• १ असोज २०८१, मङ्गलबार

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको छ: उपप्रधानमन्त्री सिंह

blog

धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसका अवसरमा सहभागी हुन उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह धनगढीमा । तस्बिर : उपप्रधानमन्त्री सिंहको सचिवालय

काठमाडौँ, असोज १ गते । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताउनुभएको छ ।

उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताउनुभयो ।

‘‘जनचाहनाअनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’’ धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसका अवसरमा मङ्गलबार भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । साथै उहाँले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उल्लेख गर्नुभयो ।

‘‘व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भाष्य बनाउन खोजिँदैछ, तर त्यस्तो होइन,’’ उहाँले भन्नुभयो, ‘‘२०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौँ न, परिवर्तन त भएका छन् नि ।’’

उहाँले सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा अहिले राम्रो हुँदै गएको पनि बताउनुभएको छ ।

‘‘हामी आफैँले परिवर्तन महसुस गरेका छौँ भने त्यो अवस्थामा परिवर्तन भएको हो नि,’’ उहाँले भन्नुभयो ।

सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले सङ्घीय संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर अहिलेको सरकार बनाइएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।