• १ असोज २०८१, मङ्गलबार

हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धित विधेयक प्रस्तुत हुन्छ : मन्त्री पाण्डे

blog

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे नेपाल पर्वतारोहण सङ्घको ३४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै। तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, असोज १ गते । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताउनुभएको छ ।

मङ्गलबार नेपाल पर्वतारोहण सङ्घको ३४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डे हाल संसद् अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशन अगावै ऐनहरूलाई मूर्तरूप दिने काम हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, “हिजो मात्रै संसद्को अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन, संस्कृति, हवाई उड्डयनलगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेका छौँ । संसद्को हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रूप दिनेछौँ ।”

मन्त्री पाण्डेले नेपाल पर्वतारोहणसम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आह्वान गर्नुभएको छ । उहाँले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा बोल्नुहुँदै मन्त्री पाण्डेले मुलुकको स्थायित्वका लागि दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपरेको उद्घोष गर्नुभयो ।

मन्त्री पाण्डे भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिनु सहजता पक्कै पनि होइन । यो स्वाभाविक पनि छैन । तर स्थिर सरकार चलाउनका लागि एक ठाउँमा उभिएका हौँ ।”

यो सरकार ०८४ सम्मै चल्छ । उहाँले मुलुकको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षीमा रहेका दल नेकपा (माओवादी केन्द्र), राप्रपालगायत मधेशवादी दलहरूसँग समेत सहकार्य गर्न सकिनेमा जोड दिनुभयो ।