• १ असोज २०८१, मङ्गलबार

जैविक विविधता युक्त वातावरणलाई सफा बनाऔँ : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नगर सन्देशको विमोचन गर्नुहुँदै ।

मीना कंडेल

कावासोती, असोज १ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जलवायु परिवर्तनका असरले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै गएको बताउनुभएको छ । जैविक विविधता युक्त वातावरणलाई हामीले सफा राख्न नसक्दा असर परिरहेको बताउनुभयो । मंगलबार नवलपुरको नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको समुद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजनाहरू सफल नहुने बताउँदै जनसहभागिता आवश्यक रहेको बताउनुभयो । गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्द्धन कार्यक्रममार्फत प्रदेश भित्रका स्थानीय सरकारसँग साझेदारीमा नवीनतम कार्य गर्दै आएको बताउनुभयो । यसैअनुरूप चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकारसँग साझेदारी गर्ने गरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनौट भएको उहाँले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाले नगरका अधिकांश वडाहरूलाई समेट्दै गाउँ, सहर बजार तथा बाटाघाटा, पार्क, खोला नदीमा छरपस्ट रहेका फोहर सङ्कलन गरी त्यसको वर्गीकरण सहित करिब २ वर्षदेखि सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादनको प्रयास थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । सरसफाइ प्रवर्द्धन केन्द्र, विद्यालय जाने बालबालिकामा नैतिक मूल्य मान्यता युक्त व्यवहार परिवर्तनका लागि खुसी पाठ्यक्रम र हालै कृषि क्षेत्रको विकासमा मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी कार्यक्रम मध्य विन्दुलाई पर्नु नगरवासीका लागि खुसीको कुरा भएको बताउनुभयो । 

नगर अध्यक्ष अधिकारले जैविक मल उत्पादन तथा सरसफाइ केन्द्रमा हालसम्म करिब ४ करोड ५० लाख रुपियाँ खर्च भएको र यसलाई यसको उद्देश्य अनुरूप विकास गर्दै लैजान नगरपालिकाले यस वर्ष थप २ करोड रकम विनियोजन गरेको बताउनुभयो ।

यसैबिच गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मध्यविन्दु नगरपालिकाबाट प्रकाशन गर्न लागिएको नगर सन्देशको विमोचन समेत गर्नुभएको छ । नगरमा भए गरेका गतिविधि आम नागरिकले प्रत्यक्ष पढ्न पाउने गरी नगर सन्देश साप्ताहिकमा समावेश गरिने नगरपालिकाले जनाएको छ । 

स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र सहयोगले नगर सन्देशमा टेवा पुग्ने विश्वास लिइएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताले मध्यविन्दु नगरपालिकाले सुरुवात गरेको खुसी पाठ्यक्रमबाट अन्य पालिकाले पनि सिक्नुपर्नेमा जोड दिएका थिए ।