• १ असोज २०८१, मङ्गलबार

प्रधान न्यायाधीशमा राउत सिफारिस

blog

प्रकाशमानसिंह राउत

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १ गते ।  सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो । 

न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा बढी अनुभव भएका आठ जनाको नाम परिषद्मा पठाएको थियो । सोमध्येबाट राउतको नाम सिफारिस भएको प्रतिनिधि सभाका उपसभामुख एवं परिषद् सदस्य इन्दिरा रानाले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ता रहनुभएका राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएको थियो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ २० गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिने छ । संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुने छ । न्यायपरिषद्ले राउतका अतिरिक्त सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको नाम पठाएको थियो । सर्वोच्चको वरिष्ठतम न्यायाधीशका रूपमा उहाँको नाम प्रधान न्यायाधीशमा सिफारिस भएको हो ।