• १ असोज २०८१, मङ्गलबार

महिनावारी हुँदा मन्दिरको बाटो जाँदैनन् विद्यार्थी

blog

नन्ददेवी माविका विद्यार्थी । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, असोज १ गते । कालीकोटका विद्यालयका छात्राहरू अझै पनि महिनावारी हुँदा विद्यालय जान डराउने गरेका छन् । विद्यालय जाने बाटोमा देवताका मन्दिर (थानहरू) भएकाले छात्राहरू डराएर महिनावारी भएका बेला विद्यालय सकभर जान मान्दैनन् । 

देवीदेवताको डरकै कारणले छात्राहरू महिनावारीको पाँच दिनसम्म विद्यालय जाँदैनन् । जनजीवन माध्यमिक विद्यालय ताडी जानका लागि बाटोमा धवलपुरा देवताको मन्दिर छ । छात्रा महिनावारी हुँदा उक्त बाटोमा आउजाउ नै गर्दैनन् । विद्यालयमा पढ्ने प्रायः विद्यार्थी सदरमुकाम मान्म बजारबाटै जाने गर्छन् । छात्राहरू महिनावारी हुँदा उक्त बाटो भन्दा पूर्वतिरको लामो बाटो प्रयोग गरेर विद्यालय जाने गरेका छन् । 

खाँडाचक्र नगरपालिका–३, ताडीका रोशन पाण्डेले महिनावारीका बेला छात्राहरू विद्यालय नै नआउने र आए पनि लामो बाटो भएर आउने गरेको बताउनुभयो । देवताको मन्दिर (थान) सँगै पाण्डेको घर छ । आफूहरू पनि राति बाहिर शौच गर्न आउँदा मन्दिरलाई हामीले नदेख्ने गरी शौच गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । देवताको धर्म मान्ने भएकाले अहिले पनि उस्तै प्रभाव रहेको उहाँको भनाइ छ । 

सोही विद्यालय कक्षा ९ मा पढ्ने छात्रा स्मृति शाहीले आफूहरू महिनावारी भएका बेला प्रायः विद्यालय नजाने गरेको सुनाउनुभयो । बाटोमै देउताका धेरै थान छन् । केही भइहाल्छ कि भन्ने डर लाग्ने गरेकाले महिनावारी अवधिभर घरमै बस्ने गरेको जानकारी उहाँले दिनुभयो । 

परीक्षा चलेका बेला भने अर्को लामो बाटो भएर विद्यालय जाने गरेको उहाँको भनाइ छ । सामान्य स्वास्थ्य समस्या हुँदा, ज्वरो आउँदा पनि महिनावारी भएका बेला विद्यालय जाँदा देवताको दृष्टि (जल्को) परेको होला भन्ने मान्यताले गर्दा छात्रालाई डर लाग्ने र सोही कारण विद्यालय नजाने उहाँले बताउनुभयो । 

रास्कोट नगरपालिका–२, सिपखनाको मोतीराम माध्यमिक विद्यालय आउने विद्यार्थी पनि बर्सातको समयमा लेकाली क्षेत्र कोटेकाँडा, राताखाल, सिचु, सिम्सेराबाट आउने गर्छन् । त्यस क्षेत्रबाट आउने विद्यार्थीको सजिलो बाटो भनेको बिरुबस्ना कालाशिल्लाको मन्दिर (थान) भएको बाटो हो तर छात्रा महिनावारी हुँदा पाँच दिनसम्म विद्यालय आउँदैनन् भने कोही लामो बाटो हिँडेर आउने गरेका छन् । सो विद्यालयमा अध्ययनरत छात्रा इलिजा सिम्खडाले देवताकै डरका कारणले महिनावारीका बेला विद्यालय छुट्ने गरेको सुनाउनुभयो । 

खाँडाचक्र नगरपालिका–११, रेगिलका केही विद्यार्थी कर्णाली नदी तरेर सान्नीत्रिवेणी गाउँपालिका–१ मा रहेको शङ्कर माध्यमिक विद्यालयमा जाने गर्छन् । रेगिलबाट पुल तरेर अलि उकालो हिँड्दा शङ्कर माध्यमिक विद्यालय पुगिन्छ । त्यहाँ जाँदा देवताको मन्दिर पर्दैन तर कर्णाली नदीको पुल तर्नु पर्छ । समाजमा महिनावारी भएकाले बेला नदी तर्नुहुन्न भन्ने मान्यता छ । त्यही पुरानो मान्यताकै कारणले महिनावारी भएका बेला छात्रा विद्यालय जाँदैनन् । रेगिलका सूर्यबहादुर शाहीले पुरानो मान्यता समाजमा अझै पनि कायमै रहेको बताउनुभयो । 

छात्रा महिनावारीका बेला पुल तरेर विद्यालय जान नहुने सोचले पनि जरो गाडेको छ । महिनावारी भएको खण्डमा थाननजिक पुग्ने छात्रा बेहोस हुने, चिडचिडाउने, रुने, कराउने जस्ता व्यवहार हुने गरेको सर्वसाधारण बताउँछन् । महिनावारी शारीरिक प्रक्रिया हो भन्ने गरिए पनि देवताको डरले मान्नु परेको महिला तथा किशोरीको भनाइ छ ।