूरपश्चिम अङ्कबिहीन छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ । 

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।