• १ वैशाख २०८२, सोमबार

किन हौसिए ‘राजावादी’

blog

लोकतन्त्र प्राप्तिपछिका सत्ता सञ्चालनका  व्रmममा देखिएका विकृति खोजी खोजी प्रचारप्रसार गर्न चाहनेहरूका लागि मात्रै राजनीतिका नाममा स्वार्थी चलखेल गर्ने अवसर मिलेको छ तर यो प्रवृत्तिलाई लोकतन्त्रवादीले दुरुत्साहन गर्न सकेनन् भने सुमधुर भविष्य कायम रहन मुस्किल पर्छ ।

आजभोलिको राजनीतिक मौसम राजावादीका व्रिmयाकलापले तातिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादी भनिएकाहरूले चिसो दाउरामा आगो बालेर भात पकाउने तरखर गर्दै छन् । त्यही चिसो चुलोबाट निस्केको धुवाँले राजनीतिक मैदान तातेको छ । दुई÷चार हजार सडकमा निस्केका भए पनि वा पाँच÷सात हजारले सत्ता उल्टाउने प्रयत्न गरेका भए पनि लोकतन्त्रवादीका व्रिmयाकलापमाथि गणतान्त्रिक संविधान पचाउन नसकेकाहरूले प्रश्न उठाएका छन् । आगोको झिल्को पहिले सानै हुन्छ, बेलैमा निभाए निभ्छ तर नजरअन्दाज गरेमा त्यही झिल्को पछि डढेलोका रूपमा परिणत हुन सक्छ भन्नेमा सत्ता सचेत हुनै पर्छ ।

लोकतन्त्रप्रति प्रतिबद्ध कतिपय नेता राजावादीको आन्दोलन केही दिन उफ्रिन्छ र आफैँ सेलाउँछ भन्दै छन् । कतिपय गणतन्त्रवादीको धारणा राजावादीको गैरसंवैधानिक माग ठेगान लगाउन सहजै सकिने खालको छ । आन्दोलन भनेको संविधानभित्र रहेर पनि हुन सक्छ र संविधानलाई नाघेर पनि हुन्छ भन्ने लोकतन्त्र पक्षधरले राम्रैसँग बुझेकै हुनु पर्छ । संविधानभित्रै रहेर मात्रै आन्दोलन हुने भएको भए न पञ्चायती व्यवस्थालाई अन्त्य गर्न सकिन्थ्यो न त मुलुक गणतन्त्रमा नै प्रवेश गथ्र्यो । आन्दोलन जायज मागका लागि हो वा गलतका लागि भन्नेमा सहमति या विमति हुन सक्ने भए पनि जनतामा रहेका अधिकार एक व्यक्तिका पोल्टामा सुम्पने उद्देश्य राखेर गरिएको यो आन्दोलन सर्वथा गलत छ भन्नेमा मतैक्य नै हुन्छ । यद्यपि राजावादी किन यसरी हौसिएका छन् र यो असामयिक, असान्दर्भिक र अव्यावहारिक आन्दोलनमा किन मान्छेहरू सहभागी भइरहेका छन् भन्नेमा सत्ता र लोकतन्त्रवादी सचेत हुन जरुरी छ ।

मान्छेले बजारमा जे बिक्छ, त्यही बेच्ने गर्छ । झन् व्यापारीले त सद्दे होस् वा कुहिएको, जसरी भए पनि आफ्नो सामान लुकाएर, छलेर, ढाँटेर जसरी पनि बेचेरै छाड्छ । टाठोबाठो व्यापारीले त अर्काको पसलको सक्कली सामानलाई नक्कली र आफ्नो पसलको नक्कलीलाई सक्कली बनाएर बेच्छ । बजारमा सत्यलाई सत्य र असत्यलाई असत्य भन्नेहरू निकै कम सङ्ख्यामा पाइन्छन् । धरोधर्म भन्दै किरिया नखाने व्यापारी पनि सायदै कसैले भेटेको होला । बासी खानालाई ताजा मानेर खानुपर्ने आमग्राहकको बाध्यता नै बनेको छ । राजनीतिका केही खेलाडी निरङ्कुश राजतन्त्रका माध्यमबाट नेपाल र नेपालीको समृद्धि हुन्छ भन्ने प्रचार गर्न व्यस्त रहेका छन् ।

सरकारको गति जति र जस्तो हुनुपर्ने हो, त्यो हुन नसकेको सत्तारूढ दलकै नेताले बताइरहेका छन् । राजनीतिक दलले जनताप्रतिको उत्तरदायित्वलाई उचित तबरले सम्बोधन गर्न नसकिरहेको स्वीकार गरिरहेका छन् । निजामती प्रशासनको चुस्तता, दक्षता र निष्पक्षतामाथि बारम्बार प्रश्न उठिरहेको छ । सरकारी संस्था तथा संस्थानमा रहेको अस्तव्यस्तता हट्न सकेको पाइँदैन । यस्तै सन्दर्भ र प्रकरणले जनतामा निराशा उत्पन्न गरिरहेका बेलामा त्यसैलाई आन्दोलनका लागि इन्धनका रूपमा प्रयोग गर्ने मौका प्रतिगमनकारीले पाएका हुन् । 

