• १ असोज २०८१, मङ्गलबार

दैलेखमा पेट्रोलियम अन्वेषण : ड्रिलिङको काम ५५ प्रतिशत सकियो

blog

भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ गरिँदै । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, असोज १ गते । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ । चार महिनाभित्र ड्रिलिङको काम सक्नेगरी गत जेठदेखि काम सुरु गरिएको भए पनि कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जानकारी दिएको छ । 

खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म २२ सय मिटर ड्रिलिङ भइसकेको जानकारी दिनुभयो । उहाँले चार महिनाभित्र काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएकोमा जमिनमुनि कडा कट्टानका कारण मङ्सिर मसान्तसम्म ड्रिलिङको काम सक्ने अनुमान गरिएको बताउनुभयो । अहिले विज्ञहरूले २/२ मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेका छन् । 

२७ सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययन हुनेछ,’ उहाँले भन्नुभयो, पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केतहरू सफलतापूर्वक प्राप्त भइरहेको छ ।

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।  हाल चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ । दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेन । 

पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागी रिग हावस निर्माण गरी ड्रिलिङ काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ भूगर्भविद् लुइँटेले  खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडी बढ्नेछन् । 

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्हरूले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।