• १ असोज २०८१, मङ्गलबार

सुरुङ मार्गमार्फत पोखरा र नवलपुरको दुरी घटाउने गरी अध्ययन सुरु : मुख्यमन्त्री पाण्डे

blog

बोमलाल गिरी

नवलपुर, असोज १ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ मार्गको निर्माण मार्फत पोखरा र नवलपुरको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताउनुभएको छ। 

मंगलबार नवलपुरको मध्यविन्दु नगरपालिकाको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले हाल पहाडी क्षेत्रमा सडक निर्माण कार्यहरू भइरहेको भए पनि सुरुङ मार्गहरू निर्माण हुन सक्दा प्रदेश राजधानी पोखरा, नवलपुर र देशको प्रमुख राजमार्गसँग दुई घण्टाको दुरीमा जोड्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो। 

उहाँले त्रिवेणी कोरोला सडक खण्डको महत्त्वपूर्ण खण्डको रूपमा रहेको दुम्कीबास त्रिवेणी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।  वन र निकुञ्ज ऐनका कारण सडक निर्माण प्रभावित भएको भन्दै जग्गा प्राप्तिको अधिकार प्रदेश सरकारलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। 

मुख्यमन्त्री पाण्डेले नवलपुरको लोकाहमा औधोगिकग्राम स्थापनाका लागि प्रदेश सरकारले योजना अगाडी बढाएपनि केन्द्र सरकारले जग्गाको अधिकार नदिँदा अपेक्षित काम अगाडी बढ्न नसकेको बताउनुभयो। 

मध्यविन्दु नगरपालिकाको स्थापना दिवस मूल समारोहमा सहभागी हुनु भएका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा नै नमुना कार्य गर्न सफल भएकोमा मध्यविन्दु नगरपालिकालाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।  

गण्डकी प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा लगातार तिन वर्ष छनोट हुने एक मात्रै नगरपालिकाको रूपमा मध्यविन्दु नगरपालिका छनोट भएको छ।  

मध्यविन्दु पहिलो वर्ष वातावरण प्रदूषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम, दोस्रो वर्ष हाम्रो खुसी शैक्षिक सुधार परियोजना र यस वर्ष कृषि तर्फको कार्यक्रमका लागि छनोट हुन सफल भएको छ। 

कार्यक्रममा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जी.सी. श्रेष्ठले मध्यविन्दु नगरपालिकाले नवप्रवर्तन कार्यक्रम मार्फत कृषिको बजारीकरण र आर्गानिक कृषि प्रणालीको काम अगाडी बढाएको खुसी व्यक्त गर्नुभयो।  आफ्नै पालिकामा जैविक मलको उत्पादन सुरु गरेको नगरले अब आर्गानिक खेती प्रणाली तर्फ प्रवेश गर्ने गरी सारेको योजनाका लागि कृषि मन्त्रालयको तर्फबाट समेत आवश्यक सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनुभयो।