• १ असोज २०८१, मङ्गलबार

अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

blog

तस्बिर : रासस

न्युयोर्क, असोज १ गते । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।

गए राती सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले जितेको थियो । नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आई टेक्सासमै बसोवास गर्ने खेलाडी सजनी टिममा समावेश छन् । प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर (रु. १६ लाख नौ हजार) जितेका छन् । उनीहरूलाई आयोजक संस्था ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले सो पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ । नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमण्टले १० तोला सुनको गोल्डकप र नौ हजार डलर (रु. १२ लाख ६ हजार) जितेको थियो ।

यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर (रु. १० लाख ७२ हजार) र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर (रु. आठ लाख चार हजार) पुरस्कार प्राप्त गरेको छ । खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने हुन्छ । पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमण्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन् । अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन् ।

पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुत बनाएको बताउनुभयो । उहाँले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुत बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताउनुभयो ।

पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएकामा आयोजक संस्थाको सराहना गर्नुभयो ।

खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङका अनुसार इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए । प्रतियोगितामा पुरुषतर्फ तेस्रो हुन सफल सानफ्रान्सिस्को टिमले पाँच हजार डलर (रु. छ लाख ७० हजार) र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले तीन हजार डलर (रु. चार लाख दुई हजार) प्राप्त गरेका छन् । रासस