• १ असोज २०८१, मङ्गलबार

एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ

blog

सेवाबाट बिदा लिएका महिला स्वास्थ्य स्वयंसेविका। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, असोज १ गते ।
कैलालीको कैलारी गाउँपालिकाले सेवाबाट अवकाश लिएका स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगद पुरस्कारसहित बिदाइ गरेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा अवकाश लिएका स्वास्थ्यकर्मीलाई एक लाख नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरेको हो । सेवाबाट अवकाशपछि एक लाख रुपियाँ पाउनेमा कैलारी–५ की सुशीलादेवी चौधरी, उजलीसेमरकी भोजलदेवी चौधरी, बनकट्टाकी लहियादेवी थारु, भुइयाँफाँटाकी कल्टीदेवी चौधरी, खरुवाखेराकी लहियादेवी थारु, नारायणपुरकी सोनियाँदेवी थारु र वडा नम्बर ३ की दुरपति चौधरी रहनुभएको छ ।

अवकाश लिएका स्वास्थ्य स्वयंसेविकाले तीन दशकसम्म निःस्वार्थ रुपमा गाउँघरमा सेवा गरेका छन् । गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले स्वयम् सेविकाहरुलाई एक लाख नगद र सम्मानसहित बिदाइ गर्नुभयो । स्वास्थ्य स्वयंसेविकाले बिना तलब गाउँ समाजमा काम गरेका कारण खाली हात बिदाइ गर्नुभन्दा गाउँपालिकाले नीतिगत निर्णय गरेर एक लाख रुपियाँ दिने निर्णय गरेको बताउनुभयो । कैलारी गाउँपालिकाभरि हाल १२५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।