• १ असोज २०८१, मङ्गलबार

पढ्दै कमाउँदै सामुदायिक विद्यालयका विद्यार्थी

blog

कपाल काट्दै विद्यार्थी । तस्बिर :गुणबहादुर रोका

गुणबहादुर रोका     
सुलीकोट, असोज १ गते ।
 गोरखामा रहेको सामुदायिक विद्यालयका विद्यार्थीहरू पढ्दै कमाउँदै गर्न थालेका छन् । जिल्लाको पालुङटार नगरपालिका–९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरू आफ्नो सीपको प्रयोग गरी भदौ १ गतेदेखि हरेक शुक्रबार र शनिबार कपाल काटेर कमाउन थालेका हुन् ।

विमला बिनिस्मा पन्त फाउण्डेशनको फ्राईडे फियुचर (शुक्रबार भविष्यका लागि) कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आफ्नो सीपको प्रयोग गर्दै कपाल काट्न थालेका त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराज सेंडाईले जानकारी दिनुभयो । 

फाउण्डेशनले आर्थिक अवस्था कमजोर साथै व्यावहारिक ज्ञान सिक्न इच्छुक भएका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयका विद्यार्थीहरूलाई एक लाख रुपियाँ रकम उपलब्ध गराएको थियो ।

उक्त एक लाख रुपियाँले कपाल काट्ने टष्ट्र घर तथा आवश्यक उपकरण खरिद गरिएको त्रिवेणी माध्यमिक विद्यालय सेराका प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिनुभयो । उहाँका अनुसार सबै संरचना तयार भएपछि विद्यालयले एउटा मापदण्ड तयारी पारी निवेदन खुलाएर माग गर्दा कक्षा १२ का विवेक सेडाई पहिलो चरणमा छनोट हुनु भएको उहाँले बताउनुभयो ।

कपाल काट्न छनोट हुनु भएका विवेक सेडाईसँगै अन्य १० जनाले तालिम लिएता पनि चार जनाले मात्र कपाल काट्न इच्छा जाहेर गरेका छन् । चार जना विद्यार्थीले विद्यालयको टष्ट्रमा रहेर विद्यालयको बनाएको नियममा रही एक जनाको कपाल काटेको मूल्य ६० रुपियाँ तोकिएको छ भने त्यसमा १० रुपियाँ मर्मत सम्भार कोषमा रहन्छ । साथै १० रुपियाँ विद्यालयको कोषमा जम्मा गरिन्छ भने बाँकी रकम कपाल काट्ने विद्यार्थीलाई रहने विद्यालयले जनाएको छ ।

विद्यालयमा कपाल काट्न विद्यार्थी, विद्यार्थीको अभिभावक र शिक्षक लगायतले कपाल काट्ने गरेका छन्, प्रधानाध्यापक सेडाईले भन्नुभयो, “कपाल काट्न गोरखा सदरमुकाम तथा खैरेनी गएर १५० तिर्नुभन्दा विद्यालयमा राम्रो सस्तो कपाल काट्ने भएकाले अन्य अभिभावकहरू दिन प्रतिदिन बढ्दै गएको छ ।”

विद्यार्थीहरूलाई किताबी ज्ञानले मात्र नभई व्यावहारिक ज्ञान पनि आवश्यक पर्ने भएकाले विद्यालयले व्यावहारिक, जिविकाउपयोगि खालका प्राविधिक ज्ञान सीप आवश्यक भएकाले फाउण्डेशनसँग सहकार्य गरिएको प्रधानाध्यापक सेडाईले बताउनुभयो ।

उहाँका अनुसार आज सिकेका सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जनमा गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । सैद्धान्तिक शिक्षाभन्दा पनि व्यावहारिक ज्ञानले आम्दानी लगायत वैदेशिक रोजगारमा जाँदा पनि आफ्नो सीप अनुसार काम पाउने भएकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन थालिएको हो । विद्यालय समयभन्दा पछाडि शुक्रबार र शनिबार हरेक दिन विद्यालयमा चार जना विद्यार्थीले कपाल काट्ने गरेका प्रधानाध्यापक सेडाईले बताउनुभयो ।