• १ असोज २०८१, मङ्गलबार

विषादी न्यूनीकरणका लागि सचेतनात्मक नाटक

blog

कृषि ज्ञान केन्द्र नवलपुरका प्राविधिक कर्मचारी नाटक प्रस्तुत गर्दै । तस्बिर : मीना कँडेल

मीना कँडेल

कावासोती, असोज १ गते । पछिल्लो समय उत्पादकत्वमा वृद्धि गर्नका लागि तरकारी तथा फलफूलमा विषादीको प्रयोग बढी हुने गरेको छ । तरकारी खेतीमा हालिएको विषादीका कारण विभिन्न दीर्घकालीन रोग लागेको प्रारम्भिक अनुमान छ । 

लामो समयसम्म विषादीको संसर्गमा आएपछि प्रजनन क्षमतामा ह्रास आउने, विभिन्न किसिमका क्यान्सर (रक्तक्यान्सर, मस्तिष्क, मिर्गौला, पित्तथैली, फोक्सो र छालासम्बन्धी क्यान्सर) हुने सम्भावना बढ्ने अध्ययनले देखाएको छ ।  

किसानले प्रयोग गरेका विषादी, प्रयोग गर्ने विधि, प्रयोग गर्दा अपनाइएको असावधानी र त्यसबाट पर्ने असरलाई न्यूनीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र नवलपुरले विषादी समुचित प्रयोगसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । नवलपुरमा तरकारी तथा फलफूलमा अत्यधिक विषादीको प्रयोग भएको भन्ने गुनासो उपभोक्ताबाट आएपछि सचेतना नाटक गरेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । 

हुप्सेकोट गाउँपालिका १ मा अवस्थित सामुदायिक वनमा सचेतना सम्बन्धी नाटक देखाइएको छ । नाटकका काल्पनिक पात्रहरुले विषादी राख्दा ध्यान नपुर्‍य ाउँदा क्यान्सर जस्तो भयानक रोग लाग्न सक्ने भनी सन्देशमूलक प्रस्तुति देखाएका थिए ।

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले नवलपुरका किसानले पनि विषादी प्रयोगमा कमी गनुपर्ने बताउनुभयो । अधिकांश किसानले उत्पादन बढाउन विषादी प्रयोग गरिने हुनाले मानिसलाई लाग्ने रोगमध्ये ७० प्रतिशत विषादीकै कारण हुने गरेको तिवारीले बताउनुभयो । 

व्यवसायिक तरकारी तथा फलफूल खेती गर्दा विषादीको प्रयोगमा कमी होस भन्ने उद्देश्यले नाटकमार्फत सचेत गराइएको उहाँले बताउनुभयो । मानिसलाई बोलीले मात्र भन्दा व्यावहारिक रुपमा देखाउँदा छिटो बुझाउन सकिने उहाँको भनाइ थियो । सबैभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले कृषकसँग छलफल गरेर गत वर्षदेखि नै विषादी कम गर्न भनेको बताउनुभयो । बढी उत्पादन गर्न कृषकले रासायनिक मल र विषादीको व्यापक र असुरक्षित प्रयोग नगरी विषादीको समुचित प्रयोगतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । विषादी प्रयोगलाई व्यवस्थापन गर्न संघीय ऐन पनि निर्माण प्रक्रियामा छ भने प्रदेश र केही स्थानीय तहका सरकारहरु पनि आवश्यक नीति, निर्देशिका एवं योजना तर्जुमा अभ्यासमा जुटिरहेका उहाँले बताउनुभयो ।