राजनीति व्यापार होइन तर पछिल्लो समय व्यापार जस्तै बन्दै गएको छ । राजनीति पेसा होइन तर अर्थोपार्जनका लागि सबैभन्दा सरल र मर्यादित पेसा राजनीति बन्दै गएको छ । यसलाई उचित तबरले लोकतान्त्रिक सरकारहरूले नियमन गर्न सकिरहेका छैनन् । यही मौका छोपेर केही राजावादीले जनताका असन्तुष्टिलाई राजनीतिक नारा बनाएर आफू स्थापित हुने प्रयत्न गरेका छन् । लोकतन्त्रवादीले राजनीतिमा बढ्दै गएको व्यापारीकरणलाई नियन्त्रणमा राख्न नसकेको अवस्थालाई प्रदर्शन गरेर मुलुकका लागि हितकर हुन नसकेको राजतन्त्र फर्काउने प्रयत्नमा राष्ट्रिय प्रजातन्त्र पार्टी उत्रिएको छ । जनताका बिचमा लोकप्रियता बढाई निर्वाचनमार्फत सत्तामा पुग्ने सम्भावना नदेखेकाले राजा फर्काउन सके उनको स्वस्तिगानबाट सत्तामा पुग्न सहज हुने देखेका छन् । यसैलाई लक्ष्य साँधेर आन्दोलन हाँकेकाहरूले राजतन्त्रको स्वाद नचाखेका सोझासादा जनतालाई गुमराहमा राख्ने प्रयत्न गरिरहेका छन् ।

घरका केटाकेटीलाई अभिभावकले पेटभरि खान दिनै पर्छ । गर्मीमा एकसरो लुगा र जाडोमा आङ ढाक्ने बाक्लो कपडा दिनु मातापिताको कर्तव्य हो । विभिन्न बाध्यतावश कतिपय अभिभावकले सन्ततिका न्यूनतम आवश्यकता पूरा गर्न सकिरहेका हुँदैनन् । त्यस्ताका सन्ततिमध्ये कतिपयले मागेर जुगाड गर्छन् भने कतिपयले घरबाट विद्रोह गरी अन्यत्रैबाट आफ्ना आवश्यकता पूरा गरिरहेका हुन्छन् । सन्तुष्टि प्रदान गर्न सक्नु अभिभावकको कर्तव्य हो । साथै मातापिताको बाध्यता बुझ्नु पनि सन्ततिको कर्तव्य हो । सबै अभिभावक बालबच्चाको आवश्यकता बुझ्ने र सबै बालबच्चा मातापिताको मर्म बुझ्ने हुँदैनन् । यिनै अन्योलबिचको फाइदा राप्रपा र राजावादीले उठाइरहेका छन् । 

विद्रोह जायज अधिकारका लागि हुनु पर्छ । आन्दोलन अन्यायका विरुद्धमा लक्षित हुन आवश्यक हुन्छ । आमनागरिकलाई अधिकार सम्पन्न बनाई देश जनताको हो भन्ने भावना विकसित गर्न आयोजना गरिएका आन्दोलन ढिलोचाँडो सफल हुन्छन् । न्याय स्थापना गर्न आयोजित विद्रोह सत्ताले दमन गर्न खोज्दाखोज्दै पनि सफलताको सिँढी चढ्दै जान्छन् । नेपालमा भने नागरिकमा रहेका अधिकार वंश परम्परामा आधारित निरङ्कुश शासन सञ्चालन गर्न निरन्तर उद्यत रहेका राजाहरूमा बुझाउने उद्देश्य राखी चलाइएका आन्दोलनमा पनि केही मान्छे देखिनु नै विडम्बना बनेको छ । यसको कारण पत्ता लगाएर सत्तामा बसेकाले निकास दिनु नै अहिलेको आवश्यकता बनेको छ ।

लोकतन्त्रवादीले सत्ता सञ्चालन गर्न थालेदेखि निकै ठुला समस्या देखिएका छैनन् । जनतालाई नाङ्गेझार बनाएर सत्तासीन आफू मात्रै मोटाउने लक्ष्य पनि लोकतन्त्रको होइन र त्यस्तो पनि देखिएको छैन । सही र सत्य अध्ययन गरी निष्कर्षमा पुग्नेहरूका निमित्त लोकतन्त्र मुलुकका लागि उपयुक्त मात्रै होइन कि सर्वाधिक उचित व्यवस्था नै बनेको छ । लोकतन्त्र प्राप्तिपछिका सत्ता सञ्चालनका व्रmममा देखिएका विकृति खोजी खोजी प्रचारप्रसार गर्न चाहनेहरूका लागि मात्रै राजनीतिका नाममा स्वार्थी चलखेल गर्ने अवसर मिलेको छ तर यो प्रवृत्तिलाई लोकतन्त्रवादीले दुरुत्साहन गर्न सकेनन् भने सुमधुर भविष्य कायम रहन मुस्किल पर्छ ।

