• २ असोज २०८१, बुधबार

राज्य र जनताबिचको सम्बन्ध सुमधुर हुनुपर्छ : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग अकोरावका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनता र राज्यबिचको सम्बन्ध घनिष्ठ हुनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

महासचिव पोखरेलले जनता र राज्यबिचको सम्बन्ध बिग्रियो भने राज्य कमजोर हुने बताउनुभयो । कमजोर राज्यले जताको संरक्षण र विकास तथा समृद्धिको नेतृत्व गर्न नसक्ने उहाँको भनाइ छ । ‘जबसम्म राज्य बलियो हुँदैन तबसम्म मुलुकको विकास हनु सक्दैन, लोकतन्त्रमा राज्य र जनताबिचको सम्बन्ध घनिष्ठ हुनुपर्दछ’ पोखरेलले भन्नुभयो । 

उहाँले जबसम्म मुलुक बलियो हुन सक्दैन तबसम्म सामुदायिक रेडियोका स्रोत पनि बलियो नहुने बताउनुभयो । मुलुकमा जति समृद्धि, व्यापार, व्यवसाय र उद्यमशीलता बढ्छ त्यति नै सञ्चारमाध्यम पनि फस्टाउने पोखरेलको भनाइ छ । जतिबेला जनता र राज्य जोडिन्छन्, त्यतिबेला विकास, उद्यमशीलता र व्यवसाय बढ्ने उहाँले बताउनुभयो । जनता र राज्यविरुद्ध खाडल खडा गरेर राज्य बलियो नबन्ने कुरामा सञ्चारमाध्यमले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । 

समयको मागलाई बुझेर भविष्यको यात्रा तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमहरू पपुलिजमको सिकार हुनबाट जोगिनु पर्ने उहाँको भनाइ छ । राज्यको समस्या समाधान गर्न पपुलिजम सधैँ बाधक हुने उहाँले स्पष्ट पार्नुभयो । 

जनतालाई अधिकार सम्पन्न बनाउने कुरा गर्दा कर्तव्यलाई पनि सँगै जोड्नु पर्नेमा उहाँको जोड छ । अधिकारसँग कर्तव्यलाई जोड्दा मात्र मुलुकले समृद्धि प्राप्त गर्ने उहाँले बताउनुभयो । नेपाली समाज अहिले अधिकार खोज्ने तर कर्तव्य पालना नगर्ने समस्यामा परेकाले सञ्चार माध्यमले समाजलाई त्यहाँबाट बाहिर निकाल्नु पर्ने उहाँले बताउनुभयो ।  

समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेको महासचिव पोखरेलले बताउनुभयो । अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै बन्दै आएको उहाँले उल्लेख गर्नुभयो । हिजो राज्यविरुद्ध जनतालाई विद्रोही बनाउन आमसञ्चार माध्यमको प्रयोग गरिएको उहाँले बताउनुभयो । राज्य निरङ्कुश भएको बेला सञ्चारमाध्यमले त्यस रूपमा काम गरेको भए पनि आज व्यवस्था परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि फेरिनुपर्ने पोखरेलको धारणा छ । 

युवा पलायन आजको प्रमुख समस्या भएको बताउँदै उहाँले सञ्चार माध्यमले त्यसको कारणबारे विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो । पढेलेखेका युवा कृषिमा जानै नचाहेपछि समाजमा कामको समस्या पैदा भएको उहाँको भनाइ छ । यो तथ्यलाई उजागर गरेर कृषिलाई व्यवसायीकरण र बजारीकरणको विषय प्रवर्धन गर्न सञ्चारमाध्यमले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमले व्यवसायी र किसानलाई उत्प्रेरित गर्नुपर्ने उहाँको सुझाव छ ।