राजावादीले अहिले बेचेका नारा भनेका लाइसेन्स लिँदा बस्न परेको लाइन हो । पासपोर्ट लिन तीन दिन लाइन लाग्नुपर्ने र हात पार्न महिना दिन कुर्नुपर्ने कुरो हो । मालपोत कार्यालय जस्ता कार्यालयमा अवैध दस्तुर बुझाउनुपर्ने अवस्थालाई उपयोग गर्ने प्रयास गरिएको हो । भ्रष्ट भनेर चिनिएका केही अनुहार सत्तारूढ दलका केन्द्रमा शक्तिशाली स्वरूपमा उपस्थित भएको देखिनुलाई राजावादीले मुलुकमा अराजकता फैलाउनका लागि मसलाका रूपमा प्रयोग गरिरहेका छन् । सन्तुष्टि प्राप्त हुन नसकेका क्षेत्र आज राजावादीका निमित्त फस्टाउने मलका रूपमा रहेका छन् ।

प्रधानमन्त्रीले एक पटक काठमाडौँदेखि मुग्लिङसम्मको यात्रा बसमा गर्ने हो भने जनता किन असन्तुष्ट भए भन्ने जानकारी मिल्छ । मुखमा माक्स लगाएर राजमार्गमा चल्ने माइव्रmोबसमा टिकट काटेर आफ्नो परिचय लुकाई प्रधानमन्त्री हिँड्ने हो भने जनतामा असन्तुष्टि बढ्नुको कारण सहजै थाहा पाइन्छ । चार वर्षमा पूरा गर्ने गरी दिइएको ठेक्का समयमा २० प्रतिशत पनि किन सकिएन भनेर निगरानी गर्ने हो भने र त्यसको सही उपचार गर्ने पद्धति बसाल्न सकेको भए राजावादीले जति उक्साए पनि जनता उक्सिने थिएनन् ।

अहिलेकै गतिमा काम हुने हो भने नौबिसे मुग्लिङ खण्ड निर्माण सम्पन्न हुन अझै १० वर्ष जति लाग्ने जानकारहरू बताउँछन् । एउटै ठेकेदारलाई जिम्मा दिँदा यस्तो हुन्छ भने १०÷१० किलोमिटरका दरले १० जना ठेकेदारलाई जिम्मा दिने हो भने छ महिनामै सय किलोमिटर बाटो बन्छ । यो त एउटा उदाहरण र उपाय मात्रै हो । यस्ता अनेकौँ उपाय निकाल्न सकिन्छ तर पनि जनताले दुःख पाएको सरकारले देखेन या देख्न सकेन भने अराजकता उत्पन्न गर्न प्रयास गर्ने शक्ति जुर्मुराउने व्रmम अगाडि बढिरहन्छ । १०÷१० वर्ष जनताले दुःख पाए भने लोकतन्त्रका विरुद्ध जनमत तयार गर्न यही एउटै राजमार्ग पर्याप्त हुन्छ ।

ठुला दलले राजनीतिक स्थिरतालाई मात्रै प्राथमिकता दिएको देखिन्छ । राजनीतिक स्थिरता प्रमुख हो भन्नेमा कुनै विवाद छैन तर यसले मात्रै पुग्दैन । राज्यका सबै अवयव गतिशील हुनु पर्छ र संस्थाहरूमा अनावश्यक चलखेल हुनु हुँदैन । मन्त्रालयहरूमा सचिव एक वर्ष नटिक्ने, प्रमुख जिल्ला अधिकारी महिनैपिच्छे फेरिने, विश्वविद्यालयका पदाधिकारी स्वतन्त्र नहुने, शिक्षालय आन्दोलन र तालाबन्दीका कारण तहसनहस भइरहने जस्ता बेथिति विद्यमान छन् र यसमा ठुला दलकै भूमिका अग्रणी छ । यस्ता बेथिति अन्त्यका लागि दलहरू संवेदनशील हुन सकेनन् भने लोकतन्त्रका विरोधीले टाउको उठाउने मौका पाइरहने छन् । 

आमसर्वसाधारणलाई सत्तामा को छ त्यति मतलब हुँदैन । कुन पार्टीले आन्दोलन गर्दै छ र कुन पार्टी सही छ भन्नेमा पनि वास्ता नगर्नेको सङ्ख्या अत्यधिक छ । राजतन्त्र हुँदा पनि हलो नजोती छाक नटरेका र लोकतन्त्र आएपछि पनि दिनको १८ घण्टा निरन्तर मजदुरी गरेर परिवार पाल्दै आएकालाई राजनीतिक व्यापारको मोलमोलाइसँग कुनै साइनो हुँदैन । आफूले कमाएको पैसा खर्च गरेर प्राप्त हुने सुविधा पर्याप्त भए नभएकोमा भने सबैले गम्भीरतापूर्वक ध्यान दिएका हुन्छन् । त्यसैले जनताका समस्या र आवश्यकतामा केन्द्रित हुँदै लोकतन्त्रलाई दिगो बनाई बेतुकका माग राखेर आन्दोलनमा उत्रिएकालाई थन्क्याउन सक्नु नै लोकतन्त्रवादी सरकारको कर्तव्य हो ।

Author

प्राडा शान्तिकृष्ण अधिकारी